बाबेलको भयङ्कर विनाश
51
“परमप्रभु यसो भन्‍नुहुन्छ: बाबेलको विरोधमा र मेरो विरोधमा उठ्नेहरूको बीचमा बस्‍नेहरूको विरोधमा म एउटा नाश गर्ने हुरीबतास उठाउनेछु; 2 अनि बाबेलकहाँ म निफन्‍नेहरूलाई पठाउनेछु, जसले त्यसलाई निफन्‍नेछन् र त्यसको देश रित्तो पारिदिनेछन्; किनकि विपत्तिको दिनमा तिनीहरू चारैतिर त्यस देशको विरोधमा हुनेछन्। 3 ‘काँड़ हान्‍नेले धनु खिच्‍नेको विरोधमा, र आफ्नो कवच धारण गरेर आफैलाई उठाउनेको विरोधमा आफ्नो धनु खिचोस्! तिमीहरूले त्यसका जवान मानिसहरूलाई बाँकी नराख! त्यसको सम्पूर्ण सेनालाई पूरै नाश गरिदेओ!’ 4 यसरी कल्दीहरूको देशमा मारिएकाहरू र त्यसका सड़कहरूमा छेंड़िएकाहरू ढल्नेछन्।
5 किनभने इस्राएल र यहूदाको देश इस्राएलका पवित्र जनको विरोधमा गरिएको पापले भरिएको भए तापनि तिनीहरू आफ्ना परमेश्‍वरबाट सेनाहरूका परमप्रभुबाट त्यागिएका छैनन्। 6 बाबेलको बीचबाट भाग, र तिमीहरू हरेकले आ-आफ्नो प्राण बचाओ! त्यसको अधर्ममा नाश नहोओ; किनकि यो त परमप्रभुको बदला लिने समय हो; उहाँले त्यसलाई बदला दिनुहुनेछ। 7 बाबेलचाहिँ परमप्रभुको हातमा एउटा सुनको कचौरा भएको थियो, जसले सम्पूर्ण पृथ्वीलाई मतायो; जातिहरूले त्यसको दाखमद्यबाट पिएका छन्; यसैकारण जातिहरू पागल छन्। 8 अचानक बाबेल ढल्यो र नष्‍ट भयो; तिमीहरू त्यसका निम्ति रोइकराइ गर! त्यसको पीड़ाका निम्ति मलहम लेओ, कहीं त्यो निको हुन्छे कि! 9 हामीले बाबेललाई निको पार्न चाह्‍यौं, तर त्यो निको भइन; त्यसलाई त्यागिदेओ, र हामी हरेक आ-आफ्नो देशमा जाऔं; किनकि त्यसको न्याय आकाशसम्म पुग्छ र आकाश-मण्डलसम्म उचालिएको छ। 10 परमप्रभुले हाम्रो धार्मिकता निकालेर ल्याउनुभएको छ; आओ, हामी परमप्रभु हाम्रा परमेश्‍वरको काम सियोनमा घोषणा गरिदिऔं!
