यर्मियाको छुटकारा
40
अङ्गरक्षकहरूका कप्‍तान नबूजर-अदानले यर्मियालाई रामाबाट जान दिएपछि परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यो हो। त्यस बेला तिनले यर्मियालाई लगेका थिए, जो साङ्‌लाहरूले बाँधिएको अवस्थामा यरूशलेम र यहूदाका ती सबै कैदीहरूको बीचमा थिए, जो कैदी भएर बाबेलमा लगिँदैथिए। 2 अनि अङ्गरक्षकहरूका कप्‍तानले यर्मियालाई लिए, र उनलाई भने: “परमप्रभु तिम्रा परमेश्‍वरले यस ठाउँमाथि यो विपत्ति ल्याउने कुरा गर्नुभएकै हो। 3 अनि परमप्रभुले यो कुरा ल्याउनुभएको छ र आफूले भन्‍नुभएझैं गर्नुभएको छ; किनकि तिमीहरूले परमप्रभुको विरोधमा पाप गरेका छौ र उहाँको वाणी मानेका छैनौ; यसैले यो कुरा तिमीहरूमाथि आइपरेको हो। 4 अनि अब हेर, तिम्रो हातमा भएका यी साङ्‌लाहरूबाट आज म तिमीलाई छोड़िदिन्छु। मसित बाबेलमा आउन तिमीलाई असल लाग्छ भने आऊ, र म तिमीमाथि कृपादृष्‍टि राख्‍नेछु; तर मसित बाबेलमा आउन तिमीलाई खराब लाग्छ भने छोड़िदेऊ! हेर, सारा देश तिम्रो सामु छ; जहाँ जान तिमीलाई असल र ठीक लाग्छ, त्यहीं जाऊ!” 5 अनि उनी अझ फर्केर गएका थिएनन्; तब तिनले भने: “अँ, शापानको नाति, अहिकामको छोरा गदल्याहकहाँ फर्केर जाऊ, जसलाई बाबेलका राजाले यहूदाका शहरहरूमाथि राज्यपाल तुल्याउनुभएको छ, र तिनीसित मानिसहरूको बीचमा बस! अथवा तिमीलाई जहाँ पनि जान ठीक लाग्छ, त्यहीं जाऊ!” तब अङ्गरक्षकहरूका कप्‍तानले तिनलाई खानेकुरा र एउटा उपहार दिए, अनि तिनलाई जान दिए। 6 तब यर्मिया मिस्पामा अहिकामका छोरा गदल्याहकहाँ गए, र देशमा छोड़िएका मानिसहरूको बीचमा तिनीसित बस्‍न लागे।
बाबेलका राजाले गदल्याहलाई राज्यपाल नियुक्त गरे
7 अनि बाबेलका राजाले अहिकामका छोरा गदल्याहलाई देशमा राज्यपाल नियुक्त गरेका छन्, अनि कैदी भएर बाबेलमा नलगिएकाहरूबाट पुरुषहरू, स्त्रीहरू र बालबच्‍चाहरू, अनि देशका गरिबहरूमध्ये कतिजना तिनैको हातमा सुम्पिइएका छन् भनेर जब मैदानहुँदो भएका सबै सेनापतिहरूले – उनीहरू र उनीहरूका मानिसहरूले सुने, 8 तब उनीहरू अर्थात् नतन्याहका छोरा इश्माएल, कारेहका छोराहरू योहानान र योनातान, तन्हुमेतका छोरा सरायाह, नतोपाती एपैका छोराहरू, माकातीका छोरा याजन्याह – उनीहरू र उनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए। 9 अनि शापानका नाति, अहिकामका छोरा गदल्याहले उनीहरू र उनीहरूका मानिसहरूसँग शपथ खाएर भने: “कल्दीहरूको सेवा गर्न नडराओ! देशमा बसेर बाबेलका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ। 10 मचाहिँ – हेर, कल्दीहरूको सेवा गर्न म मिस्पामा बस्‍नेछु, जुन कल्दीहरू हामीकहाँ आउनेछन्; तर तिमीहरूले चाहिँ दाखमद्य, ग्रीष्म ऋतुका फलहरू र तेल बटुल, अनि आफ्ना भाँड़ाहरूमा राख, र आफूले ओगटेका शहरहरूमा बस!” 11 त्यसरी नै बाबेलका राजाले यहूदाका बाँकी रहेकाहरूलाई छोड़िराखेका छन् र तिनीहरूमाथि शापानका नाति, अहिकामका छोरा गदल्याहलाई राज्यपालको रूपमा नियुक्त गरेका छन् भनी जब मोआबमा, अम्मोनीहरूको बीचमा, एदोममा र अन्य सबै देशहरूमा भएका सबै यहूदीहरूले सुने; 12 तब जहाँ-जहाँ ती यहूदीहरू धपाइएका थिए, ती सबै ठाउँबाट सबै यहूदीहरू फर्के, र यहूदा देशमा, मिस्पामा गदल्याहकहाँ आए, अनि तिनीहरूले प्रशस्त गरी दाखमद्य र ग्रीष्म ऋतुका फलहरू बटुले।
13 अनि कारेहका छोरा योहानान र मैदानहुँदो भएका सबै सेनापतिहरू मिस्पामा गदल्याहकहाँ आए; 14 अनि उनीहरूले तिनलाई भने: “अम्मोनीहरूको राजा बालीसले नतन्याहको छोरा इश्माएललाई तपाईंको हत्या गर्न पठाएको छ भनी के तपाईंलाई पक्‍का थाहा छ?” तर अहिकामका छोरा गदल्याहले उनीहरूको कुरा विश्‍वास गरेनन्। 15 तब कारेहका छोरा योहानानले मिस्पामा गदल्याहलाई गुप्‍तमा यसो भने: “म तपाईंलाई विन्‍ती गर्छु, म जान पाऊँ, र म नतन्याहको छोरा इश्माएललाई मार्नेछु, अनि कसैले यो थाहा पाउनेछैन; त्यसले तपाईंलाई किन मारोस्, र तपाईंकहाँ भेला भएका सबै यहूदीहरू तितरबितर होऊन्, र यहूदाका बाँकी रहेकाहरू नष्‍ट होऊन्?” 16 तर अहिकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने: “तिमीले यो काम नगर्नू; किनकि तिमीले इश्माएलको विषयमा झूट बोल्दैछौ।”