यर्मिया दलदले खाड़लबाट निकालिए
38
अनि मत्तानका छोरा शपत्याह, पश्हूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यूकल र मल्कीयाहका छोरा पश्हूरले ती वचनहरू सुने, जुन वचनहरू यर्मियाले यसो भन्दै सबै मानिसहरूलाई भनिरहेका थिए: 2 “परमप्रभु यसो भन्‍नुहुन्छ: जो यस शहरमा रहन्छ, त्यो तरवार, अनिकाल र महामारीले मर्नेछ; तर जो निस्केर कल्दीहरूकहाँ जान्छ, त्यो बाँच्‍नेछ; किनकि त्यसको प्राण नै त्यसको इनाम हुनेछ, र बाँच्‍नेछ। 3 परमप्रभु यसो भन्‍नुहुन्छ, निश्‍चय यो शहर बाबेलका राजाको सेनाको हातमा दिइनेछ, जसले यसलाई कब्जा गर्नेछ।” 4 यसकारण ती शासकहरूले राजालाई भने: “हामी तपाईंलाई विन्‍ती गर्दछौं, यो मान्छे मारियोस्; किनकि यस प्रकारले यसले तिनीहरूलाई यस्ता वचनहरू भनीकन यस शहरमा रहेका योद्धाहरूका हातहरू र सबै मानिसहरूका हातहरू लुला पारिदिँदैछ; किनकि यस मान्छेले यस प्रजाको भलाइ होइन, तर हानि खोज्दैछ।” 5 तब राजा सिद्कियाहले भने: “हेर, त्यो त तिमीहरूकै हातमा छ; किनकि तिमीहरूको विरोधमा राजा कुनै कुरा गर्न नसक्ने भएको छ।” 6 तब उनीहरूले यर्मियालाई लगे र उनलाई हम्मेलेकका छोरा मल्कीयाहको खाड़लमा फालिदिए, जुन खाड़ल झ्यालखानाको चोकमा थियो; अनि उनीहरूले यर्मियालाई डोरीहरूद्वारा तल ओरालिदिए। अनि त्यस खाड़लमा पानी थिएन, हिलो मात्र थियो; यसैले यर्मिया हिलोमा भासिए।
7 अनि जब अफिसरहरूमध्ये एकजनाले अर्थात् राजाको भवनमा रहने कूशी एबेद-मेलेकले, उनीहरूले यर्मियालाई खाड़लमा हालेका छन् भन्‍ने कुरा सुने; (त्यस बेला राजा बिन्यामीनको मूलढोकामा बसिरहेका थिए); 8 तब एबेद-मेलेक राजाको भवनबाट निस्केर गए, र यसो भन्दै राजासँग कुरा गरे: 9 “हे मेरा मालिक राजा, यी मानिसहरूले भविष्यवक्ता यर्मियालाई जे-जे गरे, ती सबैमा यिनीहरूले दुष्‍ट काम गरेका छन्; उनलाई तिनीहरूले खाड़लमा फालेका छन्; अनि जुन ठाउँमा उनी छन्, त्यस ठाउँमा उनी भोकले मर्नेछन्; किनकि शहरमा अब कुनै रोटी छैन।” 10 तब राजाले कूशी एबेद-मेलेकलाई यसो भन्दै आज्ञा गरे: “यहाँबाट आफ्नो साथमा तीसजना मानिसहरू लैजाऊ र भविष्यवक्ता यर्मियालाई तिनी मर्नुभन्दा पहिल्यै त्यस खाड़लबाट निकाल!” 11 तब एबेद-मेलेक आफ्नो साथमा ती मानिसहरू लिएर राजाको भवनमा, भण्डारमुनि गए, अनि त्यहाँबाट तिनले फाटेका लुगाका टुक्राहरू र थोत्रा थाङ्नाहरू लिए, र तिनलाई डोरीहरूद्वारा तल त्यस खाड़लमा यर्मियाकहाँ झारिदिए। 12 अनि कूशी एबेद-मेलेकले यर्मियालाई भने: “म विन्‍ती गर्छु, यी फाटेका लुगाका टुक्रा र थाङ्नाहरू तपाईंका काखीहरूमुनि, डोरीहरूमुनि राख्‍नुहोस्!” अनि यर्मियाले त्यस्तै गरे। 13 यसरी तिनीहरूले यर्मियालाई डोरीहरूले माथि ताने र उनलाई त्यस खाड़लबाट बाहिर निकाले; अनि यर्मिया झ्यालखानाको चोकमा रहन थाले।
