परमप्रभुको आदेशअनुसार यर्मियाले जमिन किने, र त्यसको अर्थ
32
यहूदाका राजा सिद्कियाहको दसौं वर्षमा, जुनचाहिँ नबूकद्‌नेस्‍सरको अठारौं वर्ष थियो, परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यो हो। 2 किनभने त्यस बेला बाबेलका राजाको सेनाले यरूशलेमलाई घेरामा हालेको थियो; अनि भविष्यवक्ता यर्मियाचाहिँ यहूदाका राजाको भवनमा भएको झ्यालखानाको चोकमा थुनामा राखिएका थिए। 3 किनकि यहूदाका राजा सिद्कियाहले यसो भन्दै तिनलाई थुनामा राखेका थिए: “तिमीले किन भविष्यवाणी गरेर यसो भन्यौ, ‘परमप्रभु भन्‍नुहुन्छ: हेर, म यो शहर बाबेलका राजाको हातमा सुम्पिदिनेछु, र उसले यसलाई कब्जा गर्नेछ; 4 अनि यहूदाको राजा सिद्कियाह कल्दीहरूको हातबाट उम्कनेछैन, तर निश्‍चय बाबेलका राजाको हातमा सुम्पिइनेछ, र यसले उससँग मुखामुख भएर कुरा गर्नेछ, अनि यसका आँखाहरूले उसका आँखाहरू देख्‍नेछन्; 5 अनि उसले सिद्कियाहलाई बाबेलमा लानेछ, अनि मैले यसको सम्झना नगरुन्जेल यो त्यहीं हुनेछ, परमप्रभु भन्‍नुहुन्छ; तिमीहरूले कल्दीहरूसँग लड़ाइँ गरे तापनि तिमीहरू सफल हुनेछैनौ?’ ”
6 अनि यर्मियाले भने: “परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 7 हेर, तिम्रो काका शल्‍लूमका छोरा हनमेल यसो भन्दै तिमीकहाँ आउनेछ: ‘आफ्ना निम्ति अनातोतमा भएको मेरो जमिन किन्‍नुहोस्; किनकि त्यो किन्‍नलाई छुटाउने अधिकार तपाईंको हो।’ ” 8 तब परमप्रभुको वचनअनुसार मेरा काकाका छोरा हनमेल मकहाँ, झ्यालखानाको चोकमा आएर मलाई भने: “म तपाईंलाई विन्‍ती गर्छु, मेरो जमिन किनिदिनुहोस्, जो बिन्यामीन देशको अनातोतमा छ; किनकि अधिकारमा लिने हक तपाईंको हो, र छुटाउने हक तपाईंकै हो; आफ्ना निम्ति त्यो किन्‍नुहोस्!” तब यो परमप्रभुको वचन हो रहेछ भनी मैले थाहा गरें। 9 तब मैले मेरा काकाका छोरा हनमेलको जमिन किनें, जो अनातोतमा थियो; अनि उनलाई त्यो पैसा अर्थात् चाँदीको सत्र शेकेल तौलिदिएँ। 10 मैले एउटा प्रमाण-पुर्जामा सही गरें, र त्यसमा मोहरछाप लगाएँ; अनि मैले साक्षीहरू राखें, र उनलाई त्यो पैसा तराजुमा तौलिदिएँ। 11 तब मैले ऐन र रीतिमुताबिक मोहरछाप लगाइएको खरिदको प्रमाण-पुर्जा र त्यो अर्को पुर्जा, जो खुला थियो, लिएँ। 12 अनि मेरा काकाका छोरा हनमेलकै आँखाको सामु र त्यस खरिदको प्रमाण-पुर्जामा सही गर्ने ती साक्षीहरूका आँखाको सामु अनि झ्यालखानाको चोकमा बसिरहेका सबै यहूदीहरूका आँखाको सामु मैले त्यो खरिदको प्रमाण-पुर्जा नेरियाहका छोरा, मासेयाहका नाति बारूकलाई दिएँ। 13 अनि मैले तिनीहरूका आँखाको सामु बारूकलाई यसो भन्दै आज्ञा गरें: 14 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, त्यो मोहरछाप लगाइएको खरिदको प्रमाण-पुर्जा र त्यो अर्को पुर्जा, जो खुला छ, यी दुवै पुर्जाहरू लेऊ, र तिनलाई एउटा माटोको भाँड़ामा हाल, कि ती धेरै दिनसम्म रहिरहून्! 15 किनकि सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: यस देशमा घरहरू, जमिनहरू र दाखबारीहरू फेरि पनि किनिनेछन्।”
