राज्यपाल गदल्याहको हत्या
41
अनि सातौं महिनामा यस्तो भयो: एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राजवंशका र राजाका मुख्य शासकहरूमध्ये एक थिए, आफ्नो साथमा दसजना मानिसहरू लिएर मिस्पामा अहिकामका छोरा गदल्याहकहाँ आए; अनि त्यहाँ तिनीहरूले मिस्पामा सँगै रोटी खाए। 2 अनि नतन्याहका छोरा इश्माएल र उनको साथमा भएका दसजना मानिसहरू उठे, र शापानका नाति, अहिकामका छोरा गदल्याहलाई तरवारले हिर्काएर तिनको हत्या गरे, जसलाई बाबेलका राजाले त्यस देशका राज्यपालको रूपमा नियुक्त गरेका थिए। 3 अनि इश्माएलले तिनीसित अर्थात् मिस्पामा गदल्याहसित भएका सबै यहूदीहरूलाई, त्यहाँ भेट्टाइएका कल्दीहरूलाई र योद्धाहरूलाई मारे।
4 अनि उनले गदल्याहलाई मारेको दोस्रो दिनमा यस्तो भयो: अनि कसैले यो थाहा पाएन – 5 शेकेमबाट, शीलोबाट र सामरियाबाट केही मानिसहरू, अँ, अस्सी मानिसहरू दाह्रीहरू खौरिएको, लुगाहरू च्यातिएको र आफैलाई चरचर काटेको अवस्थामा, अनि परमप्रभुको भवनमा पुर्‍याउनलाई आफ्नो हातमा भेटी र धूप लिएर आए। 6 अनि नतन्याहका छोरा इश्माएल तिनीहरूलाई भेट्न मिस्पाबाट निस्के, र जाँदाखेरि रुँदै-रुँदै गए; अनि यस्तो भयो: जब उनले तिनीहरूलाई भेटे, तब उनले तिनीहरूलाई भने: “अहिकामको छोरा गदल्याहकहाँ आओ!” 7 अनि यस्तो भयो: जब तिनीहरू शहरको बीचमा आइपुगे, तब नतन्याहका छोरा इश्माएलले – उनले र उनीसँग भएका मानिसहरूले तिनीहरूलाई मारे र एउटा खाड़लभित्र फालिदिए। 8 तर तिनीहरूमध्ये दसजना मानिसहरू भेट्टाइए, जसले इश्माएललाई भने: “हामीलाई नमार्नुहोस्; किनकि हामीसित खेतबारीमा गहुँ, जौ, तेल र महका लुकाइराखेका धनहरू छन्।” यसकारण उनले छोड़िदिए र तिनीहरूलाई तिनीहरूका दाजुभाइहरूको साथमा मारेनन्। 9 अनि जुन खाड़लभित्र इश्माएलले गदल्याहको कारणले मारिएका मानिसका सबै लासहरू फालेका थिए, त्यो खाड़लचाहिँ राजा आसाले इस्राएलका राजा बाशाको डरले गर्दा बनाएका थिए; अनि त्यसलाई नतन्याहका छोरा इश्माएलले मारिएका मानिसहरूले भरिदिए। 10 तब मिस्पामा भएका मानिसहरूको सारा बाँकी रहेको भागलाई अर्थात् राजाका छोरीहरूलाई र मिस्पामा रहेका सबै मानिसहरूलाई इश्माएलले कैद गरेर लगे, जसलाई अङ्गरक्षकहरूका कप्‍तान नबूजर-अदानले अहिकामका छोरा गदल्याहको हातमा सुम्पेका थिए; अनि नतन्याहका छोरा इश्माएलले उनीहरूलाई कैद गरेर लगे, र पारि अम्मोनीहरूकहाँ जानलाई हिँड़े।
11 तर जब कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनापतिहरूले नतन्याहका छोरा इश्माएलले गरेको सबै दुष्‍टताको विषयमा सुने, 12 तब सबै मानिसहरूलाई लिएर तिनीहरू नतन्याहका छोरा इश्माएलसँग लड़ाइँ गर्न हिँड़े; अनि तिनीहरूले उनलाई गिबोनमा भएको ठूलो तलाउनिर भेट्टाए। 13 अनि यस्तो भयो: जब इश्माएलसँग भएका सबै मानिसहरूले कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनापतिहरूलाई देखे, तब उनीहरू आनन्दित भए। 14 तब इश्माएलले मिस्पाबाट कैद गरेर ल्याएका ती सबै मानिसहरू फरक्‍क फर्के र कारेहका छोरा योहानानकहाँ गए। 15 तर नतन्याहका छोरा इश्माएलचाहिँ आठजना मानिसहरूसित योहानानको हातबाट उम्के र अम्मोनीहरूकहाँ गए।
16 तब कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनापतिहरूले मिस्पाबाट लगिएका मानिसहरूको सबै बाँकी रहेको भागलाई लगे, जसलाई, नतन्याहका छोरा इश्माएलले अहिकामका छोरा गदल्याहलाई मारेपछि, तिनले इश्माएलको हातबाट छुटाएका थिए, अर्थात् तिनले गिबोनबाट फर्काएर ल्याएका ती सामर्थी योद्धाहरू, स्त्रीहरू, बालबच्‍चाहरू र नपुंसकहरूलाई लगे। 17 अनि तिनीहरू हिँड़े; अनि कल्दीहरूको कारणले मिस्र देशमा पस्‍न भनी तिनीहरू किम्हामको वासस्थानमा बसे, जो बेतलेहेमको नजिकमा थियो; 18 किनकि तिनीहरू उनीहरूसँग डराएका थिए; किनभने नतन्याहका छोरा इश्माएलले अहिकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बाबेलका राजाले त्यस देशमा राज्यपालको रूपमा नियुक्त गरेका थिए।