14 तब राजा सिद्कियाहले पठाए, र भविष्यवक्ता यर्मियालाई परमप्रभुको भवनमा भएको तेस्रो प्रवेशद्वारमा आफूकहाँ ल्याए; अनि राजाले यर्मियालाई भने: “म तिमीलाई एउटा कुरा सोध्‍नेछु; मबाट कुनै कुरा नलुकाऊ!” 15 तब यर्मियाले सिद्कियाहलाई भने: “मैले तपाईंलाई त्यो बताएँ भने के तपाईंले मलाई निश्‍चय मार्नुहुन्‍न? अनि मैले तपाईंलाई सल्‍लाह दिएँ भने तपाईंले मेरो कुरा सुन्‍नुहुनेछैन।” 16 तब राजा सिद्कियाहले गुप्‍तमा यर्मियासँग यसो भन्दै शपथ खाए: “परमप्रभुको जीवनको शपथ, जसले हाम्रा निम्ति यो प्राण बनाउनुभयो: म तिमीलाई मार्नेछैनँ नै, न ता तिमीलाई तिम्रो प्राण लिन खोज्‍ने यी मानिसहरूको हातमा सुम्पिने नै छु।” 17 तब यर्मियाले सिद्कियाहलाई भने: “परमप्रभु सेनाहरूका परमेश्‍वर, इस्राएलका परमेश्‍वरले यसो भन्‍नुहुन्छ: ‘तँ साँच्‍चै बाबेलका राजाका शासकहरूकहाँ निस्केर गइस् भने तेरो प्राण बाँच्‍नेछ, र यो शहर आगोले जलाइनेछैन; अनि तँ बाँच्‍नेछस्, र तेरो घराना पनि; 18 तर तँ बाबेलका राजाका शासकहरूकहाँ निस्केर गइनस् भने यो शहर कल्दीहरूको हातमा दिइनेछ, अनि तिनीहरूले यसलाई आगोले जलाउनेछन्, र तँ तिनीहरूको हातबाट उम्किनेछैनस्।’ ” 19 तब राजा सिद्कियाहले यर्मियालाई भने: “कल्दीहरूकहाँ शरण लिएका यहूदीहरूसँग मलाई डर लागिरहेको छ; कहीं तिनीहरूले मलाई यिनीहरूको हातमा सुम्पिदेलान्, र यिनीहरूले मलाई अपकार गर्लान् कि?” 20 तर यर्मियाले भने: “तिनीहरूले तपाईंलाई सुम्पिनेछैनन्। म तपाईंलाई विन्‍ती गर्छु, परमप्रभुको कुरा मान्‍नुहोस्, जुन कुरा म तपाईंलाई भन्दैछु; अनि तपाईंको भलो हुनेछ, र तपाईंको प्राण बाँच्‍नेछ। 21 तर निस्केर जान तपाईंले इन्कार गर्नुभयो भने परमप्रभुले मलाई देखाउनुभएको वचन यो हो: 22 अनि हेर, यहूदाको राजाको भवनमा छोड़िएका सबै स्त्रीहरू बाबेलका राजाका शासकहरूकहाँ बाहिर लगिनेछन्; अनि ती स्त्रीहरूले भन्‍नेछन्: ‘तपाईंका साथीहरूले तपाईंलाई उस्काए, र तपाईंमाथि विजयी भए; तपाईंका पाउहरू दलदलमा भासिए; अनि तिनीहरू पछि हटे।’ 23 अनि तिनीहरूले तेरा सबै पत्‍नीहरू र तेरा छोराछोरीहरूलाई कल्दीहरूकहाँ निकालेर ल्याउनेछन्; अनि तँचाहिँ तिनीहरूको हातबाट उम्किनेछैनस्, तर बाबेलका राजाको हातद्वारा पक्राउ पर्नेछस्; अनि यो शहर तैंले आगोले जलाउन लाउनेछस्।”
24 तब सिद्कियाहले यर्मियालाई भने: “कसैले पनि यी वचनहरू थाहा नपाओस्, र तिमी मर्नेछैनौ। 25 तर मैले तिमीसँग बातचित गरेको कुरा शासकहरूले सुने, तिमीकहाँ आए, र ‘तिमीले राजालाई के भन्यौ, त्यो अब हामीलाई बताऊ! हामीबाट नलुकाऊ, र हामी तिमीलाई मार्नेछैनौं; अनि राजाले तिमीलाई के भन्‍नुभयो त?’ भनी तिनीहरूले तिमीलाई सोधे भने, 26 तिमीले तिनीहरूलाई भन्‍नू: मैले राजाको सामु ‘मलाई योनातनको घरमा, त्यहाँ मर्नका निम्ति नफर्काउनुहोस्’ भन्दै आफ्नो विन्‍ती-विनय चढ़ाएँ।” 27 तब सबै शासकहरू यर्मियाकहाँ आए, र तिनीहरूले उनलाई सोधे; अनि राजाले उनलाई जे-जे वचन भन्‍नू भनी आज्ञा गरेका थिए, ती सबै वचनअनुसार नै उनले तिनीहरूलाई भनिदिए। अनि तिनीहरू उनीसित बोल्न छोड़े; किनकि त्यो कुरा थाहा पाइएन। 28 अनि जुन दिनसम्म यरूशलेम कब्जा गरिएन, त्यस दिनसम्म यर्मिया त्यही झ्यालखानाको चोकमा बसिरहे; अनि यरूशलेम कब्जा गरिँदा उनी त्यहीं थिए।