बचेकाहरूलाई मिस्रमा नजानू भनी परमेश्‍वरको आज्ञा
42
अनि सबै सेनापतिहरू, कारेहका छोरा योहानान, होशायाहका छोरा याजन्याह र सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्मका सबै मानिसहरू नजिक आए; 2 अनि तिनीहरूले भविष्यवक्ता यर्मियालाई भने: “हामी तिमीलाई विन्‍ती गर्छौं, हाम्रो विन्‍ती-विनय तिम्रो सामु ग्रहण गरियोस्, र हाम्रा निम्ति अर्थात् यो बाँकी रहेको सारा भागका निम्ति परमप्रभु तिम्रा परमेश्‍वरलाई प्रार्थना गरिदेऊ! (किनकि धेरैबाट हामी थोरै मात्र बाँकी रहेका छौं, जस्तो तिम्रा आँखाहरूले हामीलाई देख्दैछन्); 3 र परमप्रभु तिम्रा परमेश्‍वरले हामीलाई हामीले हिँड़्नुपर्ने बाटो र हामीले गर्नुपर्ने कामकुरा बताइदिऊन्!” 4 तब भविष्यवक्ता यर्मियाले तिनीहरूलाई भने: “मैले तिमीहरूको कुरा सुनें; हेर, तिमीहरूका वचनहरूअनुसार नै म परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रार्थना गर्नेछु; अनि यस्तो हुनेछ: परमप्रभुले जे कुरा तिमीहरूलाई जवाफ दिनुहुन्छ, सो म तिमीहरूलाई बताउनेछु; म तिमीहरूबाट कुनै कुरा रोकिराख्‍नेछैनँ।” 5 तब तिनीहरूले यर्मियालाई भने: “जुन कुराहरूका निम्ति परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई हामीकहाँ पठाउनुहुनेछ, यदि हामीले ती सबै कुराहरूअनुसार गरेनौं भने परमप्रभु नै हाम्रो बीचमा सत्य र विश्‍वासयोग्य साक्षी होऊन्! 6 चाहे त्यो भलो होस्, चाहे त्यो खराब – हामी परमप्रभु हाम्रा परमेश्‍वरको वाणी पालन गर्ने नै छौं, जसकहाँ हामी तिमीलाई पठाउँदैछौ; यस हेतुले कि जब हामी परमप्रभु हाम्रा परमेश्‍वरको वाणी पालन गर्दछौं, तब हाम्रो भलो होस्।”
7 अनि दस दिनपछि यस्तो भयो: परमप्रभुको वचन यर्मियाकहाँ आयो। 8 तब तिनले कारेहका छोरा योहानानलाई र तिनीसित भएका सबै सेनापतिहरूलाई, साथै सबभन्दा सानादेखि लिएर सबभन्दा ठूलासम्मका सबै मानिसहरूलाई बोलाए, 9 र तिनीहरूलाई भने: “परमप्रभु इस्राएलका परमेश्‍वर, जसकहाँ तिमीहरूले मलाई उहाँको सामु तिमीहरूको विन्‍ती-विनय चढ़ाउन पठायौ, उहाँ यसो भन्‍नुहुन्छ: 10 यस देशमा तिमीहरू अझै पनि बसिरह्‍यौ भने म तिमीहरूलाई बनाउनेछु, ढालिदिनेछैनँ; अनि म तिमीहरूलाई रोप्‍नेछु, उखाल्नेछैनँ; किनकि जुन खराबी मैले तिमीहरूसित गरें, त्यसबाट म मन फर्काउनेछु। 11 बाबेलका राजासँग नडराओ, जससँग तिमीहरू डराइरहेका छौ; उससँग नडराओ, परमप्रभु भन्‍नुहुन्छ; किनभने तिमीहरूलाई बचाउन म तिमीहरूको साथमा छु, र तिमीहरूलाई उसको हातबाट छुटाउनेछु। 12 अनि उसले तिमीहरूमाथि दया राखोस् र तिमीहरूलाई तिमीहरूको देशमा फर्कन लाओस् भनेर म तिमीहरूलाई कोमल कृपाहरू देखाउनेछु। 