अम्मोनीहरूको विषयमा भविष्यवाणी
49
“अम्मोनीहरूको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ: के इस्राएलका छोराहरू छैनन् र? अथवा के उसको कुनै हकवाला छैन? त किन तिनीहरूको राजाले गादलाई आफ्नो अधिकारमा लियो, र त्यसका मानिसहरू उसका शहरहरूमा बस्छन्? 2 यसैकारण हेर, दिनहरू आउँछन्, परमप्रभु भन्‍नुहुन्छ, जब म अम्मोनीहरूको रब्बामा लड़ाइँको ललकार सुन्‍न लाउनेछु, अनि त्यो एउटा उजाड़ खण्डहर हुनेछ, र त्यसका गाउँबस्तीहरू आगोले जलाइनेछन्; तब इस्राएलले तिनीहरूलाई आफ्नो अधिकारमा लिनेछ, जसले उसलाई आफ्नो अधिकारमा लिएका थिए, परमप्रभु भन्‍नुहुन्छ। 3 हे हेश्बोन, रोइकराइ गर्, किनकि ऐ नाश भयो; हे रब्बाका छोरीहरूहो, चिच्च्याओ! भाङ्ग्राको लुगाले कम्मर कस! विलाप गर र बारहरूहुँदो यताउता दगुर; किनकि तिनीहरूको राजा त्यसका पूजाहारीहरू र त्यसका शासकहरूसँगै एकसाथ कैदमा जानेछ। 4 ‘कसले ममाथि चढ़ाइ गर्ला?’ भन्दै आफ्नो धनसम्पत्तिमाथि भरोसा राख्‍ने हे पछि हट्ने छोरी, तँ किन बेंसीहरूमा, अँ, आफ्नो बगिजाने बेंसीमा घमण्ड गर्छेस्? 5 हेर्, म तँमाथि तेरो वरिपरि भएका सबैबाट डर ल्याउनेछु, सेनाहरूका प्रभु यहोवा भन्‍नुहुन्छ; अनि तिमीहरू हरेक सोझैं आ-आफ्नो अघिल्तिर धपाइनेछौ; अनि भागिहिँड़्‍नेलाई कसैले भेला गर्नेछैन। 6 अनि त्यसपछि म अम्मोनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ।”
एदोमको विषयमा भविष्यवाणी
7 “एदोमको विषयमा सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ: के तेमानमा कुनै बुद्धि छैन? के समझदारहरूबाट सल्‍लाह नाश भयो? के तिनीहरूको बुद्धि गायब भयो? 8 हे ददानका बासिन्दाहरूहो, भाग, फर्क! गहिरो ठाउँमा बस्‍न जाओ; किनकि त्यसमाथि म एसावको विपत्ति अर्थात् त्यो समय ल्याउनेछु, जब म त्यसलाई दण्ड दिनेछु। 9 अङ्‍गुर टिप्‍नेहरू तँकहाँ आए भने के तिनीहरूले केही सिला-फल छोड़्‍नेथिएनन् र? राति चोरहरू आए भने के तिनीहरूले आफूलाई पुग्‍ने गरी मात्र नष्‍ट गर्नेथिएनन् र? 10 तर मैले एसावलाई नाङ्गो पारेको छु; त्यसका गुप्‍त स्थानहरू मैले उघारेको छु; अनि त्यसले आफूलाई लुकाउन सक्नेछैन; त्यसको वंश, त्यसका दाजुभाइहरू र त्यसका छरछिमेकीहरू पनि नष्‍ट भएका छन्, अनि त्यो रहनेछैन। 11 तेरा टुहुराटुहुरीहरूलाई छोड़िराख्! म तिनीहरूलाई जीवित राख्‍नेछु; अनि तेरा विधवाहरूले ममाथि भरोसा राखून्! 12 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ: हेर्, कचौराबाट पिउनुपर्ने जसको न्यायको फैसला थिएन, तिनीहरूले अवश्य पिउनेछन् भने के तँजस्तो व्यक्तिचाहिँ बिलकुलै दण्ड नपाई छोड़िनेछस् र? तँ दण्ड नपाई छोड़िनेछैनस्, तर तैंले निश्‍चय यसबाट पिउनुपर्नेछ। 13 किनकि मैले आफ्नै नाममा शपथ खाएको छु, परमप्रभु भन्‍नुहुन्छ; बोज्रा उजाड़ पारिनेछ – त्यो निन्दा, बर्बादी र श्रापको पात्र बन्‍नेछ; अनि त्यसका सबै शहरहरू सदाका निम्ति उजाड़ ठाउँहरू हुनेछन्।