11 काँड़हरू टल्काओ! ढालहरू जम्मा पार! परमप्रभुले मादीका राजाहरूको आत्मा उभाड़्नुभएको छ; किनकि उहाँको युक्ति बाबेललाई नाश गर्नलाई त्यसको विरोधमा छ; किनकि यो परमप्रभुको बदला हो, उहाँको मन्दिरको बदला हो। 12 बाबेलका पर्खालहरूमाथि झण्डा खड़ा गरिदेओ! पहरा बलियो तुल्याओ! पहरेदारहरूलाई खटाओ! लुकेर बस्‍ने ठाउँहरू तयार पार; किनकि परमप्रभुले बाबेलका बासिन्दाहरूको विरोधमा भन्‍नुभएको कुराको युक्ति गर्नुभएको छ, र पूरा पनि गर्नुभएको छ। 13 हे धेरै पानीहरूमाथि बस्‍ने, धनसम्पत्तिले भरपूर भएकी, तेरो अन्त, तेरो लोभको सीमा आएको छ। 14 सेनाहरूका परमप्रभुले यसो भन्दै आफ्नै नाममा शपथ खानुभएको छ: निश्‍चय म तँलाई बच्‍चा-सलहले झैं मानिसहरूले भरिदिनेछु; अनि तिनीहरूले तेरो विरोधमा ललकार गर्नेछन्।
15 उहाँले आफ्नो शक्तिले पृथ्वीलाई बनाउनुभएको छ; उहाँले आफ्नो बुद्धिले संसारलाई स्थापित गर्नुभएको छ, र आफ्नो समझले आकाशलाई फैलाउनुभएको छ। 16 जब उहाँले सोर निकाल्नुहुन्छ, तब आकाशमा पानीको गड़गड़ाहट हुन्छ; अनि पृथ्वीका छेउ-छेउबाट उहाँले बाफ उठाउनुहुन्छ; उहाँले पानीझरीका निम्ति बिजुली बनाउनुहुन्छ, र आफ्ना भण्डारहरूबाट हावाबतास निकाल्नुहुन्छ। 17 हरेक मानिस ज्ञानको सम्बन्धमा पशुसरह छ; हरेक सुनार आफ्नो खोपिएको मूर्तिले गर्दा लज्जित हुन्छ; किनकि त्यसको ढालिएको मूर्ति झूट हो, र तिनमा सासै छैन। 18 ती व्यर्थका हुन्, भ्रमैभ्रमको काम हुन्; तिनको दण्डको समयमा ती नाश हुनेछन्। 19 याकूबको भाग तीजस्ता हुनुहुन्‍न; किनकि उहाँचाहिँ सबै कुराहरूको रचनाकार हुनुहुन्छ; अनि इस्राएलचाहिँ उहाँको अधिकारको भागको राजदण्ड हो; सेनाहरूका परमप्रभु उहाँको नाम हो।
20 तँ मेरो लड़ाइँको बन्चरो, लड़ाइँका हतियारहरू होस्; किनकि तँद्वारा म जाति-जातिलाई टुक्रा-टुक्रा पार्नेछु र तँद्वारा म राज्यहरू नाश गर्नेछु; 21 अनि तँद्वारा म घोड़ा र त्यसको सवारलाई टुक्रा-टुक्रा पार्नेछु; अनि तँद्वारा म रथ र त्यसको सवारलाई टुक्रा-टुक्रा पार्नेछु; 22 अनि तँद्वारा म पुरुष र स्त्रीलाई टुक्रा-टुक्रा पार्नेछु; तँद्वारा म वृद्ध र जवानलाई टुक्रा-टुक्रा पार्नेछु; अनि तँद्वारा म युवक र युवतीलाई टुक्रा-टुक्रा पार्नेछु। 23 अनि तँद्वारा म गोठालालाई र त्यसको बगाललाई टुक्रा-टुक्रा पार्नेछु; अनि तँद्वारा म किसानलाई र त्यसको हलगोरुलाई टुक्रा-टुक्रा पार्नेछु; अनि तँद्वारा म अधिकारीहरू र शासकहरूलाई टुक्रा-टुक्रा पार्नेछु। 24 अनि म बाबेल र कल्दी देशका सबै बासिन्दाहरूलाई तिनीहरूको सबै खराबीको बदला दिनेछु, जुन खराबी तिनीहरूले सियोनमा तिमीहरूका आँखाको सामु गरेका छन्, परमप्रभु भन्‍नुहुन्छ। 