भविष्यमा इस्राएल र यहूदाको छुटकारा
30
यो परमप्रभुबाट यर्मियाकहाँ आएको यसो भन्‍ने वचन हो: 2 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, मैले तिमीलाई भनेका सबै वचनहरू तिमीले आफ्ना निम्ति एउटा पुस्तकमा लेख! 3 किनकि हेर, दिनहरू आउँछन्, परमप्रभु भन्‍नुहुन्छ, जब म आफ्नो प्रजा इस्राएल र यहूदालाई कैदबाट फर्काएर ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ; अनि जुन देश मैले तिनीहरूका पितापुर्खाहरूलाई दिएको थिएँ, त्यस देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु; अनि तिनीहरूले त्यसलाई आफ्नो अधिकारमा लिनेछन्।
4 अनि परमप्रभुले इस्राएलको सम्बन्धमा र यहूदाको सम्बन्धमा बोल्नुभएका वचनहरू यी नै हुन्। 5 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ: हामीले थरथराहटको आवाज सुन्यौं – एउटा डरको आवाज, शान्तिको आवाज होइन 6 अब तिमीहरूले सोधखोज गर, र हेर! के कहीं कुनै पुरुषलाई सुत्केरी व्यथा लागेको छ कि? तब किन म हरेक पुरुषलाई सुत्केरी व्यथामा परेकी स्त्रीले झैं आफ्ना हातहरू आफ्नो कम्मरमा राखेको देख्छु, र सबै अनुहारहरूको रङ्ग उड़ेको छ? 7 हाय, त्यो दिन कति डरलाग्दो छ! यसैले त्योजस्तो अरू कुनै दिन छैन; त्यो त याकूबको सङ्कष्‍टको समय हो; तर त्यसबाट ऊ बचाइनेछ। 8 किनकि त्यस दिनमा यस्तो हुनेछ: सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, म तिम्रो गर्दनबाट त्यसको जुवा निकालेर भाँचिदिनेछु र तिम्रा बन्धनहरू चुँड़ाइदिनेछु; अनि परदेशीहरूले फेरि कहिल्यै उसलाई आफ्नो सेवामा जोत्‍नेछैनन्। 9 तर उनीहरूले परमप्रभु आफ्ना परमेश्‍वरको र आफ्ना राजा दाऊदको सेवा गर्नेछन्, जसलाई म उनीहरूका निम्ति खड़ा गर्नेछु।
10 यसैकारण हे मेरो दास याकूब, नडरा!, परमप्रभु भन्‍नुहुन्छ, न ता हताश हो, हे इस्राएल! किनकि हेर्, म तँलाई टाढ़ाबाट, र तेरो वंशलाई उनीहरूको कैदको देशबाट बचाउनेछु; अनि याकूब फर्कनेछ, र चैनमा रहनेछ, र ढुक्‍क भई रहनेछ; अनि कसैले उसलाई भयभीत पार्नेछैन। 11 किनकि तँलाई बचाउन म तेरो साथमा छु, परमप्रभु भन्‍नुहुन्छ; जुन जातिहरूको बीचमा मैले तँलाई तितरबितर पारिदिएको थिएँ, ती सबै जातिहरूलाई म पूरै नाश पार्नेछु, तर तँलाई म पूर्ण रूपले नाश गर्नेछैनँ; तर म तँलाई न्यायसङ्गत ताड़ना दिनेछु; तरै पनि म तँलाई बिलकुलै विनादण्ड त छोड़्‍नेछैनँ।
12 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, तेरो चोट निको नहुने किसिमको छ; तेरो घाउ कष्‍टदायक छ। 13 तेरो घाउ मलहमपट्टी गर्नलाई तेरो मामला लड़िदिने कोही पनि छैन; तँसँग निको पार्ने औषधीहरू केही पनि छैन। 14 तेरा सबै प्रेमीहरूले तँलाई बिर्सेका छन्; तिनीहरूले तँलाई खोज्दैनन्; किनकि तेरा असंख्य अधर्महरूको कारणले मैले तँलाई शत्रुको घाउले, निर्दयी मान्छेको ताड़नाले घायल पारेको छु; किनकि तेरा पापहरू धेरै थिए। 15 आफ्नो चोटको खातिर तँ किन कराउँछस्? तेरा असंख्य अधर्महरूले गर्दा तेरो शोक निको नहुने किसिमको छ; तेरा पापहरू धेरै भएका हुनाले मैले यी कुराहरू तँसित गरें। 16 यसकारण तँलाई निल्नेहरू सबै निलिनेछन्; अनि तेरा सबै विरोधीहरू, तीमध्ये हरेक, कैदमा जानेछन्; अनि तँलाई लुट्नेहरू सबै लुटिनेछन्, र तँलाई शिकार तुल्याउनेहरू सबैलाई म शिकार तुल्याउनेछु। 17 किनकि म तँलाई फेरि स्वस्थ तुल्याउनेछु, र तँलाई तेरा घाउहरूबाट निको पार्नेछु, परमप्रभु भन्‍नुहुन्छ; किनभने ‘यो त सियोन हो; यसको खोज कसैले पनि गर्दैन’ भन्दै तिनीहरूले तँलाई ‘निकालिएकी’ भन्‍ने नाम राखेका थिए।
18 परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, म याकूबका पालहरूको कैद फर्काएर ल्याउनेछु, र उसका वासस्थानहरूमाथि कृपा राख्‍नेछु; अनि त्यो शहरचाहिँ आफ्नै थुप्रोमाथि निर्माण गरिनेछ, र महलचाहिँ आफ्नै नियमित स्थानमाथि रहनेछ। 19 अनि तिनैबाट धन्यवाद र खुशी मनाउनेहरूको आवाज निस्कनेछ; अनि म उनीहरूको संख्या बढ़ाउनेछु, र उनीहरू थोरै रहनेछैनन्; अनि म उनीहरूको महिमा गर्नेछु; अनि उनीहरू साना हुनेछैनन्। 20 अनि उनीहरूका छोराछोरीहरू पहिलेकै जस्ता हुनेछन्, र उनीहरूको समुदाय मेरो सामु स्थापित हुनेछ; अनि उनीहरूमाथि अत्याचार गर्ने सबैलाई म दण्ड दिनेछु। 21 अनि उनीहरूको अगुवा उनीहरूबाटकै हुनेछन्, र उनीहरूको शासक उनीहरूकै बीचबाट निस्कनेछन्; अनि म तिनलाई नजिक ल्याउनेछु, र तिनी मेरो नजिक आउनेछन्; किनकि मेरो नजिक आउनलाई आफ्नो हृदय धरोट राख्‍ने त्यो को हो?, परमप्रभु भन्‍नुहुन्छ। 22 अनि तिमीहरू मेरो प्रजा हुनेछौ, र म तिमीहरूको परमेश्‍वर हुनेछु।
23 हेर, परमप्रभुको भुमरी क्रोधसित निस्केर जान्छ – सोहरसाहर पार्ने एक भुमरी; दुष्‍टहरूको टाउकोमाथि यो जोड़सँग बजारिनेछ। 24 जबसम्म परमप्रभुले सो गर्नुहुन्‍न, र उहाँले आफ्नो हृदयका मनसायहरू पूरा गर्नुहुन्‍न, तबसम्म उहाँको बल्दो रिस फर्कनेछैन; अन्तका दिनहरूमा तिमीहरूले यो बुझ्नेछौ।”