14 मैले परमप्रभुबाट एउटा समाचार पाएको छु, अनि यसो भन्दै अन्यजातिहरूकहाँ एउटा राजदूत पठाइएको छ: ‘भेला होओ! त्यसमाथि चढ़ाइ गर र लड़ाइँ गर्नका निम्ति उठ!’ 15 किनकि हेर्, म तँलाई अन्यजातिहरूको बीचमा सानो, र मानिसहरूको बीचमा तुच्छ तुल्याउनेछु। 16 हे चट्टानका दरारहरूमा बस्‍ने, हे डाँड़ाको अग्लो ठाउँ ओगट्ने, तेरो भयङ्करता र तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ; तैंले आफ्नो गुँड़ चीलले झैं उच्‍चमा बनाए तापनि त्यहाँबाट म तँलाई तल झार्नेछु, परमप्रभु भन्‍नुहुन्छ। 17 अनि एदोम उजाड़ हुनेछ; त्यसबाट भएर जाने हरेक मानिस चकित हुनेछ, र त्यसका सबै प्रहारहरूका निम्ति त्यसको खिसी गर्नेछ। 18 सदोम, गमोरा र त्यसका छिमेकी-शहरहरूको विनाश हुँदा झैं त्यहाँ कुनै मानिस बस्‍नेछैन, न ता मानिसको कुनै सन्तानले त्यसमा बसोबास गर्नेछ, परमप्रभु भन्‍नुहुन्‍छ।
19 हेर, यर्दनको बाढ़बाट ऊ एउटा सिंहझैं शक्तिशालीको वासस्थानको विरोधमा बाहिर निस्कनेछ; तर म उसलाई झट्टै त्यसकहाँबाट भाग्‍न लाउनेछु; अनि त्यो चुनिएको मानिस को होला, जसलाई म त्यसमाथि नियुक्त गरूँ? किनकि मजस्तो को होला? अनि कसले मेरा निम्ति समय ठहराउला? अनि त्यो गोठाला को होला, जो मेरो सामु खड़ा होला? 20 यसकारण परमप्रभुको सल्‍लाह सुनिदेओ, जुन सल्‍लाह उहाँले एदोमको विरोधमा रच्‍नुभएको छ; साथै उहाँका योजनाहरू सुन, जुन योजनाहरू उहाँले तेमानका बासिन्दाहरूको विरोधमा बनाउनुभएको छ; निश्‍चय बगालका सबैभन्दा सानाहरूले तिनीहरूलाई घिसारेर लैजानेछन्; निश्‍चय उहाँले तिनीहरूको वासस्थान तिनीहरूसँगै उजाड़ पारिदिनुहुनेछ। 21 तिनीहरू ढलेको आवाजले पृथ्वी कामेको छ; त्यसको चिच्च्याएको आवाज लाल समुद्रमा सुनिएको छ। 22 हेर, चीलझैं ऊ उँभो आउनेछ, उड़्नेछ र आफ्ना पखेटाहरू बोज्रामाथि फैलाउनेछ; अनि त्यस दिन एदोमका सामर्थी मानिसहरूको हृदय सुत्केरी व्यथामा परेकी स्त्रीको हृदयजस्तो हुनेछ।”
दमस्कसको विषयमा भविष्यवाणी
23 “दमस्कसको विषयमा – हमात लज्जित भएको छ, र अर्पद पनि; किनकि तिनीहरूले खराब समाचार सुनेका छन्; तिनीहरू पग्लेका छन्; समुद्रमा शोकचिन्ता छ, त्यो शान्त हुन सक्दैन। 24 दमस्कस लुलो भएको छ; त्यो भाग्‍नलाई फर्केको छ; अनि डरले त्यसलाई पक्रेको छ; वेदना र पीड़ाहरूले त्यसलाई सुत्केरी व्यथामा परेकी स्त्रीलाई झैं पक्रेका छन्। 25 यो प्रशंसनीय शहर, मेरो आनन्द-नगर कसरी छोड़िएन! 26 यसैकारण त्यसका जवान मानिसहरू त्यसका सड़कहरूमा लड़्नेछन्, अनि त्यस दिन सबै योद्धाहरू नाश हुनेछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ। 27 अनि म दमस्कसको पर्खालमा आगो लाउनेछु, अनि त्यसले बेन-हददका महलहरू भस्म पार्नेछ।”
केदार र हासोरको विषयमा भविष्यवाणी
28 “बाबेलका राजा नबूकद्‌नेस्‍सरले प्रहार गरेका केदारको विषयमा र हासोरका राज्यहरूको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ: तिमीहरू उठ! केदारमाथि चढ़ाइ गर र पूर्वका मानिसहरूलाई नाश गर! 29 उनीहरूले तिनीहरूका पालहरू र तिनीहरूका भेड़ाबाख्राहरू कब्जा गर्नेछन्; उनीहरूले तिनीहरूका पर्दाहरू, तिनीहरूका सबै भाँड़ाकुँड़ाहरू र तिनीहरूका ऊँटहरू आफ्ना निम्ति उठाएर लैजानेछन्; अनि उनीहरूले तिनीहरूलाई कराई-कराई भन्‍नेछन्: ‘चारैतिर डरैडर!’
