इस्राएलको अन्त नजिकै छ
7
अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “अनि तिमी हे मानिसको छोरा, प्रभु यहोवा इस्राएलको देशलाई यसो भन्‍नुहुन्‍छ: अन्त, देशका चारै कुनामाथि त्यो अन्त आएको छ। 3 अब तँमाथि त्यो अन्त आएको छ; अनि म तँमाथि आफ्नो रिस छोड़्‍नेछु, र तेरा चालहरूअनुसार म तेरो न्याय गर्नेछु; अनि तेरा सबै घृणित कामकुराहरूका निम्ति म तँलाई बदला दिनेछु। 4 मेरो आँखाले तँलाई छोड़्‍नेछैन, न म टिठाउनेछु; तर तेरा चालहरूको बदला म तँलाई दिनेछु, र तेरो बीचमा तेरा घृणित वस्तुहरू हुनेछन्; तब तैंले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछस्।
5 प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: विपत्ति, अँ, एउटै विपत्ति! हेर्, त्यो आएको छ। 6 अन्त आएको छ, त्यो अन्त आएको छ; तेरा निम्ति त्यो बिउँझन्छ; हेर्, त्यो आएको छ। 7 हे देशको बासिन्दा, तँकहाँ त्यो विनाश आएको छ; त्यो समय आएको छ, त्यो सङ्कष्‍टको दिन नजिकै छ, अनि पहाड़हरूबाटको आनन्दको चीत्कार होइन। 8 अब चाँड़ै म तँमाथि मेरो क्रोध खन्याउनेछु, र तँमाथि मेरो रिस पूरा गर्नेछु; अनि तेरा चालहरूअनुसार म तेरो न्याय गर्नेछु, र तेरा सबै घृणित कामहरूका निम्ति म तँलाई बदला दिनेछु। 9 अनि मेरो आँखाले तँलाई छोड़्‍नेछैन, न म टिठाउने नै छु; तर तेरा चालचलनहरू र तेरो बीचमा भएका तेरा घृणित कामहरूअनुसार म तँलाई बदला दिनेछु; तब ‘त्यो हिर्काउनेचाहिँ म परमप्रभु हुँ’ भनी तिमीहरूले जान्‍नेछौ।
10 हेर, त्यो दिन! हेर, त्यो आएको छ; त्यो विनाश निस्केर आएको छ; त्यो लौरो फुलेको छ, घमण्डले कोपिला हानेको छ। 11 अत्याचार उठेर दुष्‍टताको लौरो भएको छ; तिनीहरूमध्ये कोही रहनेछैन, न ता तिनीहरूको भीड़बाट कोही, न ता तिनीहरूको केही रहनेछ; न ता तिनीहरूका निम्ति विलाप नै हुनेछ। 12 त्यो समय आएको छ; त्यो दिन नजिक आइपुगेको छ; किन्‍नेले रमाहट नगरोस्, न ता बेच्‍नेले विलाप गरोस्, किनकि तिनीहरूको सम्पूर्ण भीड़माथि क्रोध आइपरेको छ। 13 किनकि तिनीहरू जीवित रहे तापनि बेच्‍ने मानिस आफूले बेचेको मालकहाँ फर्केर जानेछैन, किनकि यो दर्शन त्यसको सम्पूर्ण भीड़का निम्ति हो, जो फर्कनेछैन; अनि आफ्नो अधर्ममा जिउने कसैले पनि आफूलाई बलियो तुल्याउनेछैन। 14 तिनीहरूले तुरही फुकेका छन् र हरेकलाई तयार पारेका छन्, तर लड़ाइँमा कोही पनि जाँदैन, किनकि त्यसको सम्पूर्ण भीड़माथि मेरो क्रोध आइपरेको छ। 15 बाहिर तरवार छ; अनि भित्र महामारी र अनिकाल छन्। जो मैदानमा छ, त्यो तरवारले मारिनेछ; अनि जो शहरभित्र छ, त्यसलाई अनिकाल र महामारीले निल्नेछन्। 