राजा यहोयाकिमले यर्मियाको पुस्तक जलाइदिए
36
अनि यस्तो भयो: यहूदाका राजा योशियाहका छोरा यहोयाकिमको चौथो वर्षमा परमप्रभुबाट यर्मियाकहाँ यसो भन्‍ने यो वचन आयो: 2 “एउटा पुस्तक लेऊ, र मैले तिमीसित बोलेको दिनदेखि अर्थात् योशियाहका दिनहरूदेखि आजको दिनसम्म इस्राएलको विरोधमा, यहूदाको विरोधमा र सबै जातिहरूको विरोधमा मैले तिमीलाई भनेका सबै वचनहरू त्यसमा लेख! 3 हुन सक्छ, यहूदाको घरानाले त्यो सबै विपत्तिको विषयमा सुन्ला, जुन विपत्ति तिनीहरूमाथि ल्याउने विचार मैले गरेको छु; तिनीहरू हरेक आ-आफ्नो दुष्‍ट चालबाट फर्कून्, र मैले तिनीहरूको अधर्म र तिनीहरूको पाप क्षमा गर्न सकूँ।”
4 तब यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए; अनि बारूकले यर्मियाको मुखबाट परमप्रभुले तिनलाई भन्‍नुभएका उहाँका सबै वचनहरू एउटा पुस्तकमा लेखे। 5 अनि यर्मियाले यसो भन्दै बारूकलाई आज्ञा गरे: “म थुनामा राखिएको छु; म परमप्रभुको भवनमा जान सक्दिनँ; 6 यसकारण तिमी नै जाऊ, र उपवासको दिनमा परमप्रभुको भवनमा तिमीले मेरो मुखबाट लेखेको यस मुठाबाट परमप्रभुका वचनहरू ती मानिसहरूका कानमा पढ़ेर सुनाइदेऊ; अनि सम्पूर्ण यहूदाको कानमा पनि ती वचनहरू पढ़ेर सुनाइदेऊ, जुन यहूदाका मानिसहरू आ-आफ्ना शहरहरूबाट यहाँ आउँछन्। 7 हुन सक्छ, तिनीहरूले आफ्नो विन्‍ती परमप्रभुको सामु चढ़ाउलान्, र तिनीहरू हरेक आ-आफ्नो दुष्‍ट चालबाट फर्कलान्; किनकि यस प्रजाको विरोधमा परमप्रभुले भन्‍नुभएको त्यो रिस र त्यो क्रोध ठूलो छ।” 8 अनि परमप्रभुको भवनमा यस पुस्तकबाट परमप्रभुका वचनहरू पढ़ेर नेरियाहका छोरा बारूकले भविष्यवक्ता यर्मियाले उनलाई आज्ञा गरेको सबै कुराअनुसार गरे।
9 अनि यहूदाका राजा योशियाहका छोरा यहोयाकिमको पाँचौं वर्षको नवौं महिनामा यस्तो भयो: तिनीहरूले यरूशलेमका सबै मानिसहरूका निम्ति र यहूदाका शहरहरूबाट यरूशलेममा आएका सबै मानिसहरूका निम्ति परमप्रभुको सामु एउटा उपवास गर्ने घोषणा गरे। 10 तब बारूकले परमप्रभुको भवनमा, परमप्रभुको भवनको नयाँ मूलढोकाको मुखमा, माथिल्‍लो चोकमा, शापानको छोरा गमर्याह शास्त्रीको कोठामा, सबै मानिसहरूका कानमा यस पुस्तकबाट यर्मियाका वचनहरू पढ़ेर सुनाए।
11 जब गमर्याहका छोरा, शापानका नाति मीकायाहले यस पुस्तकबाट परमप्रभुका सबै वचनहरू सुने, 12 तब तिनी तल राजाको भवनमा, शास्त्रीको कोठाभित्र गए; अनि हेर, सबै शासकहरू त्यहाँ बसिरहेका थिए, अर्थात् शास्त्री एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल-नातान, शापानका छोरा गमर्याह, हनन्याहका छोरा सिद्कियाह र अरू सबै शासकहरू। 13 तब मीकायाहले ती सबै वचनहरू उनीहरूलाई सुनाइदिए, जुन वचनहरू बारूकले यस पुस्तकबाट मानिसहरूका कानमा पढ़ेर सुनाउँदा तिनले सुनेका थिए। 14 तब ती शासकहरूले नतन्याहका छोरा, शेलेम्याहका नाति, कूशीका पनाति यहूदीलाई यसो भन्दै बारूककहाँ पठाए: “जुन मुठाबाट तिमीले मानिसहरूका कानमा पढ़ेर सुनायौ, त्यो आफ्नो हातमा लिएर यहाँ आऊ!” तब नेरियाहका छोरा बारूकले त्यो मुठा आफ्नो हातमा लिएर उनीहरूकहाँ आए। 15 अनि उनीहरूले उनलाई भने: “अब यहाँ बस, र त्यो हाम्रा कानहरूमा पढ़ेर सुनाइदेऊ!” तब बारूकले उनीहरूका कानहरूमा पढ़ेर सुनाइदिए। 16 अनि यस्तो भयो: जब उनीहरूले ती सबै वचनहरू सुने, तब उनीहरू डराए, र एक-अर्कालाई हेरे; अनि उनीहरूले बारूकलाई भने: “निश्‍चय हामी यी सबै वचनहरू राजालाई बताइदिनेछौं।” 17 अनि उनीहरूले यसो भन्दै बारूकलाई सोधे: “अब हामीलाई बताऊ! तिमीले उसको मुखबाट यी सबै वचनहरू कसरी लेख्यौ?” 18 तब बारूकले उनीहरूलाई जवाफ दिए: “तिनले आफ्नो मुखले मलाई यी सबै वचनहरू सुनाए, र मैले ती वचनहरू मसीले यस पुस्तकमा लेखें।” 19 तब यी शासकहरूले बारूकलाई भने: “जाऊ! आफैलाई लुकाऊ – तिमी र यर्मिया! अनि तिमीहरू कहाँ हुन्छौ, त्यो कसैले थाहा नपाओस्!”