16 अनि त्यो खरिदको प्रमाण-पुर्जा नेरियाहका छोरा बारूकलाई दिएपछि मैले परमप्रभुलाई यसो भन्दै प्रार्थना गरें: 17 “हे प्रभु यहोवा, हेर्नुहोस्, तपाईंले आफ्नो ठूलो शक्ति र आफ्नो फैलाइएको पाखुराले आकाश र पृथ्वीलाई बनाउनुभयो; तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन; 18 तपाईंले हजारौंलाई करुणा देखाउनुहुन्छ अनि बुबाहरूको अधर्मको बदला तिनीहरूपछि तिनीहरूका छोराछोरीहरूको काखमा हाल्नुहुन्छ; महान्, सामर्थी परमेश्‍वर! सेनाहरूको परमप्रभु उहाँको नाम हो; 19 जो सल्‍लाह दिनमा महान्, काम गर्नमा सामर्थी हुनुहुन्छ; किनकि हरेक मानिसलाई त्यसका चालहरूअनुसार र त्यसका कामहरूको फलअनुसार प्रतिफल दिनलाई तपाईंका आँखाहरू मानिसका सन्तानका सबै चालहरूमाथि खुला छन्। 20 तपाईंले मिस्र देशमा चिन्हहरू र अचम्मका कामहरू गर्नुभयो, अँ, आजको दिनसम्म पनि, अनि इस्राएलमा र अरू मानिसहरूको बीचमा पनि देखाउँदै हुनुहुन्छ; अनि तपाईंले आफ्ना निम्ति एउटा नाम कमाउनुभएको छ, जस्तो आजको दिनमा छ; 21 अनि तपाईंले चिन्हहरू र अचम्मका कामहरूद्वारा, बलियो हात र फैलाइएको पाखुराले अनि ठूलो आतङ्कद्वारा आफ्नो प्रजा इस्राएललाई मिस्र देशबाट निकालेर ल्याउनुभयो; 22 अनि तिनीहरूलाई यो देश, एउटा दूध र मह बग्‍ने देश दिनुभएको छ, जसको विषयमा ‘उनीहरूलाई दिनेछु’ भनेर तपाईंले तिनीहरूका पितापुर्खाहरूसँग शपथ खानुभयो; 23 अनि तिनीहरू भित्र आए, र यसलाई आफ्नो अधिकारमा लिए; तर तिनीहरूले तपाईंको वाणी मानेनन्, न ता तिनीहरू तपाईंको व्यवस्थामा हिँड़े; तपाईंले तिनीहरूलाई गर्नू भनी जति आज्ञा गर्नुभएको थियो, तिनमा एउटै पनि तिनीहरूले पूरा गरेनन्; यसैकारण तपाईंले यो सबै विपत्ति तिनीहरूमाथि आइपर्न दिनुभयो। 24 यी ढिस्काहरू हेर्नुहोस्! यस शहरलाई कब्जा गर्नलाई तिनीहरू यसमा आएका छन्; अनि तरवार, अनिकाल र महामारीको कारणले यो शहर यसको विरोधमा लड़ाइँ गर्ने कल्दीहरूको हातमा दिइएको छ; अनि जे तपाईंले भन्‍नुभएको थियो, त्यो पूरा हुन आएको छ; अनि हेर्नुहोस्, तपाईंले यो देख्दै हुनुहुन्छ। 25 अनि हे प्रभु यहोवा, तपाईंले मलाई भन्‍नुभएको छ: ‘पैसा दिएर आफ्ना निम्ति त्यो जमिन किन र साक्षीहरू राख; किनकि यो शहर कल्दीहरूको हातमा दिइएको छ।’ ”
26 तब यर्मियाकहाँ परमप्रभुको यसो भन्‍ने वचन आयो: 27 “हेर, परमप्रभु सबै प्राणीको परमेश्‍वर म नै हुँ; के मेरा निम्ति कुनै कुरा कठिन छ र? 28 यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, म यो शहर कल्दीहरूको हातमा र बाबेलका राजा नबूकद्‌नेस्‍सरको हातमा दिनेछु; अनि उसले यसलाई कब्जा गर्नेछ; 29 अनि यस शहरको विरोधमा लड़ाइँ गर्ने कल्दीहरू आउनेछन्, र यस शहरलाई आगो लगाइदिनेछन्, अनि यसलाई ती घरहरूसँगै जलाइदिनेछन्, जसका छानाहरूमा मलाई रिस उठाउनलाई तिनीहरूले बालका निम्ति धूप बालेका छन् र अन्य देवताहरूका निम्ति अर्घबलिहरू चढ़ाएका छन्। 30 किनकि इस्राएलीहरू र यहूदीहरूले आफ्नो जवानीदेखि नै मेरो सामु दुष्‍टता मात्र गर्दै आएका छन्; किनकि इस्राएलीहरूले आफ्ना हातहरूको कामद्वारा मलाई रिसै मात्र उठाएका छन्, परमप्रभु भन्‍नुहुन्छ। 