मिस्र देशको विरोधमा भविष्यवाणी
46
जाति-जातिहरूको विरोधमा यर्मियाकहाँ आएको परमप्रभुको वचन – 2 मिस्रको विषयमा – मिस्रको राजा फाराओ-नेकोको सेनाको विरोधमा, जुन सेना युफ्रेटिस नदीको किनारमा भएको कर्कमिशमा थियो, जसलाई बाबेलका राजा नबूकद्नेस्सरले यहूदाको राजा योशियाहका छोरा यहोयाकिमको चौथो वर्षमा प्रहार गरेक: 3 “साना-ठूला ढालहरू तयार पार, र लड़ाइँ गर्नका निम्ति नजिक आओ! 4 हे घोड़चढ़ीहरूहो, घोड़ाहरूमा जीन-लगामख कस, र घोड़ामा चढ़! अनि टोपहरू लिएर खड़ा होओ! भालाहरू टल्काओ! कवच लगाओ! 5 किन मैले तिनीहरूलाई अत्यास खाएको र पछि हटेको देखें? अनि तिनीहरूका शूरवीरहरू कुल्चीमिल्ची भए, र तिनीहरू जोड़ले भागे, अनि पछिल्तिर हेर्दैनन्; चारैतिरबाट डरैडर, परमप्रभु भन्नुहुन्छ। 6 वेगले दगुर्नेले भाग्न नपाओस्, शूरवीर पनि नउम्कोस्! उत्तरतिर युफ्रेटिस नदीको किनारमा तिनीहरूले ठेस खाए, र लड़े। 7 बाढ़झैं उठेर आउने यो को हो, जसका पानीहरू नदीहरूझैं उर्लिरहेका छन्? 8 मिस्र बाढ़झैं उठेर आउँछ, र त्यसका पानीहरू नदीहरूझैं उर्लिरहेका छन्; अनि त्यसले भन्छ: ‘म उठेर आउनेछु र पृथ्वीलाई ढाकिदिनेछु; म शहरलाई र त्यसका बासिन्दाहरूलाई नाश गर्नेछु।’ 9 हे घोड़ाहरूहो, माथि आओ; अनि हे रथहरूहो, उन्मत्त होओ; अनि शूरवीरहरू – कूशीहरूग र लूबीहरूघ, जसले ढाल चलाउँछन्, अनि लूदीहरू जसले धनु चलाउँछन् र ताँदो चढ़ाउँछन्, यी शूरवीरहरू अघि बढून्! 10 किनकि यो दिन सेनाहरूका प्रभु यहोवाको दिन हो – एउटा बदला लिने दिन हो, जसमा उहाँले आफ्ना विरोधीहरूसित बदला लिनुहुन्छ; अनि तरवारले खाइदिनेछ; अनि त्यो तिनीहरूको रगतले तृप्त हुनेछ र लट्ठ हुनेछ; किनकि उत्तरको देशमा युफ्रेटिस नदीको किनारमा सेनाहरूका प्रभु यहोवाको एउटा बलिदान छ। 11 हे मिस्रकी कन्या छोरी, माथि गिलादमा जा, र मलहम ली; व्यर्थमा तँ धेरै औषधीहरू प्रयोग गर्छेस्; किनकि तँ निको हुनेछैनस्। 12 जाति-जातिले तेरो शर्मको बारेमा सुनेका छन्, र तेरो चिच्च्याहटले देश भरिएको छ; किनकि शूरवीर शूरवीरसँगै ठोक्किएको छ, र दुवै एकसाथ लड़ेका छन्।”बाबेलका राजा नबूकद्नेस्सरले मिस्र देशलाई प्रहार गर्नेछ
13 बाबेलका राजा नबूकद्नेस्सर आउनेछ, र मिस्र देशलाई प्रहार गर्नेछन् भन्ने विषयमा परमप्रभुले भविष्यवक्ता यर्मियालाई भन्नुभएको वचन यही हो: 14 “तिमीहरूले मिस्रमा घोषणा गर! मिग्दोलमा सुनाओ! अनि नोप र तहपन्हेसमा सुनाओ; भनिदेओ: ‘खड़ा हो! आफूलाई तयार पार्; किनकि तेरो चारैपट्टि तरवारले खाइदिनेछ। 15 तेरा शूरवीरहरू किन बढ़ारेर लगिए? तिनीहरू खड़ा रहेनन्; किनभने परमप्रभुले तिनीहरूलाई धपाउनुभयो। 