परमप्रभुको महिमा यरूशलेममा भएको मन्दिरलाई छोड़ेर जान्छ
10
तब मैले हेरें; अनि हेर, करूबहरूको शिरमाथि भएको आकाशमा तिनीहरूमाथि नीरमणिजस्तो केही देखा पर्‍यो, जसको रूप सिंहासनको जस्तो आकृति थियो। 2 अनि उहाँ मलमलको वस्त्र पहिरेका मानिससित बोल्नुभयो, र भन्‍नुभयो: “चक्‍काहरूको बीचमा अर्थात् करूबमुनि भित्र पस, करूबहरूको बीचबाट आगोका भुङ्ग्राहरूले आफ्ना हातहरू भर र तिनलाई यस शहरमाथि छरिदेऊ!” अनि मेरै आँखाहरूको सामु तिनी भित्र पसे। 3 अनि ती मानिस भित्र पसेको बेलामा ती करूबहरू भवनको दाहिनेपट्टि उभिरहेका थिए; अनि भित्री चोक बादलले भरियो। 4 तब परमप्रभुको महिमा ती करूबबाट उचालिएर भवनको सँघारमाथि अड़ियो; अनि भवन बादलले भरियो, अनि त्यो चोकचाहिँ परमप्रभुको महिमाको चमकले भरपूर भयो। 5 अनि ती करूबहरूका पखेटाहरूको आवाज बाहिरी चोकसम्‍म पनि सुनिन्थ्यो, सर्वशक्तिमान् परमेश्‍वरको आवाजजस्तो; उहाँ बोल्नुहुँदा जस्तो सुनिन्छ, त्यो आवाज त्यस्तै थियो। 6 अनि यस्तो भयो: जब ‘चक्‍काहरूको बीचबाट, ती करूबहरूको बीचबाट आगो लेऊ’ भन्दै उहाँले मलमल पहिरेका मानिसलाई आज्ञा गर्नुभयो, तब तिनी भित्र पसे र चक्‍काहरूको छेउमा उभिए। 7 अनि एउटा करूबले ती करूबहरूको बीचबाट आफ्नो हात त्यस आगोतिर बढ़ाए, जुन आगो ती करूबहरूको बीचमा थियो, र त्यसबाट केही आगो लिए, अनि मलमलको वस्त्र पहिरेका मानिसका हातहरूमा राखिदिए, जसले त्यो लिए, र बाहिर गए। 8 अनि ती करूबहरूको बीचमा तिनीहरूका पखेटाहरूमुनि मानिसको हातजस्तो आकार देखा पर्‍यो। 9 अनि जब मैले हेरें, तब हेर, ती करूबहरूको छेउमा चार चक्‍काहरू रहेछन्; एउटा करूबको छेउमा एउटा चक्‍का, र अर्को करूबको छेउमा अर्को चक्‍का; अनि ती चक्‍काहरूको रूपचाहिँ फिरोजा मणिको जस्तो रङ्गको थियो। 10 अनि तिनीहरूका रूपचाहिँ – एउटा चक्‍का अर्को चक्‍काभित्र भएझैं गरी ती चारैवटा चक्‍का एउटै आकारका थिए। 11 हिँड़्‍दाखेरि तिनीहरू आफ्ना चारै दिशातर्फ हिँड़्थे; हिँड़्‍दा तिनीहरू मोड़िँदैनथे, तर शिरले जतातिर हेर्थ्यो, त्यतैतिर तिनीहरू पछि लाग्थे; हिँड़्‍दा तिनीहरू मोड़िँदैनथे। 12 अनि तिनीहरूको सारा शरीर, तिनीहरूको पिठ्यूँ, तिनीहरूका हातहरू, तिनीहरूका पखेटाहरू र ती चक्‍काहरू, अँ, ती चारैजनाका चक्‍काहरू पनि चारैतिर आँखैआँखाले भरिएका थिए। 13 ती चक्‍काहरूचाहिँ – मैले सुन्‍ने गरी तिनलाई कराएर भनियो: “हे चक्‍का!” 14 अनि हरेकका चार अनुहार थिए: पहिलो अनुहार करूबको अनुहार थियो, दोस्रो अनुहार मानिसको अनुहार थियो, तेस्रोचाहिँ सिंहको अनुहार थियो, अनि चौथोचाहिँ चीलको अनुहार थियो। 15 अनि ती करूबहरू माथि उठाइए। यो त्यही जीवित प्राणी थियो, जसलाई मैले कबार नदीको किनारमा देखेको थिएँ। 16 अनि ती करूबहरू हिँड़्‍दाहुँदि तिनीहरूकै छेउमा ती चक्‍काहरू पनि चल्थे; अनि जब ती करूबहरूले पृथ्वीबाट माथि उचालिन आफ्ना पखेटाहरू उठाउँथे, तब ती चक्‍काहरू पनि तिनीहरूको छेउबाट हट्दैनथे। 17 जब तिनीहरू खड़ा हुन्थे, तब ती पनि खड़ा हुन्थे; अनि जब तिनीहरू माथि उचालिन्थे, तब ती पनि तिनीहरूको साथमा माथि उचालिन्थे; किनभने जीवित प्राणीको आत्मा तिनमा थियो।
18 तब परमप्रभुको महिमा भवनको सँघारबाट निस्केर गयो, र ती करूबहरूमाथि खड़ा भयो। 19 अनि मैले हेर्दा-हेर्दै ती करूबहरूले आफ्ना पखेटाहरू उठाए, र तिनीहरू पृथ्वीबाट माथि उठाइए; जब तिनीहरू निस्केर गए, तब ती चक्‍काहरू पनि तिनीहरूनिर थिए; अनि यो परमप्रभुको भवनको पूर्वपट्टिको मूलढोकाको प्रवेशद्वारमा खड़ा भयो; अनि इस्राएलका परमेश्‍वरको महिमा मास्तिर तिनीहरूमाथि थियो। 20 यो त्यही जीवित प्राणी हो, जसलाई मैले इस्राएलका परमेश्‍वरमुनि कबार नदीको किनारमा देखेको थिएँ; अनि तिनीहरू करूबहरू हुन् भनी मैले थाहा गरें। 21 हरेकका चार अनुहारहरू र हरेकका चार पखेटाहरू थिए; अनि तिनीहरूका पखेटाहरूमुनि मानिसका हातहरूजस्तो आकार थियो। 22 अनि तिनीहरूका अनुहारहरूको रूपचाहिँ मैले कबार नदीको किनारमा देखेका अनुहारहरू नै थियो; तिनीहरू हरेक सीधा अघिल्तिर हिँड़्थे।