पलिस्तीहरूको विरोधमा भविष्यवाणी
47
फाराओले गाजालाई प्रहार गर्नुभन्दा पहिले पलिस्तीहरूको विरोधमा भविष्यवक्ता यर्मियाकहाँ आएको परमप्रभुको वचन यो हो: 2 “परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, उत्तरबाट पानीहरू उठेर आउनेछन्, र उर्लेर आउने बाढ़ बन्‍नेछ, अनि देश र त्यसमा भएका सबै थोकहरू – शहर र त्यसमा बस्‍नेहरूलाई डुबाइदिनेछन्‌; तब मानिसहरू चिच्च्याउनेछन्, र देशका सबै बासिन्दाहरूले रोइकराइ गर्नेछन्। 3 त्यसका बलिया-बलिया घोड़ाहरूका टापहरू बज्रेको आवाज, त्यसका वेगले हानिएका रथहरूको आवाज र त्यसका चक्‍काहरूको गड़गड़ाहट सुनेर बुबाहरूका हातहरू यति लुला हुन्छन्, कि तिनीहरूले आफ्ना छोराछोरीहरूतिर फर्केर हेर्नेछैनन्; 4 त्यस दिनको कारणले, जुन दिन सबै पलिस्तीहरूलाई नाश गर्न र टायर र सिडोनबाट छोड़िएको हरेक सहायता गर्नेलाई नाश गर्न आउँछ; किनकि परमप्रभुले पलिस्तीहरूलाई नाश गर्नुहुनेछ, जो कप्‍टोरको टापुको बाँकी रहेको भाग हो। 5 गाजामाथि तालुखुइलेको अवस्था आइपरेको छ; अश्कलोन तिनीहरूको बेंसीको बाँकी रहेको भागसहित नष्‍ट भएको छ; कहिलेसम्म तँ आफूलाई चिरा काट्दै रहन्छस्? 6 आह! हे परमप्रभुको तरवार, तँ कहिलेसम्म शान्त रहँदैनस्? आफ्नो म्यानभित्र पस्! शान्त रह्! चुपचाप बस्! 7 त्यो कसरी शान्त रहन सक्छ र? किनकि परमप्रभुले त त्यसलाई अश्कलोनको विरोधमा र समुद्रको किनारको विरोधमा आज्ञा गर्नुभएको छ; उहाँले त्यसलाई त्यहीं ठहराउनुभएको छ।”