16 तर तिनीहरूका उम्केकाहरू उम्कनेछन् र पहाड़हरूहुँदो बेंसीहरूका ढुकुरहरूझैं हुनेछन्; ती सबैले विलाप गर्नेछन् – हरेकले आ-आफ्नो अधर्मका निम्ति। 17 सबै हातहरू लुला हुनेछन्, अनि सबै घुँड़ाहरू पानीझैं कमजोर हुनेछन्। 18 अनि तिनीहरूले भाङ्‍ग्राको लुगाले आफ्नो कम्मर कस्‍नेछन्; त्रासले तिनीहरूलाई छोप्‍नेछ; अनि सबै अनुहारहरूमा शर्म हुनेछ, र तिनीहरू सबका टाउकाहरू तालुखुइले हुनेछन्। 19 तिनीहरूले आफ्नो चाँदी सड़कहरूमा फ्याँक्नेछन्, अनि तिनीहरूको सुन अशुद्ध वस्तु हुनेछ; परमप्रभुको क्रोधको दिनमा तिनीहरूको चाँदी र तिनीहरूको सुनले तिनीहरूलाई छुटकारा दिन सक्नेछैनन्; ती थोकहरूले तिनीहरूका प्राणहरूलाई तृप्‍त पार्नेछैनन्, न ता तिनीहरूका पेटहरू भर्नेछन्; किनभने त्यो तिनीहरूको अधर्मका निम्ति एउटा ठेस लाग्‍ने कुरा भयो। 20 अनि त्यसको गहनाको सुन्दरता उहाँले त्यसलाई महिमाको रूपमा राख्‍नुभयो; तर तिनीहरूले त्यसबाट आफ्ना घिनलाग्दा कुराहरू र आफ्ना घृणित वस्तुहरूरूपी मूर्तिहरू बनाए; यसकारण मैले त्यो तिनीहरूका निम्ति एउटा अशुद्ध वस्तु तुल्याइदिएको छु। 21 अनि म त्यो परदेशीहरूको हातमा लुटको मालको रूपमा सुम्पिदिनेछु र शिकारको रूपमा पृथ्वीको दुष्‍टलाई दिनेछु, अनि तिनीहरूले त्यसलाई अशुद्ध पार्नेछन्। 22 अनि म तिनीहरूबाट आफ्नो अनुहार फर्काउनेछु, अनि तिनीहरूले मेरो गुप्‍त स्थानलाई अशुद्ध पार्नेछन्; किनकि डाँकूहरू त्यसमा पस्‍नेछन् र त्यसलाई अशुद्ध पार्नेछन्।
23 एउटा साङ्लो बनाऊ; किनकि देशचाहिँ रक्तपातका अपराधहरूले भरिएको छ, र शहरचाहिँ अत्याचारले भरिएको छ। 24 यसकारण म जातिहरूमध्ये सबभन्दा दुष्‍टहरूलाई ल्याउनेछु, अनि तिनीहरूले उनीहरूका घरहरू आफ्नो अधिकारमा लिनेछन्; अनि शक्तिशालीहरूको रवाफ म खतम पार्नेछु, र तिनीहरूका पवित्रस्थानहरू अशुद्ध पारिनेछन्। 25 विनाश आउँदैछ; अनि तिनीहरूले शान्ति खोज्‍नेछन्, तर शान्ति हुनेछैन नै। 26 विपत्तिमाथि विपत्ति आइपर्नेछ, र एक खबरपछि अर्को खबर आउनेछ; तब तिनीहरूले भविष्यवक्ताबाट दर्शनको खोज गर्नेछन्; तर पूजाहारीबाट व्यवस्था, र बूढ़ा प्रधानहरूबाट सल्‍लाह नष्‍ट हुनेछ। 27 राजाले विलाप गर्नेछ, अनि शासकले उजाड़तारूपी वस्त्र पहिरनेछ, र यस देशका मानिसहरूका हातहरू काम्‍नेछन्। म तिनीहरूसित तिनीहरूकै चालअनुसार व्यवहार गर्नेछु, र तिनीहरूले पाउनुपर्ने न्यायहरूअनुसार म तिनीहरूको न्याय गर्नेछु; तब तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछन्।”