राजा सिद्कियाहलाई परमेश्‍वरको चेताउनी
34
बाबेलका राजा नबूकद्‌नेस्‍सरले आफ्नो सारा सेना, आफ्नो अधिकारमा रहेका पृथ्वीका सबै राज्यहरू र सबै मानिसहरूलाई लिएर यरूशलेमको विरोधमा र त्यसका सबै शहरहरूको विरोधमा लड़ाइँ गरिरहेको बेलामा परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यो हो, जसमा उहाँ यसो भन्‍नुहुन्छ: 2 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: जाऊ, यहूदाको राजा सिद्कियाहसँग कुरा गर र उसलाई भन: परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, म यो शहर बाबेलका राजाको हातमा दिनेछु, र उसले यसलाई आगोले जलाउनेछ; 3 अनि तँ उसको हातबाट उम्किनेछैनस्, तर निश्‍चय पक्राउ पर्नेछस् र उसको हातमा सुम्पिइनेछस्; अनि तेरा आँखाहरूले बाबेलका राजाका आँखाहरू देख्‍नेछन्, अनि ऊ तँसित मुखामुख बोल्नेछ, र तँ बाबेलमा जानेछस्। 4 तरै पनि हे यहूदाको राजा सिद्कियाह, परमप्रभुको वचन सुन्! तेरो विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ: तँ तरवारले मर्नेछैनस्। 5 तर तँ शान्तिसित मर्नेछस्; अनि जसरी तेरा पितापुर्खाहरूका निम्ति अर्थात् तँभन्दा पहिलेका राजाहरूका निम्ति सुगन्धित धूपहरू बालिन्थे, त्यसरी नै तिनीहरूले तेरा निम्ति बाल्नेछन्; अनि ‘हाय प्रभु!’ भन्दै तिनीहरूले तेरा निम्ति विलाप गर्नेछन्; किनकि यो वचन मैले बोलेको हुँ, परमप्रभु भन्‍नुहुन्छ।”
6 तब भविष्यवक्ता यर्मियाले यरूशलेममा यहूदाका राजा सिद्कियाहलाई त्यस बेला यी सबै वचनहरू भने, 7 जुन बेला बाबेलका राजाको सेनाले यरूशलेमको विरोधमा, यहूदाका सबै बाँकी रहेका शहरहरूको विरोधमा, अर्थात् लाकीश र अजेकाको विरोधमा लड़ाइँ गरिरहेको थियो; किनकि यहूदाका शहरहरूमध्ये यी पर्खालले घेरिएका शहरहरू मात्र बाँकी रहेका थिए।
8 राजा सिद्कियाहले यरूशलेममा भएका सबै मानिसहरूसित उनीहरूलाई छुटकाराको घोषणा गर्ने वाचा बाँधेपछि परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यो थियो, 9 ‘हरेक मानिसले आफ्नो दासलाई र हरेक मानिसले आफ्नी दासीलाई, उनीहरू हिब्रू वा हिब्रूनी भएको खण्डमा स्वतन्‍त्र भएर जान दिनुपर्छ; कसैले उनीहरूलाई अर्थात् आफ्नो यहूदी भाइलाई आफ्नो सेवामा जोत्‍नुहुँदैन।’ 10 अनि जब सबै शासकहरू र सबै मानिसहरूले, जस-जसले आफूलाई यस वाचामा बाँधेका थिए, ‘हरेकले आफ्नो दासलाई र हरेकले आफ्नी दासीलाई स्वतन्‍त्र भएर जान दिनुपर्छ, र कसैले उनीहरूलाई फेरि आफ्नो सेवामा जोत्‍नुहुँदैन’ भनी सुने, तब तिनीहरूले आज्ञापालन गरे र उनीहरूलाई जान दिए। 11 तर पछिबाट तिनीहरू फर्के; अनि तिनीहरूले ती दासहरू र ती दासीहरूलाई फर्काएर ल्याए, जसलाई तिनीहरूले जान दिएका थिए, र उनीहरूलाई दासहरू र दासीहरूको रूपमा आफ्नो अधीनतामा पारे।
