यर्मिया पनि बचेकाहरूसँग मिस्र देशमा गए
43
अनि यस्तो भयो: जुन वचनहरूका निम्ति परमप्रभु तिनीहरूका परमेश्‍वरले यर्मियालाई तिनीहरूकहाँ पठाउनुभएको थियो, जब उनले परमप्रभु तिनीहरूका परमेश्‍वरका सबै वचनहरू, अँ, यी सबै वचनहरू सबै मानिसहरूलाई भनिसिद्ध्याए, 2 तब होशायाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै घमण्डी मानिसहरूले यर्मियालाई यसो भने: “तिमी झूट बोल्दैछौ; परमप्रभु हाम्रा परमेश्‍वरले तिमीलाई ‘मिस्रमा बसोबास गर्नलाई त्यहाँ नजानू’ भन्‍न पठाउनुभएको होइन; 3 तर कल्दीहरूले हामीलाई मारून्, र हामीलाई कैदी बनाएर बाबेलमा लैजाऊन् भनेर हामीलाई तिनीहरूको हातमा सुम्पने हेतुले नेरियाहको छोरा बारूकले तिमीलाई हाम्रो विरोधमा उस्काएको हो।”
4 यसकारण कारेहका छोरा योहानान, सबै सेनापतिहरू र सबै मानिसहरूले ‘यहूदा देशमै बस्‍नू’ भन्‍ने परमप्रभुको वाणी पालन गरेनन्। 5 तर कारेहका छोरा योहानान र सबै सेनापतिहरूले यहूदाका सबै बाँकी रहेकाहरूलाई लिएर गए, जो सबै जातिहरूबाट, जहाँ तिनीहरू धपाइएका थिए, यहूदा देशमा बसोबास गर्नलाई फर्केर आएका थिए; 6 अर्थात् पुरुषहरू, स्त्रीहरू, बालबच्‍चाहरू र राजाका छोरीहरू, साथै अङ्गरक्षकहरूका कप्‍तान नबूजर-अदानले शापानका नाति, अहिकामका छोरा गदल्याहसित छोड़िराखेका सबै मानिसहरू, भविष्यवक्ता यर्मिया र नेरियाहका छोरा बारूकलाई पनि लिएर गए। 7 तब तिनीहरू मिस्र देशभित्र आइपुगे; किनकि तिनीहरूले परमप्रभुको वाणी पालन गरेनन्; यसरी तिनीहरू तहपन्हेससम्म पुगे।
मिस्र देश पनि नाश हुनेछ भन्‍ने परमप्रभुको वाणी
8 तब तहपन्हेसमा परमप्रभुको यसो भन्‍ने वचन यर्मियाकहाँ आयो: 9 “आफ्नो हातमा ठूला-ठूला ढुङ्गाहरू लेऊ, र यहूदाका मानिसहरूका आँखाको सामु ती ढुङ्गाहरू तहपन्हेसमा, फाराओको भवनको प्रवेशद्वारनिर भएको इँटाको भट्टीमा चिम्टे माटोमा लुकाऊ; 10 र तिनीहरूलाई भन: सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘हेर, म पठाउनेछु, र मेरो दास, बाबेलका राजा नबूकद्‌नेस्‍सरलाई ल्याउनेछु, र मैले लुकाइराखेका यी ढुङ्गाहरूमाथि नै उसको सिंहासन बसाल्नेछु; अनि उसले आफ्नो राजमण्डप तीमाथि फैलाउनेछ। 11 अनि जब ऊ आउँछ, तब उसले मिस्र देशलाई प्रहार गर्नेछ र मृत्युका निम्ति ठहराइएकाहरूलाई मृत्युका निम्ति, कैदका निम्ति ठहराइएकाहरूलाई कैदका निम्ति र तरवारका निम्ति ठहराइएकाहरूलाई तरवारका निम्ति सुम्पिदिनेछ। 12 अनि मिस्रका देवताहरूका मन्दिरहरूमा म आगो लगाउनेछु; अनि उसले तिनलाई जलाइदिनेछ र तिनीहरूलाई कैदी बनाएर लैजानेछ; अनि जसरी गोठालाले आफूलाई आफ्नो वस्त्रले ढाक्छ, त्यसरी नै उसले आफूलाई मिस्र देशले पहिराउनेछ; अनि ऊ त्यहाँबाट शान्तिसित निस्केर जानेछ। 13 अनि उसले मिस्र देशमा भएको बेत-शेमेशका मूर्तिहरू टुक्रा-टुक्रा पारिदिनेछ र मिस्रीहरूका देवताहरूका मन्दिरहरू आगोले जलाइदिनेछ।”