16 उहाँले धेरैलाई लड़ाइदिनुभयो, अँ, एउटा अर्कोमाथि लड़्यो; र तिनीहरूले भने: ‘उठ, र अत्याचार गर्ने तरवारको सामुबाट हामी आफ्ना मानिसहरूकहाँ र आफू जन्मेको देशमा फर्केर जाऔं!’ 17 त्यहाँ तिनीहरू कराए – मिस्रको राजा फाराओ त एउटा आवाजङ मात्र हो; त्यसले तोकिएको समयलाई नाघेको छ। 18 मेरो जीवनको शपथ, महाराजा भन्नुहुन्छ, जसको नाम सेनाहरूको परमप्रभु हो! जसरी ताबोर पहाड़हरूको बीचमा छ र जसरी कर्मेल समुद्रको किनारमा छ, त्यसरी नै ऊ पक्का आउनेछ। 19 हे मिस्रमा बस्ने छोरी, कैदमा जानलाई आफ्ना निम्ति सरसामानहरू तयार पार्; किनकि नोप उजाड़ हुनेछ, र कुनै बासिन्दा नरहने गरी जनशून्य हुनेछच। 20 मिस्र अति सुन्दर कोरलीजस्तो छ; तर विनाशछ आउँदैछ; त्यो उत्तरबाट आउँदैछ। 21 अँ, त्यसका ज्यालादार सिपाहीहरूज त्यसको बीचमा पोसिएका बाछाजस्ता छन्; किनकि तिनीहरू पनि पछिल्तिर फर्के र एकसाथ भागे; तिनीहरू खड़ा रहेनन्, किनकि तिनीहरूमाथि तिनीहरूको विपत्तिको दिन र तिनीहरूको दण्डको समय आएको थियो। 22 त्यसको आवाज सर्पको जस्तै जानेछ; किनकि उनीहरू एउटा सेना भएर हिँड़्नेछन्, र दाउरा काट्नेहरूझैं उनीहरू बन्चराहरू लिएर त्यसको विरोधमा आउनेछन्। 23 चाहे त्यसको वन जति घनघोर किन नहोस्, उनीहरूले त्यसलाई काटेर ढाल्नेछन्, परमप्रभु भन्नुहुन्छ; किनभने उनीहरू सलहभन्दा ज्यादा छन्, अँ, उनीहरू अनगन्ती छन्। 24 मिस्रकी छोरी लज्जित हुनेछे; त्यो उत्तरका मानिसहरूको हातमा सुम्पिइनेछे। 25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: हेर, म नोकोझ भीड़, फाराओ र मिस्रलाई, अनि तिनीहरूका देवताहरू र तिनीहरूका राजाहरूलाई दण्ड दिनेछु, अँ, फाराओलाई र त्यसमाथि भरोसा गर्नेहरू सबैलाई; 26 अनि म तिनीहरूलाई तिनीहरूको प्राण लिन खोज्नेहरूको हातमा, बाबेलका राजा नबूकद्नेस्सरको हातमा र उसका कर्मचारीहरूको हातमा सुम्पिदिनेछु; अनि त्यसपछि पहिलेका दिनहरूमा झैं त्यस देशमा बसोबास गरिनेछ, परमप्रभु भन्नुहुन्छ।”
परमप्रभुले इस्राएललाई जोगाउनुहुनेछ
27 “तर हे मेरो दास याकूब, तँ नडरा! हे इस्राएल, हताश नहो; किनभने हेर्, म तँलाई टाढ़ोबाट र तेरो वंशलाई उनीहरूको कैदको देशबाट बचाउनेछु; अनि याकूब फर्कनेछ, र शान्त रहनेछ र ढुक्क भई बस्नेछ; अनि कसैले उसलाई भयभीत पार्नेछैन। 28 हे मेरो दास याकूब, तँ नडरा!, परमप्रभु भन्नुहुन्छ; किनकि म तेरो साथमा छु; किनकि जुन जातिहरूकहाँ मैले तँलाई धपाएको छु, ती सबै जातिहरूलाई म पूर्ण रूपले नाश पार्नेछु, तर म तँलाई पूर्ण रूपले नाश गर्नेछैनँ, तर तँलाई न्यायसङ्गत ताड़ना दिनेछु; तरै पनि तँलाई म बिलकुलै विनादण्ड त छोड़्नेछैनँ।”