12 यसकारण परमप्रभुबाट यर्मियाकहाँ परमप्रभुको यसो भन्‍ने वचन आयो: 13 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: जुन दिन मैले तिमीहरूका पितापुर्खाहरूलाई मिस्र देशबाट अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ, त्यही दिन मैले यसो भन्दै तिनीहरूसित एउटा वाचा बाँधें: 14 सात वर्षको अन्तमा तिमीहरू हरेकले आफ्नो यहूदी भाइलाई जान दिनू, जो तिम्रो हातमा बेचिएको छ; अनि त्यसले छ वर्षसम्म तिम्रो सेवा गरेपछि तिमीले त्यसलाई स्वतन्‍त्र भएर तिमीकहाँबाट जान दिनू; तर तिमीहरूका पितापुर्खाहरूले न मेरो कुरा सुने, न आफ्नो कान लगाए। 15 अनि तिमीहरूचाहिँ आजको दिन फर्क्यौ, अनि तिमीहरू हरेकले आफ्नो छिमेकीलाई छुटकाराको घोषणा गरेर मेरो दृष्‍टिमा सठीक काम गर्‍यौ; अनि मेरो नामले कहलिएको त्यस भवनमा तिमीहरूले मेरो सामु एउटा वाचा बाँध्यौ; 16 तर तिमीहरू फर्केर गयौ, र मेरो नामलाई अशुद्ध तुल्यायौ; अनि तिमीहरू हरेकले आफ्नो दासलाई, र हरेकले आफ्नी दासीलाई फर्काएर ल्यायौ, जसलाई तिमीहरूले तिनीहरूको इच्छाअनुसार स्वतन्‍त्र भएर जान दिएका थियौ, अनि तिमीहरूका दासहरू र दासीहरू हुनलाई तिनीहरूलाई आफ्नो अधीनतामा पार्‍यौ।
17 यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ: हरेकले आफ्नो भाइलाई, र हरेकले आफ्नो छिमेकीलाई छुटकाराको घोषणा गर्ने विषयमा तिमीहरूले मेरो कुरा सुनेनौ; हेर, परमप्रभु भन्‍नुहुन्छ, म तिमीहरूलाई तरवार, महामारी र अनिकालका निम्ति छुटकाराको घोषणा गर्दछु; अनि म तिमीहरूलाई पृथ्वीका सबै राज्यहरूमा धपाइदिनेछु 18 अनि म ती मानिसहरूलाई सुम्पिदिनेछु, जसले मेरो वाचा उल्‍लङ्घन गरे, जसले एउटा बाछा काटेर दुई टुक्रा पारीकन र यसका टुक्राहरूको बीचबाट पार भईकन मेरो सामु जुन वाचा बाँधेका थिए, त्यस वाचाका वचनहरू पूरा गरेनन्, 19 अर्थात् यहूदाका शासकहरूलाई र यरूशलेमका शासकहरूलाई, अनि अफिसरहरू, पूजाहारीहरू र देशका सबै मानिसहरूलाई, जतिजना बाछाका यी टुक्राहरूको बीचबाट पार भएर गए, सुम्पिदिनेछु; 20 अँ, म तिनीहरूलाई नै तिनीहरूका शत्रुहरूको हातमा र तिनीहरूको प्राण लिन खोज्‍नेहरूको हातमा सुम्पिदिनेछु; अनि तिनीहरूका लासहरू आकाशका चराहरू र पृथ्वीका पशुहरूका निम्ति आहार हुनेछन्। 21 अनि यहूदाका राजा सिद्कियाह र उसका शासकहरूलाई म तिनीहरूका शत्रुहरूको हातमा, तिनीहरूको प्राण लिन खोज्‍नेहरूको हातमा र बाबेलका राजाको सेनाको हातमा सुम्पिदिनेछु, जो तिमीहरूबाट गइसकेका छन्। 22 हेर, परमप्रभु भन्‍नुहुन्छ, म आज्ञा गर्नेछु र उनीहरूलाई यस शहरमा फर्काएर ल्याउनेछु; अनि उनीहरूले यसको विरोधमा लड़ाइँ गर्नेछन्, यसलाई कब्जा गर्नेछन् र यसलाई आगोले जलाउनेछन्; अनि म यहूदाका शहरहरूलाई बासिन्दाविनाको उजाड़ तुल्याइदिनेछु।”