यरूशलेममाथिको न्याय पवित्रस्थानबाट शुरु हुनेछ
9
अनि उहाँ यसो भन्दै मेरा कानमा चर्को सोरले कराउनुभयो: “यस शहरका अधिकारीहरूलाई, हरेकलाई आ-आफ्नो हातमा आ-आफ्नो नाश गर्ने हतियार लिएर नजिक आउन लगाओ!” 2 अनि हेर, उत्तरतिर फर्केको माथिल्‍लो मूलढोकाको बाटोबाट भएर छजना मानिसहरू आए, अनि उनीहरू हरेकसँग आ-आफ्नो हातमा आ-आफ्नो काटमारको हतियार थियो; अनि उनीहरूमध्ये एकजना मानिसले मलमलको वस्त्र पहिरेका थिए, र तिनको कम्मरमा लेखकको मसीदानी थियो; अनि उनीहरू भित्र गए, र पित्तलको वेदीको छेउमा उभिए।
3 अनि इस्राएलका परमेश्‍वरको महिमा ती करूबमाथिबाट, जसमाथि त्यो रहेको थियो, उचालिएर भवनको सँघारमा आयो। अनि उहाँले मलमलको वस्त्र पहिरेको मानिसलाई बोलाउनुभयो, जसको कम्मरमा लेखकको मसीदानी थियो। 4 अनि परमप्रभुले तिनलाई भन्‍नुभयो: “शहरको बीचबाट, अँ, यरूशलेमको बीचबाट भएर जाऊ; अनि त्यसको बीचमा गरिएका सबै घृणित कामहरूको कारणले जुन-जुन मानिसले सुस्केरा हाल्छन् र ऐया-आत्था गर्छन्, ती मानिसहरूका निधारहरूमा चिनो लगाऊ!” 5 अनि मैले सुन्‍ने गरी उहाँले अरूलाई भन्‍नुभयो: “शहरभित्रबाट भएर उसको पछि-पछि जाओ, र मार; तिमीहरूको आँखाले नछोड़ोस्, न टिठाओ! 6 वृद्ध र जवान, अनि कन्याहरू, बालबच्‍चाहरू र स्त्रीहरूलाई बिलकुलै मारिदेओ; तर त्यो चिनो भएको कुनै पनि मानिसको नजिक नजाओ; अनि मेरो पवित्रस्थानबाट शुरु गर!” तब उनीहरूले भवनको सामु भएका बूढ़ा प्रधानहरूबाट शुरु गरे। 7 अनि उहाँले उनीहरूलाई भन्‍नुभयो: “भवनलाई अशुद्ध पार, र चोकहरू मारिएकाहरूले भरिदेओ; निस्केर गइहाल!” अनि उनीहरू निस्केर गए, अनि उनीहरूले शहरभित्र मारे। 8 अनि यस्तो भयो: जब उनीहरूले तिनीहरूलाई मारिरहेका थिए, र मचाहिँ छोड़िएँ; तब म भुइँमा आफ्नो अनुहार टेकाएर घोप्‍टो परें, र चिच्च्याएर भनें: “अहह, प्रभु यहोवा! यरूशलेममाथि आफ्नो क्रोध खन्याउनुहुँदा के तपाईंले इस्राएलका सबै बाँकी रहेकाहरूलाई नाश गर्नुहुन्छ?” 9 तब उहाँले मलाई भन्‍नुभयो: “इस्राएल र यहूदाको घरानाको अधर्म ज्यादै ठूलो छ; अनि देश रगतले भरिएको छ, र शहर अन्यायले भरिएको छ; किनकि तिनीहरू भन्छन्: ‘परमप्रभुले पृथ्वीलाई त्याग्‍नुभएको छ; अनि परमप्रभुले देख्‍नुहुन्‍न’। 10 अनि मचाहिँ – मेरो आँखाले छोड़्‍नेछैन, न म टिठाउने नै छु, तर तिनीहरूको चालको बदला तिनीहरूकै टाउकोमाथि हालिदिनेछु।” 11 अनि हेर, मलमलको वस्त्र पहिरेका मानिसले, जसको कम्मरमा मसीदानी थियो, यसो भन्दै खबर दिए: “तपाईंले मलाई जस्तो आज्ञा गर्नुभएको थियो, त्यस्तै मैले गरेको छु।”