25 परमप्रभु भन्‍नुहुन्छ: हे नाश गर्ने पर्वत, हेर्, म तेरो विरोधमा छु, तँ जो सारा पृथ्वीलाई नाश गर्छस्; अनि म मेरो हात तँमाथि बढ़ाउनेछु, तँलाई चट्टानहरूबाट तल गुड़ाइदिनेछु र तँलाई एउटा डढ़ेको पहाड़ तुल्याउनेछु। 26 अनि तिनीहरूले तँबाट न कुनाका निम्ति ढुङ्गा लिनेछन्, न जगहरूका निम्ति ढुङ्गा लिनेछन्; तर तँ सदा-सर्वदा उजाड़ रहनेछस्, परमप्रभु भन्‍नुहुन्छ।
27 तिमीहरू देशमा झण्डा खड़ा गर! जाति-जातिको बीचमा तुरही फुक! त्यसको विरोधमा जाति-जातिलाई तयार पार! त्यसको विरोधमा अरारत, मिन्‍नी र अश्कनज राज्यहरूलाई बोलाओ! त्यसको विरोधमा एउटा सेनापति नियुक्त गर! झुसे बच्‍चा-सलहहरूझैं घोड़ाहरू माथि ल्याओ! 28 त्यसको विरोधमा जातिहरूलाई, साथै मादीका राजाहरूलाई, त्यसका अधिकारीहरू र त्यसका सबै शासकहरूलाई र त्यसको अधिकारमा भएको सारा देश तयार पार! 29 अनि देश थरथर काम्‍नेछ र शोकित हुनेछ; किनकि बाबेल देशलाई कुनै बासिन्दा नरहने गरी उजाड़ बनाउनलाई परमप्रभुका योजनाहरू बाबेलको विरोधमा पूरा गरिनेछन्‌। 30 बाबेलका शूरवीरहरूले लड़ाइँ गर्न छोड़िदिएका छन्; उनीहरू आफ्ना किल्‍लाहरूमा बसिरहेका छन्; उनीहरूको बल ओइलिएको छ; उनीहरू स्त्रीहरूजस्ता भए; तिनीहरूले त्यसका वासस्थानहरू जलाइदिएका छन्; त्यसका आग्लाहरू भाँचिएका छन्। 31 त्यसको शहर एक छेउदेखि अर्को छेउसम्म कब्जा गरियो भन्‍ने कुरा बाबेलका राजालाई बताउन एउटा समाचारवाहक अर्को समाचारवाहकलाई भेट्न र एउटा दूत अर्को दूतलाई भेट्न दगुर्नेछन्। 32 अनि घाटहरू कब्जा गरिएका छन्; अनि तिनीहरूले नर्कटहरू आगोले जलाएका छन्, र योद्धाहरू भयभीत भएका छन्। 33 किनकि सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: बाबेलकी छोरी खलाजस्ती छे; त्यसलाई कुल्चीमिल्ची पार्ने समय आएको छ; अझै थोरै बेर, र त्यसको कटनीको समय आउनेछ।
34 बाबेलका राजा नबूकद्‌नेस्‍सरले मलाई निलेको छ; त्यसले मलाई चूर पारेको छ; त्यसले मलाई एउटा रित्तो भाँड़ो तुल्याएको छ; त्यसले मलाई अजिङ्गरले झैं निलेको छ; त्यसले मेरा मीठा-मीठा खानेकुराले आफ्नो पेट भरेको छ; त्यसले मलाई थुकझैं फ्याँकिदिएको छ। 35 ‘जुन अत्याचार ममाथि र मेरो शरीरमाथि गरिएको छ, त्यही बाबेलमाथि आइपरोस्’ भनी सियोनको बासिन्दाले भन्‍नेछ; अनि ‘मेरो रगतचाहिँ कल्दी देशका बासिन्दाहरूमाथि आइपरोस्’ भनी यरूशलेमले भन्‍नेछ। 36 यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, म तिम्रो मुद्दा लड़्नेछु, र तिम्रा निम्ति बदला लिनेछु; अनि म त्यसको समुद्र सुकाइदिनेछु र त्यसका मुहानहरू सुक्खा बनाइदिनेछु। 37 अनि बाबेल रासैरास हुनेछ, स्यालहरूको वासस्थान बन्‍नेछ; कुनै बासिन्दा नभएको त्यो एउटा अत्यास र खिसीको पात्र बन्‍नेछ।