20 अनि उनीहरू चोकभित्र राजाकहाँ गए, तर उनीहरूले त्यो मुठाचाहिँ शास्त्री एलीशामाको कोठामा छोड़िराखे, र यी सबै वचनहरू राजाका कानमा बताइदिए। 21 तब राजाले यहूदीलाई त्यो मुठा लिन पठाए; अनि उनले शास्त्री एलीशामाको कोठाबाट त्यो निकाले। अनि यहूदीले त्यो राजाका कानमा र राजाको छेउमा उभिरहेका सबै शासकहरूका कानमा पढ़ेर सुनाइदिए। 22 अनि यस नवौं महिनामा राजा शीतकालीन भवनमा बसिरहेका थिए; अनि तिनको सामु मकलमा आगो बलिरहेको थियो। 23 अनि यस्तो भयो: जब यहूदीले तीन-चार पङ्क्ति पढ़ेका थिए, तब राजाले शास्त्रीको छुरीले त्यसलाई काटेर जबसम्म त्यो सम्पूर्ण मुठा मकलमा भएको आगोभित्र सखाप भएन, तबसम्म मकलमा भएको आगोभित्र फ्याँकिरहे। 24 तर न तिनीहरू डराए, न ता तिनीहरूले आफ्ना वस्त्रहरू च्याते – न राजाले, न यी सबै वचनहरू सुन्‍ने तिनका सबै कर्मचारीहरूले। 25 तरै पनि एल-नातान, दलायाह र गमर्याहले राजालाई, तिनले त्यो मुठा नजलाऊन् भनेर विन्‍ती गरे; तर तिनले उनीहरूको कुरा सुन्‍न मानेनन्। 26 तब राजाले हम्मेलेकका छोरा यर्हमेल, अज्रिएलका छोरा सरायाह, अब्देलका छोरा शेलेम्याहलाई शास्त्री बारूकलाई र भविष्यवक्ता यर्मियालाई पक्रनू भनी आज्ञा गरे; तर परमप्रभुले उनीहरूलाई लुकाउनुभयो।
यर्मियाले अर्को पुस्तक लेख्‍न लगाए
27 अनि राजाले त्यो मुठा, र बारूकले यर्मियाको मुखबाट लेखेका ती वचनहरू जलाएपछि परमप्रभुको यसो भन्‍ने वचन यर्मियाकहाँ आयो: 28 “आफ्ना निम्ति फेरि अर्को मुठा लेऊ, र त्यसमा पहिलेका सबै वचनहरू लेख, जति वचनहरू पहिलो पुस्तकमा थिए, जुनचाहिँ यहूदाको राजा यहोयाकिमले जलायो। 29 अनि तिमीले यहूदाको राजा यहोयाकिमलाई भन्‍नू: परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तैंले किन यस मुठामा ”बाबेलका राजा निश्‍चय आउनेछ, यस देशलाई नाश पार्नेछ, अनि यसबाट मानिस र पशु दुवैलाई अन्त गरिदिनेछ” भनी लेखिस्?’ भन्दै तैंले त्यो मुठा जलाइस्;
30 यसैकारण यहूदाको राजा यहोयाकिमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ: ‘त्यससँग दाऊदको सिंहासनमाथि बस्‍ने कोही हुनेछैन; अनि त्यसको लासचाहिँ दिउँसो तापमा र रातिचाहिँ तुसारोमा पड़िरहनका निम्ति फालिनेछ। 31 अनि म त्यसलाई, त्यसको वंशलाई र त्यसका कर्मचारीहरूलाई तिनीहरूको अधर्मका निम्ति दण्ड दिनेछु; अनि म तिनीहरूमाथि, यरूशलेमका बासिन्दाहरूमाथि र यहूदाका मानिसहरूमाथि तिनीहरूको विरोधमा मैले घोषणा गरेको सबै विपत्ति ल्याउनेछु; तर तिनीहरूले सुनेनन्।’ ” 32 तब यर्मियाले अर्को मुठा लिए र शास्त्री नेरियाहका छोरा बारूकलाई दिए, जसले त्यसमा यर्मियाको मुखबाट यहूदाका राजा यहोयाकिमले आगोमा जलाएको पुस्तकका सबै वचनहरू लेखे; अनि तीबाहेक अझ तीजस्तै धेरै वचनहरू थपिए।