31 किनकि यो शहरचाहिँ, तिनीहरूले यसलाई निर्माण गरेको दिनदेखि आजको दिनसम्म म यसलाई मेरो सामुबाट हटाइदिऊँ भनेर मेरा निम्ति मेरो रिस र मेरो क्रोध उठाउने कारण भएको छ; 32 इस्राएलीहरू र यहूदीहरूको सबै दुष्‍टताको कारणले, जुन दुष्‍टता तिनीहरूले, अँ, तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका शासकहरू, तिनीहरूका पूजाहारीहरू, तिनीहरूका भविष्यवक्ताहरू, यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूले मलाई रिस उठाउनलाई गरेका छन्। 33 अनि तिनीहरूले मतिर आफ्नो अनुहार होइन, तर आफ्नो पिठ्यूँ फर्काएका छन्; सबेरै उठ्दै र सिकाउँदै मैले तिनीहरूलाई सिकाएँ, तरै पनि मेरो शिक्षा ग्रहण गर्नलाई तिनीहरूले ध्यानसित सुनेका छैनन्। 34 तर तिनीहरूले मेरो नामले कहलाइएको भवनमा, यसलाई अशुद्ध पार्नलाई आफ्ना घृणित वस्तुहरू राखेका छन्। 35 अनि तिनीहरूले आफ्ना छोराहरू र आफ्ना छोरीहरूलाई मोलेकका निम्ति आगोमा होम गर्नलाई बाल देवताका उच्‍च स्थानहरू बनाए, जुनचाहिँ हिन्‍नोमको छोराको बेंसीमा छन्, जुन कुरा यहूदालाई पाप गर्न लाउनलाई तिनीहरूले यो घृणित काम गरून् भनी मैले तिनीहरूलाई आज्ञा गरिनँ, न ता त्यो कुरा मेरो मनमा नै आयो।
36 अनि यसकारण अब यस शहरको विषयमा, जसको सम्बन्धमा तिमीहरू भन्छौ: ‘यो शहर तरवार, अनिकाल र महामारीद्वारा बाबेलका राजाको हातमा सुम्पिइनेछ’, परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: 37 हेर, म तिनीहरूलाई ती सबै देशहरूबाट भेला गर्नेछु, जहाँ-जहाँ मैले तिनीहरूलाई मेरो रिसमा, मेरो क्रोधमा र मेरो भारी प्रकोपमा धपाइदिएको थिएँ; अनि म तिनीहरूलाई यस ठाउँमा फर्काएर ल्याउनेछु र तिनीहरूलाई सुरक्षासाथ बस्‍ने तुल्याउनेछु। 38 अनि तिनीहरू मेरो प्रजा हुनेछन्, र म तिनीहरूको परमेश्‍वर हुनेछु; 39 अनि तिनीहरूको र तिनीहरूपछि तिनीहरूको सन्तानको भलाइका निम्ति तिनीहरूले सदा-सर्वदा मेरो डर मानून् भनेर म तिनीहरूलाई एउटै हृदय र एउटै चाल दिनेछु; 40 अनि तिनीहरूको भलाइ गर्नका निम्ति म तिनीहरूबाट फर्केर नजाऊँ भनी म तिनीहरूसँग एउटा सदा रहिरहने वाचा बाँध्‍नेछु; तिनीहरू मबाट नहटून् भनेर म मेरो डर तिनीहरूको हृदयमा हालिदिनेछु। 41 अँ, तिनीहरूको भलाइ गर्नलाई म तिनीहरूमा रमाउनेछु; अनि साँच्‍ची नै मेरो सम्पूर्ण हृदयले र मेरो सम्पूर्ण प्राणले म तिनीहरूलाई यस देशमा रोप्‍नेछु। 42 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ: जसरी मैले यस प्रजामाथि यो सारा ठूलो विपत्ति ल्याएँ, त्यसरी नै म तिनीहरूमाथि सबै भलाइ ल्याउनेछु, जुन भलाइ मैले तिनीहरूलाई प्रतिज्ञा गरेको छु। 43 अनि जुन देशको विषयमा तिमीहरू ‘कुनै मानिस वा कुनै पशु नरहने गरी यो उजाड़ भएको छ; यो त कल्दीहरूको हातमा दिइएको छ’ भन्छौ, यही देशमा जमिनहरू किनिनेछन्। 44 बिन्यामीन देशमा, यरूशलेमको वरिपरिका ठाउँहरूमा, यहूदाका शहरहरूमा, पहाड़ी देशका शहरहरूमा, बेंसीका शहरहरूमा र दक्षिणका शहरहरूमा मानिसहरूले पैसा तिरेर जमिनहरू किन्‍नेछन्, प्रमाण-पुर्जाहरूमा सही गर्नेछन्, तिनमा मोहरछाप लगाउनेछन् र साक्षीहरू राख्‍नेछन्; किनभने म तिनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ।”