38 तिनीहरू जवान सिंहहरूझैं एकसाथ गर्जनेछन्; सिंहहरूका डमरुहरूजस्तै तिनीहरू ङुर्र-ङुर्र गर्नेछन्। 39 तिनीहरू उत्तेजित हुँदा म तिनीहरूका भोजहरू लगाउनेछु र तिनीहरूलाई उन्मत्त होउन्जेल मताउनेछु, कि तिनीहरू रमाऊन्, सदा रहिरहने निद्रामा निदाऊन् र नबिउँझून्, परमप्रभु भन्‍नुहुन्छ। 40 म तिनीहरूलाई भेड़ाका पाठाहरूजस्तै, बोकाहरूको साथमा भेड़ाहरूजस्तै मारिनलाई तल लैजानेछु।
41 कसरी शेशक कब्जा गरियो! अनि कसरी सारा पृथ्वीको प्रशंसाको पात्र पक्रा पर्‍यो! कसरी बाबेल जाति-जातिको बीचमा अत्यासको पात्र बन्यो! 42 समुद्र बाबेलमाथि चढ़ेर आएको छ; यसका प्रशस्त छालहरूले त्यो ढाकिएको छ। 43 त्यसका शहरहरू एउटा उजाड़स्थान, एउटा सुक्खा भूमि र एउटा मरुभूमि भएका छन् – एउटा यस्तो देश, जसमा कुनै मानिस बस्दैन, न ता मानिसको कुनै सन्तान त्यसबाट भएर जान्छ। 44 अनि म बाबेलमा बेललाई दण्ड दिनेछु; अनि त्यसले जे निलेको छ, त्यो कुरा म त्यसको मुखबाट निकालिदिनेछु; अनि जाति-जातिहरू फेरि कहिल्यै त्यसकहाँ ओइरिएर भेला हुनेछैनन्; अँ, बाबेलको पर्खाल ढल्नेछ।
45 हे मेरा जनहरूहो, त्यसको बीचबाट निस्केर जाओ! अनि तिमीहरू हरेकले परमप्रभुको बल्दो रिसबाट आफ्नो प्राण बचाओ! 46 अँ, नत्र ता कहीं देशमा सुनिने समाचारले गर्दा तिमीहरूको हृदय हताश हुन्छ कि, र तिमीहरू भयभीत हुन्छौ कि; किनकि एक वर्षमा एउटा समाचार मच्चिनेछ, र त्यसपछि अर्को वर्षमा अर्को समाचार चल्नेछ; अनि देशमा अत्याचार हुनेछ – एउटा शासकको विरोधमा अर्को शासक।
47 यसकारण हेर, दिनहरू आउँछन्, जब म बाबेलका खोपिएका मूर्तिहरूको न्याय गर्नेछु; अनि त्यसको सारा देश लज्जित हुनेछ, र त्यसका मारिएकाहरू त्यसको बीचमा ढल्नेछन्। 48 तब आकाश र पृथ्वी, अनि तिनमा भएका सबैले बाबेलको खातिर गीत गाउनेछन्; किनकि उत्तरबाट नाश गर्नेहरू त्यसकहाँ आउनेछन्, परमप्रभु भन्‍नुहुन्छ। 49 जसरी बाबेलले इस्राएलका मारिएकाहरूलाई ढालेको छ, त्यसरी नै बाबेलमा सारा पृथ्वीका मारिएकाहरू ढल्नेछन्।
50 हे तरवारबाट उम्केकाहरूहो, गइहाल, अड़िएर नबस! टाढ़ाबाट परमप्रभुलाई सम्झना गर! अनि यरूशलेम तिमीहरूको मनमा आओस्! 51 हामी लज्जित भएका छौं, किनकि हामीले निन्दा सुनेका छौं; शर्मले हाम्रा अनुहारहरू ढाकेको छ; किनभने परमप्रभुको भवनका पवित्रस्थानहरूमा परदेशीहरू पसेका छन्। 52 यसकारण हेर, दिनहरू आउँछन्, परमप्रभु भन्‍नुहुन्छ, जब म त्यसका खोपिएका मूर्तिहरूको न्याय गर्नेछु; अनि त्यसको सारा देशभरि नै घाइतेहरूले ‘ऐया! ऐया!’ गर्नेछन्। 53 बाबेल आकाशसम्म चढ़ेर गए तापनि, र त्यसले आफ्नो बलियो उच्‍च स्थान सुदृढ़ पारे तापनि मबाट त्यसकहाँ नाश गर्नेहरू जानेछन्, परमप्रभु भन्‍नुहुन्छ।
