यरूशलेमलाई चेताउनी
11
अनि आत्माले मलाई माथि उठाउनुभयो, र मलाई परमप्रभुको भवनको पूर्वपट्टिको मूलढोकामा ल्याउनुभयो, जुनचाहिँ पूर्वतिर फर्केको थियो; अनि हेर, त्यस मूलढोकाको प्रवेशद्वारमा पच्‍चीसजना मानिसहरू थिए; अनि तिनीहरूको बीचमा मैले अज्जूरका छोरा याजन्याह र बनायाहका छोरा पलत्याहलाई देखें, जो यस प्रजाका शासकहरू थिए। 2 तब उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, यिनीहरू ती मानिस हुन्, जसले यस शहरमा दुष्‍ट युक्ति रच्दैछन् र दुष्‍ट सल्‍लाह दिँदैछन्; 3 जसले भन्छन्, ‘त्यो दिन नजिक छैन; आओ, हामी घर बनाऔं! यो शहर कराही हो, र हामीचाहिँ मासु हौं।’ 4 यसकारण तिनीहरूको विरोधमा भविष्यवाणी गर! हे मानिसको छोरा, भविष्यवाणी गर!” 5 तब परमप्रभुको आत्मा ममाथि ओर्लनुभयो, र मलाई भन्‍नुभयो: “बोल! परमप्रभु यसो भन्‍नुहुन्‍छ, हे इस्राएलको घराना, तिमीहरूले यसो भनेका छौ; किनकि तिमीहरूको मनमा उठेका कुराहरू – तीमध्ये हरेक म जान्दछु। 6 यस शहरभित्र तिमीहरूले आफ्ना मारिएकाहरूको संख्या बढ़ाएका छौ, र यसका शड़कहरू तिमीहरूले मारिएकाहरूले भरिदिएका छौ। 7 यसकारण प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: तिमीहरूका मारिएकाहरू, जसलाई तिमीहरूले यसको बीचमा राखेका छौ, तिनीहरूचाहिँ मासु हुन्, र यो शहरचाहिँ कराही हो; तर म तिमीहरूलाई यसको बीचबाट निकाल्नेछु। 8 तिमीहरू तरवारदेखि डराएका छौ; अनि तिमीहरूमाथि म तरवार नै ल्याउनेछु, प्रभु यहोवा भन्‍नुहुन्‍छ। 9 अनि म तिमीहरूलाई यसको बीचबाट निकाल्नेछु, र तिमीहरूलाई परदेशीहरूको हातमा सुम्पिदिनेछु, अनि तिमीहरूको विरोधमा न्यायहरूको काम गर्नेछु। 10 तिमीहरू तरवारले ढल्नेछौ; इस्राएलको सिमानाभित्र म तिमीहरूलाई न्याय गर्नेछु; अनि तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछौ। 11 यो शहर तिमीहरूको कराही बन्‍नेछैन, न ता तिमीहरूचाहिँ यसको बीचमा मासु बन्‍नेछौ; तर इस्राएलको सिमानाभित्र म तिमीहरूको न्याय गर्नेछु; 12 अनि तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछौ; किनकि तिमीहरू मेरा विधिहरूमा हिँड़ेका छैनौ, न ता तिमीहरूले मेरा नियमहरू पूरा गरेका छौ, तर तिमीहरूको चारैतिर भएका जातिहरूका नियमहरूअनुसार गरेका छौ।” 13 अनि यस्तो भयो: जब मैले भविष्यवाणी गरें, तब बनायाहका छोरा पलत्याह मरे। तब म भुइँमा आफ्नो अनुहार टेकाएर घोप्‍टो परें; अनि चर्को सोरले कराएर मैले भनें: “अहह, प्रभु यहोवा! के तपाईंले इस्राएलका बाँकी रहेकाहरूलाई पूर्ण रूपले नाश पार्नुहुन्छ?”
इस्राएललाई फर्काइल्याउने परमप्रभुको प्रतिज्ञा
14 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 15 “हे मानिसको छोरा, तिम्रा दाजुभाइहरू, अँ, तिम्रै भाइहरू, तिम्रा नातेदारहरू र इस्राएलको सारा घराना जम्मै – यिनीहरू ती हुन्, जसलाई यरूशलेमका बासिन्दाहरूले भनेका छन्, ‘परमप्रभुबाट टाढ़ा होओ; यो देश हामीलाई अधिकारको भागको रूपमा दिइएको हो।’ 16 यसकारण भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, मैले तिनीहरूलाई अन्यजातिहरूको बीचमा टाढ़ा-टाढ़ासम्म हटाए तापनि र देश-देशको बीचमा तितरबितर पारिदिए तापनि ती देशहरूमा, जहाँ तिनीहरू पुगेका छन्, त्यहाँ म तिनीहरूका निम्ति एउटा सानो पवित्रस्थान बन्‍नेछु। 17 यसकारण भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, म तिमीहरूलाई ती जातिहरूबाट भेला गर्नेछु, र तिमीहरूलाई ती देशहरूबाट जम्मा गर्नेछु, जसको बीचमा तिमीहरू तितरबितर भएका छौ, अनि म तिमीहरूलाई इस्राएल देश दिनेछु। 18 अनि तिनीहरू यहाँ आउनेछन्, र यसबाट तिनीहरूले यसका सबै घिनलाग्दा वस्तुहरू र यसका सबै घृणित कामहरू हटाइदिनेछन्। 19 अनि म तिनीहरूलाई एउटै हृदय दिनेछु, र तिमीहरूभित्र एउटा नयाँ आत्मा हालिदिनेछु; अनि म तिनीहरूको मासुबाट ढुङ्गाको हृदय निकाल्नेछु र तिनीहरूलाई एउटा मासुको हृदय दिनेछु; 20 यस हेतुले कि तिनीहरू मेरा विधिहरूमा हिँडून्, र मेरा नियमहरू मानून्, र ती पालन गरून्; अनि तिनीहरू मेरो प्रजा हुनेछन्, र म तिनीहरूको परमेश्‍वर हुनेछु। 21 तर जसको हृदय आफ्ना घिनलाग्दा वस्तुहरू र आफ्ना घृणित कामहरूको हृदयको पछि लाग्छ, तिनीहरूको चालको बदला म तिनीहरूकै टाउकोहरूमाथि हालिदिनेछु, प्रभु यहोवा भन्‍नुहुन्‍छ।”
22 तब ती करूबहरूले आफ्ना पखेटाहरू उठाए, अनि ती चक्‍काहरू तिनीहरूनिर थिए; अनि इस्राएलका परमेश्‍वरको महिमा मास्तिर तिनीहरूमाथि थियो। 23 अनि परमप्रभुको महिमा शहरको बीचबाट उठेर गयो र शहरको पूर्वपट्टि भएको पहाड़माथि खड़ा भयो। 24 त्यसपछि आत्माले मलाई माथि उठाउनुभयो, र परमेश्‍वरको आत्माद्वारा मलाई दर्शनमा कल्दीहरूको देशमा कैदमा लगिएकाहरूकहाँ ल्याउनुभयो। तब जुन दर्शन मैले देखेको थिएँ, त्यो दर्शन मबाट उठेर गयो। 25 तब परमप्रभुले मलाई जे-जे देखाउनुभएको थियो, ती उहाँका सबै कुराहरू मैले कैदमा लगिएकाहरूलाई बताइदिएँ।