आज्ञाकारी रेकाबीहरूको घराना
35
यो त्यो वचन हो, जुन वचन यहूदाका राजा योशियाहका छोरा यहोयाकिमका दिनहरूमा परमप्रभुबाट यर्मियाकहाँ आयो, जसमा उहाँ यसो भन्नुहुन्छ: 2 “रेकाबीहरूको घरमाक जाऊ, र उनीहरूसित कुरा गर! अनि उनीहरूलाई परमप्रभुको भवनमा, कुनै एउटा कोठाभित्र ल्याऊ, र उनीहरूलाई दाखमद्य पिउन देऊ!” 3 तब मैले यर्मियाका छोरा, हबसिन्याहका नाति याजन्याहलाई, उनका दाजुभाइहरू र उनका सबै छोराहरूलाई अनि रेकाबीहरूको सम्पूर्ण घरानालाई लगें; 4 अनि मैले उनीहरूलाई परमेश्वरको भवनमा, यिग्दल्याहको छोरा हानान परमेश्वरको जनका छोराहरूको कोठाभित्र ल्याएँ, जुनचाहिँ शासकहरूको कोठाको छेउमा थियो, जुनचाहिँ शल्लूमका छोरा मासेयाह ढोकामा पहरा दिने द्वारपालको कोठामाथि थियो; 5 अनि मैले रेकाबीहरूको घरानाका छोराहरूको सामु दाखमद्यले भरिएका घैलाहरू, अनि कचौराहरू राखिदिएँ; अनि मैले उनीहरूलाई भनें: “दाखमद्य पिओ!” 6 तर उनीहरूले भने: “हामी दाखमद्य पिउनेछैनौं; किनकि रेकाबका छोरा योनादाब हाम्रा पुर्खाले यसो भन्दै हामीलाई आज्ञा गर्नुभएको थियो: “तिमीहरूले कहिल्यै कुनै दाखमद्य नपिउनू – न तिमीहरूले, न तिमीहरूका छोराहरूले नै; 7 तिमीहरूले न घर बनाउनू, न बीउ छर्नू, न दाखबारी लगाउनू, न ता यस्तो कुनै थोक तिमीहरूसँग होस्; तर आफ्नो सारा जीवनभरि नै तिमीहरू पालहरूमा बस्नू, यस हेतुले कि जुन देशमा तिमीहरू परदेशी हुन्छौ, त्यसमा तिमीहरू धेरै दिन जिउन सक।” 8 यसरी हामीले आफ्ना पुर्खा रेकाबका छोरा योनादाबको वाणी, उहाँले हामीलाई आज्ञा गर्नुभएको सबै कुरामा पालन गरेका छौं, अर्थात् हाम्रो जीवनभरि नै दाखमद्य नपिउनु – न हामीले, न हाम्रा पत्नीहरूले, न हाम्रा छोराहरू, न हाम्रा छोरीहरूले; 9 अनि आफ्ना निम्ति बस्ने घरहरू नबनाउनु; हामीसँग न दाखबारी, न खेतबारी, न बीउ छ; 10 तर हामी पालहरूमा बसेका छौं, अनि हामीले आज्ञापालन गरेका छौं र हाम्रा पुर्खा योनादाबले हामीलाई आज्ञा गर्नुभएको सबै कुराअनुसार गरेका छौं। 11 तर यस्तो भयो: जब बाबेलका राजा नबूकद्नेस्सरले देशमाथि चढ़ाइ गरे, तब हामीले भन्यौं: ‘आओ, र कल्दीहरूको सेनाको सामुबाट र अरामीहरूको सेनाको सामुबाट हामी यरूशलेममा जाऔं;’ यसैले हामी यरूशलेममा बस्दैछौं।”12 तब परमप्रभुको यसो भन्ने वचन यर्मियाकहाँ आयो: 13 “इस्राएलका परमेश्वर, सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: जाऊ, अनि यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन: मेरा वचनहरू ध्यानसित सुन्नुपर्छ भन्ने शिक्षा के तिमीहरू ग्रहण गर्दैनौ?, परमप्रभु भन्नुहुन्छ। 14 रेकाबको छोरा योनादाबले आफ्ना सन्तानहरूलाई कुनै दाखमद्य नपिउनू भनी आज्ञा गरेका उसका वचनहरू पूरा गरिए; किनकि आजको दिनसम्म तिनीहरूले कुनै दाखमद्य पिउँदैनन्, तर आफ्ना पुर्खाको आज्ञा पालन गर्छन्; तर सबेरै उठ्दै र बोल्दै मैले तिमीहरूसँग बोलेको छु, तर तिमीहरूले मेरो कुरा सुनेनौ। 15 अनि सबेरै उठ्दै र पठाउँदै मैले आफ्ना सबै दासहरू, भविष्यवक्ताहरूलाई यसो भन्दै तिमीहरूकहाँ पठाएको छु: अब तिमीहरू हरेक आ-आफ्नो दुष्ट चालबाट फर्क! आफ्ना कामहरू सुधार! र अन्य देवताहरूको पूजा गर्नलाई तिनीहरूको पछि नलाग, तब तिमीहरू यस देशमा बस्नेछौ, जुन देश मैले तिमीहरूलाई र तिमीहरूका पितापुर्खाहरूलाई दिएको छु; तर तिमीहरूले आफ्नो कान लगाएनौ, न ता मेरो कुरा सुन्यौ। 16 रेकाबको छोरा योनादाबका छोराहरूले आफ्नो पुर्खाको आज्ञा पूरा गरे, जुन आज्ञा उसले तिनीहरूलाई दिएको थियो; तर यस प्रजाले चाहिँ मेरो कुरा सुनेन; 17 यसैकारण परमप्रभु सेनाहरूका परमेश्वर, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: हेर, म यहूदामाथि र यरूशलेमका सबै बासिन्दाहरूमाथि त्यो सबै विपत्ति ल्याउनेछु, जुन विपत्ति मैले तिनीहरूको विरोधमा भनेको छु; किनकि म तिनीहरूसँग बोलें, तर तिनीहरूले सुनेका छैनन्; अनि मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफ दिएका छैनन्।”
18 अनि यर्मियाले रेकाबीहरूको घरानालाई भने: “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूले आफ्नो पुर्खा योनादाबको आज्ञा पालन गरेका छौ, उसका आज्ञाहरू सबै कायम राखेका छौ र उसले तिमीहरूलाई आज्ञा गरेको सबै कुराअनुसार गरेका छौ; 19 यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: रेकाबको छोरा योनादाबलाई कहिल्यै मेरो सामु उभिने मानिसको अभाव हुनेछैन।”