मिस्र देशमा बस्‍ने यहूदीहरूलाई दण्ड दिइनेछ
44
मिस्र देशमा बस्‍ने अर्थात् मिग्दोल, तहपन्हेस र नोप, साथै पत्रोसको क्षेत्रमा बस्‍ने सबै यहूदीहरूको विषयमा यर्मियाकहाँ आएको वचन यही हो: 2 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले यरूशलेममाथि र यहूदाका सबै शहरहरूमाथि ल्याएको सबै विपत्ति तिमीहरूले देखेका छौ; अनि हेर, तिनीहरूको दुष्‍टताको कारणले आजको दिनमा ती उजाड़ छन्, र तिनमा कोही पनि बस्दैन; 3 यो तिनीहरूको त्यस दुष्‍टताको कारणले हो, जुन दुष्‍टता तिनीहरूले मेरो रिस उठाउनलाई अन्य देवताहरूलाई धूप बाल्न र पूजा गर्न गए, जुन देवताहरूलाई तिनीहरूले जानेकै थिएनन्, न तिनीहरूले, न तिमीहरूले, न तिमीहरूका पितापुर्खाहरूले नै। 4 तरै पनि सबेरै उठ्दै र पठाउँदै मैले मेरा सबै दासहरू, भविष्यवक्ताहरूलाई तिमीहरूकहाँ यसो भन्दै पठाएँ: ‘अहह! यस्तो घृणित काम नगर, जसलाई म घृणा गर्छु!’ 5 तर अन्य देवताहरूलाई धूप नबाल्ने गरी आफ्नो दुष्‍टताबाट फर्कनलाई तिनीहरूले न ध्यानसित सुने, न ता आफ्नो कान नै लगाए। 6 यसैकारण मेरो क्रोध र मेरो रिस खनियो, अनि यहूदाका शहरहरूमा र यरूशलेमका सड़कहरूमा दन्कियो; अनि ती बरबाद र उजाड़ भए, जस्तो आजको दिनमा छ। 7 यसकारण अब परमप्रभु, सेनाहरूका परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका निम्ति एउटै पनि नछोड़िने गरी तिमीहरूको बीचबाट अर्थात् यहूदाको बीचबाट पुरुष, स्त्री, बालबच्‍चा र दूध चुस्‍ने बच्‍चाहरू नाश गर्नलाई किन तिमीहरू आफ्नै प्राणको विरोधमा यस्तो ठूलो दुष्‍टता गर्छौ? 8 र किन आफ्ना हातहरूका कामहरूद्वारा अर्थात् मिस्र देशमा, जहाँ तिमीहरू बसोबास गर्न गएका छौ, अन्य देवताहरूलाई धूप बालेर तिमीहरू मेरो रिस उठाउँछौ? फलस्वरूप तिमीहरूले आफैलाई नाश गर्नेछौ, र पृथ्वीका सबै जातिहरूको बीचमा तिमीहरू श्राप र निन्दाको पात्र बन्‍नेछौ। 9 के तिमीहरूले तिमीहरूका पितापुर्खाहरूको दुष्‍टता, यहूदाका राजाहरूको दुष्‍टता, तिनीहरूका पत्‍नीहरूको दुष्‍टता, तिमीहरूको आफ्नो दुष्‍टता र तिमीहरूका पत्‍नीहरूको दुष्‍टता बिर्स्यौ, जुन दुष्‍टता तिनीहरूले यहूदा देशमा र यरूशलेमका सड़कहरूमा गरेका थिए? 10 तिनीहरू आजको दिनसम्म पनि नम्र भएका छैनन्; तिनीहरू न ता डराएका छन्, न मेरो व्यवस्थामा न मेरा विधिहरूमा हिँड़ेका छन्, जुन व्यवस्था र विधिहरू मैले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूको सामु राखें।