54 बाबेलबाट चिच्च्याहटको र कल्दीहरूको देशबाट ठूलो विनाशको कोलाहल सुनिन्छ; 55 किनभने परमप्रभुले बाबेललाई ध्वंस पार्नुभएको छ र त्यसबाट ठूलो आवाज नष्‍ट पारिदिनुभएको छ; जब तिनीहरूका छालहरू समुद्रझैं गर्जन्छन्, तब तिनीहरूको आवाजको शब्द गुञ्‍जिन्‍छ; 56 किनकि त्यसमाथि, अँ, बाबेलमाथि नाशकर्ता आइलागेको छ; अनि त्यसका शूरवीरहरू पक्राउ परेका छन्, तिनीहरूका धनुहरूमध्ये हरेक भाँचिएको छ; किनकि परमप्रभु बदला लिनुहुने परमेश्‍वरले निश्‍चय बदला लिनुहुनेछ। 57 अनि म त्यसका शासकहरू, त्यसका बुद्धिमान् मानिसहरू, त्यसका अधिकारीहरू, त्यसका राज्यपालहरू र त्यसका शूरवीरहरूलाई मताउनेछु; अनि तिनीहरू सदा रहिरहने निद्रामा निदाउनेछन् र बिउँझनेछैनन्, महाराजा भन्‍नुहुन्छ, जसको नाम सेनाहरूका परमप्रभु हो। 58 सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ: बाबेलका चौड़ा पर्खालहरू भत्काएर बिलकुलै सम्म पारिनेछन्, र त्यसका अग्ला मूलढोकाहरू आगोले जलाइनेछन्; अनि जाति-जातिका मानिसहरूले व्यर्थमै परिश्रम गर्नेछन्, र जाति-जातिले चाहिँ आगोकै निम्ति नै गर्नेछन्, अनि तिनीहरू थकित हुनेछन्।”
प्रधान प्रबन्धक सरायाहलाई यर्मियाको आदेश
59 यो त्यही वचन हो, जुन भविष्यवक्ता यर्मियाले मासेयाहका नाति, नेरियाहका छोरा सरायाहलाई उनी यहूदाका राजा सिद्कियाहसँग तिनको राज्यकालको चौथो वर्षमा बाबेल जाँदा आज्ञा गरेका थिए। अनि यी सरायाहचाहिँ राजभवनको प्रधान प्रबन्धक थिए। 60 तब यर्मियाले बाबेलमाथि आइपर्ने सबै विपत्ति अर्थात् बाबेलको विरोधमा लेखिएका सबै वचनहरू एउटा पुस्तकमा लेखे। 61 अनि यर्मियाले सरायाहलाई भने: “जब तपाईं बाबेल पुग्‍नुहुन्छ, तब हेर्नुहोस्, अनि यी सबै वचनहरू पढ़ेर सुनाउनुहोस्, 62 र भन्‍नुहोस्: ‘हे परमप्रभु, तपाईंले यस ठाउँको विरोधमा, यसलाई नाश गर्ने विषयमा यसो भन्‍नुभएको छ, कि यसमा न मानिस न पशु, कोही पनि बस्‍नेछैन; तर यो सदा-सर्वदा उजाड़ रहनेछ।’ 63 अनि यस्तो हुनेछ: जब तपाईंले यो पुस्तक पढ़ेर सिद्ध्याउनुहुन्छ, तब तपाईंले यसमा एउटा ढुङ्गा बाँध्‍नुहोस् र यसलाई युफ्रेटिस नदीको बीचमा फालिदिनुहोस्, 64 र यसो भन्‍नुहोस्: ‘यसरी नै बाबेल डुब्‍नेछ, र जुन विपत्ति म त्यसमाथि ल्याउनेछु, यस विपत्तिबाट त्यो उठ्नेछैन; अनि तिनीहरू थकित हुनेछन्।’ ” यर्मियाका वचनहरू यहाँसम्म।