13 तर परमप्रभु तिमीहरूका परमेश्‍वरको वाणी पालन नगरेर तिमीहरूले ‘हामी यस देशमा बस्‍नेछैनौं; 14 अहँ, हामी त मिस्र देशमा जानेछौं, अनि हामी त्यहीं बस्‍नेछौं; जहाँ हामीले लड़ाइँ देख्‍नेछैनौं, न ता तुरहीको आवाज नै सुन्‍नेछौं, न ता रोटी नहुनाले भोकै रहनेछौं’ भन्यौ भने, 15 अनि यही कारणले हे यहूदाका बाँकी रहेकाहरूहो, परमप्रभुको वचन सुन! सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: यदि तिमीहरूले मिस्रमा पस्‍नलाई आफ्नो अनुहार पूरा दृढ़ पार्‍यौ, र त्यहाँ बसोबास गर्न गयौ भने, 16 तब यस्तो हुनेछ: जुन तरवारसँग तिमीहरू डराइरहेका छौ, त्यही तरवारले तिमीहरूलाई त्यहाँ, मिस्र देशमा फेला पार्नेछ, र जुन अनिकालसँग तिमीहरू भयभीत हुन्छौ, त्यही त्यहाँ, मिस्र देशमा तिमीहरूको पछि-पछि टाँसिँदै आउनेछ, अनि त्यहाँ तिमीहरू मर्नेछौ। 17 अँ, ती सबै मानिसहरूलाई त्यस्तै हुनेछ, जसले मिस्रमा, त्यहाँ बसोबास गर्न भनी जानलाई आफ्नो अनुहार दृढ़ पारेका छन्; तिनीहरू तरवार, अनिकाल र महामारीले मर्नेछन्; अनि जुन विपत्ति म तिनीहरूमाथि ल्याउनेछु, त्यसबाट तिनीहरूमध्ये कोही पनि छोड़िनेछैन र उम्कनेछैन।
18 किनकि सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: जसरी यरूशलेमका बासिन्दाहरूमाथि मेरो रिस र मेरो क्रोध खनिएको छ, त्यसरी नै, जब तिमीहरू मिस्र देशमा पस्दछौ, तब मेरो क्रोध तिमीहरूमाथि खनिनेछ; अनि तिमीहरू अभिसाप, अत्यास, श्राप र निन्दाको पात्र बन्‍नेछौ; अनि तिमीहरूले यो ठाउँ फेरि कहिल्यै देख्‍नेछैनौ। 19 हे यहूदाका बाँकी रहेकाहरूहो, परमप्रभुले तिमीहरूको विषयमा भन्‍नुभएको छ: मिस्र देशमा नजाओ; पक्‍का गरी जानिराख, आज मैले तिमीहरूलाई चेताउनी दिएको छु। 20 किनकि जब ‘हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्‍वरलाई प्रार्थना गरिदेऊ, अनि परमप्रभु हाम्रा परमेश्‍वरले भन्‍नुभएको सबै कुराअनुसार नै हामीलाई बताऊ, र हामी त्यो गर्नेछौं’ भन्दै तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ पठायौ, तब तिमीहरूले आफ्नै प्राणको विरोधमा आफूलाई धोका दियौ। 21 अनि आज मैले तिमीहरूलाई यो बताइदिएको छु; तर तिमीहरूले न परमप्रभु आफ्ना परमेश्‍वरको वाणी, न अरू कुनै कुरा नै मानेका छौ, जसका निम्ति उहाँले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ। 22 यसकारण अब पक्‍का गरी यो जानिराख: जुन ठाउँमा त्यहाँ बसोबास गर्न भनी जानलाई तिमीहरू चाहना गर्छौ, त्यहाँ तिमीहरू तरवार, अनिकाल र महामारीले मर्नेछौ।”