11 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, तिमीहरूका खराबीका निम्ति र सम्पूर्ण यहूदालाई नाश गर्नका निम्ति मैले आफ्नो अनुहार तिमीहरूको विरोधमा सुदृढ़ पारेको छु। 12 म यहूदाको बाँकी रहेकाहरूलाई लिनेछु, जसले मिस्र देशमा बसोबास गर्न भनी त्यहाँ जानलाई आफ्नो अनुहार दृढ़ पारेका छन्; अनि तिनीहरू सबै नष्‍ट हुनेछन्, मिस्र देशमा गिर्नेछन्; अँ, तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन्; तिनीहरू सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्मै तरवार र अनिकालले मर्नेछन्; अनि तिनीहरू अभिशाप, अत्यास, श्राप र निन्दाको पात्र बन्‍नेछन्। 13 किनकि जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र महामारीले दण्ड दिएँ, त्यसरी नै म मिस्रमा बस्‍नेहरूलाई दण्ड दिनेछु; 14 फलस्वरूप यहूदाका बाँकी रहेकाहरूमध्ये, अर्थात् मिस्र देशमा बसोबास गर्न भनी त्यहाँ गएकाहरूमध्ये कोही पनि यहूदा देशमा फर्कनका निम्ति उम्कनेछैन, न छोड़िनेछ – जुन देशमा, त्यहाँ बस्‍न भनी तिनीहरूले फर्कने लालसा गरेका हुन्छन्; किनकि थोरै उम्केकाहरूबाहेक कोही पनि फर्केर जानेछैन।”
15 तब सबै पुरुषहरूले, जसलाई तिनीहरूका पत्‍नीहरूले अन्य देवताहरूका निम्ति धूप बालिरहेका छन् भन्‍ने कुरा थाहा थियो, र त्यहाँ उभिरहेका सबै स्त्रीहरूले – एउटा ठूलो जमात, अँ, मिस्र देशको पत्रोसमा बस्‍ने सबै मानिसहरूले यर्मियालाई यसो भन्दै जवाफ दिए: 16 “जुन वचन तिमीले हामीलाई परमप्रभुको नाममा बतायौ, त्यस वचनको विषयमा हामी तिम्रो कुरा सुन्‍नेछैनौं। 17 तर हाम्रै मुखबाट निस्केको हरेक कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् हामी स्वर्गकी रानीका निम्ति धूप बाल्नेछौं, र उनलाई अर्घबलिहरू चढ़ाउनेछौं, जसरी हामीले, अँ, हामीले, हाम्रा पितापुर्खाहरूले, हाम्रा राजाहरूले र हाम्रा शासकहरूले यहूदाका शहरहरूमा र यरूशलेमका सड़कहरूमा चढ़ाउँथ्यौं; किनकि त्यति बेला हामीसँग प्रशस्त खानेकुरा थियो, हामी भला-कुशल थियौं, र हामीले कुनै विपत्ति देखेनौं। 18 तर हामीले स्वर्गकी रानीका निम्ति धूप बाल्न र उनलाई अर्घबलिहरू चढ़ाउन छोड़ेको समयदेखि हामीलाई सबै कुराको घटी भएको छ, अनि हामी तरवार र अनिकालले नष्‍ट भएका छौं। 19 अनि जब हामीले स्वर्गकी रानीका निम्ति धूप बाल्थ्यौं र उनलाई अर्घबलिहरू चढ़ाउँथ्यौं, तब के हाम्रा पतिहरूविनै हामीले उनलाई दण्‍डवत्‌ गर्नलाई उनका निम्ति फुरौलाहरू बनाउँथ्यौं र उनलाई अर्घबलिहरू चढ़ाउँथ्यौं र?”