30 हे हासोरका बासिन्दाहरूहो, परमप्रभु भन्‍नुहुन्छ: भाग! टाढ़ा-टाढ़ा उम्केर जाओ! गहिरो ठाउँमा बस्‍न जाओ; किनकि बाबेलका राजा नबूकद्‌नेस्‍सरले तिमीहरूको विरोधमा युक्ति रचेको छ र तिमीहरूको विरोधमा एउटा योजना बनाएको छ। 31 तिमीहरू उठ! अनि एउटा धनवान् र निस्फिक्रीसँग बस्‍ने जातिमाथि चढ़ाइ गर, परमप्रभु भन्‍नुहुन्छ, जसका न मूलढोकाहरू छन्, न आग्लाहरू, जो एकलै बस्छ। 32 अनि तिनीहरूका ऊँटहरू लुटको माल हुनेछन् र तिनीहरूका प्रशस्त गाईबस्तुहरू जितको माल हुनेछन्; अनि म ती पल्‍ला कुनाहरूमा बस्‍नेहरूलाई सबै दिशाहरूतिर तितरबितर पारिदिनेछु; अनि त्यसको चारैतिरबाट म तिनीहरूको विपत्ति ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ। 33 अनि हाजोरचाहिँ स्यालहरूको वासस्थान हुनेछ, र सदाका निम्ति उजाड़ रहनेछ; त्यहाँ कुनै मानिस बस्‍नेछैन, न ता मानिसको कुनै सन्तानले त्यसमा बसोबास गर्नेछ।”
एलामको विरोधमा भविष्यवाणी
34 यहूदाका राजा सिद्कियाहको राज्यकालको शुरुमा एलामको विरोधमा भविष्यवक्ता यर्मियाकहाँ आएको परमप्रभुको वचन यो हो: 35 “सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, म एलामको धनु, जुन धनु तिनीहरूको सामर्थ्यको मुख्य वस्तु हो, भाँचिदिनेछु। 36 अनि म एलाममाथि आकाशका चारै कुनाबाट चारवटा हावाबतास ल्याउनेछु, र तिनीहरूलाई ती सबै दिशाहरूतिर तितरबितर पारिदिनेछु; अनि कुनै यस्तो जाति नै हुनेछैन, जहाँ एलामका निकालिएकाहरू पुग्‍नेछैनन्। 37 किनकि म एलामलाई तिनीहरूका शत्रुहरूको सामु र तिनीहरूको प्राण लिन खोज्‍नेहरूको सामु भयभीत तुल्याउनेछु; अनि म तिनीहरूमाथि विपत्ति, अँ, मेरो बल्दो रिस ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ; अनि जबसम्म म तिनीहरूको अन्त गर्दिनँ, तबसम्म म तिनीहरूको पछि-पछि एउटा तरवार पठाउनेछु; 38 अनि म आफ्नो सिंहासन एलाममा बसाल्नेछु, अनि त्यहाँबाट राजा र शासकहरूलाई नाश गर्नेछु, परमप्रभु भन्‍नुहुन्छ। 39 तर पछिल्‍ला दिनहरूमा यस्तो हुनेछ: म एलामलाई कैदबाट फर्काएर ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ।”