20 तब यर्मियाले सबै मानिसहरूलाई अर्थात् पुरुषहरू, स्त्रीहरू र उनलाई त्यस्तो जवाफ दिने सबै मानिसहरूलाई यसो भने: 21 “जुन धूप तिमीहरूले, अँ, तिमीहरूले, तिमीहरूका पितापुर्खाहरूले, तिमीहरूका राजाहरूले, तिमीहरूका शासकहरूले र देशका मानिसहरूले यहूदाका शहरहरूमा र यरूशलेमका सड़कहरूमा बाल्थ्यौ, के परमप्रभुले तिनीहरूको सम्झना गर्नुभएन र? अनि के यो कुरा उहाँको मनमा आएन र? 22 यसैले तिमीहरूका कामहरूको दुष्‍टताले गर्दा र तिमीहरूले गरेका घृणित कामकुराहरूले गर्दा परमप्रभुले अरू बढ़ी सहन सक्नुभएन; यसैकारण तिमीहरूको देश कुनै बासिन्दा नरहने गरी उजाड़ छ, एउटा अत्यास र श्रापको पात्र भएको छ, जस्तो आजको दिनमा छ। 23 तिमीहरूले धूप बालेका छौ, तिमीहरूले परमप्रभुको विरोधमा पाप गरेका छौ, तिमीहरूले उहाँको वाणी पालन गरेका छैनौ, न ता उहाँको व्यवस्थामा, न उहाँका विधिहरूमा, न उहाँका साक्षी-वचनहरूमा तिमीहरू हिँड़ेका छौ; यसैकारण यो विपत्ति तिमीहरूमाथि आइपर्‍यो, जस्तो आजको दिनमा छ।”
24 अनि यर्मियाले सबै मानिसहरूलाई र सबै स्त्रीहरूलाई भने: “हे मिस्र देशमा बस्‍ने सारा यहूदाहो, परमप्रभुको वचन सुन! 25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हामी आफ्ना भाकलहरू निश्‍चय पूरा गर्नेछौं, जुन भाकलहरू हामीले स्वर्गकी रानीका निम्ति धूप बाल्ने र उनलाई अर्घबलिहरू चढ़ाउने विषयमा भाकेका छौं भन्दै तिमीहरूले र तिमीहरूका पत्‍नीहरूले आफ्ना मुखहरूले बोलेका पनि छौ र आफ्ना हातहरूले पूरा गरेका पनि छौ; तिमीहरूले आफ्ना भाकलहरू अवश्य कायम राख्‍ने नै छौ र आफ्ना भाकलहरू अवश्य पूरा गर्ने नै छौ। 26 यसैकारण हे मिस्र देशमा बस्‍ने सारा यहूदाहो, परमप्रभुको वचन सुन! हेर, मैले आफ्नो महान् नाममा शपथ खाएको छु, परमप्रभु भन्‍नुहुन्छ, सारा मिस्र देशभरि नै यहूदाको कुनै पनि मानिसको मुखमा फेरि कहिल्यै ‘प्रभु येहोवाको जीवनको शपथ!’ भन्दै मेरो नाम लिइनेछैन नै। 27 हेर, भलाइका निम्ति होइन, तर खराबीका निम्ति म तिनीहरूप्रति जागा रहनेछु; अनि मिस्र देशमा भएका यहूदाका सबै मानिसहरू, तिनीहरूको अन्त नहुन्जेल तरवार र अनिकालले नष्‍ट हुनेछन्। 28 तरै पनि तरवारबाट उम्कने थोरै मानिसहरू मिस्र देशबाट यहूदा देशमा फर्कनेछन्; अनि यहूदाका सबै बाँकी रहेकाहरूले, जो मिस्र देशमा, त्यहाँ बसोबास गर्न भनी गएका छन्, कसको वचन, मेरो कि तिनीहरूको पूरा भएछ, सो जान्‍नेछन्? 29 अनि परमप्रभु भन्‍नुहुन्छ: तिमीहरूका निम्ति चिन्ह यो हुनेछ; किनकि म तिमीहरूलाई यही ठाउँमा दण्ड दिनेछु, फलस्वरूप मेरा वचनहरू तिमीहरूको विरोधमा खराबीका निम्ति अवश्य पूरा हुनेछन् भनी तिमीहरूले जान्‍न सक। 30 परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, जसरी मैले यहूदाको राजा सिद्कियाहलाई उसको शत्रु बाबेलका राजा नबूकद्‌नेस्‍सरको हातमा सुम्पिदिएँ, जसले उसको प्राण लिन खोजिरहेको थियो; त्यसरी नै म मिस्रको राजा फाराओ-होप्रालाई त्यसका शत्रुहरूको हातमा र त्यसको प्राण लिन खोज्‍नेहरूको हातमा सुम्पिदिनेछु।”