अघि बाबेलमा कैदी भएर लगिएकाहरूलाई यर्मियाको पत्र
29
अनि भविष्यवक्ता यर्मियाको पत्रका शब्दहरू यी हुन्, जुन पत्र तिनले यरूशलेमबाट कैदी भएर गएका बाँकी बूढ़ा प्रधानहरू, पूजाहारीहरू, भविष्यवक्ताहरू र ती सबै मानिसहरूलाई पठाए, जसलाई नबूकद्‌नेस्‍सरले कैदी बनाएर यरूशलेमबाट बाबेलमा लगेका थिए; 2 (राजा यकोन्याह, रानी, अफिसरहरू, यहूदा र यरूशलेमका शासकहरू, अनि सिकर्मीहरू र लोहारहरू यरूशलेमबाट निस्केर गएपछि); 3 जुन पत्रचाहिँ शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहको हातद्वारा पठाइयो, (जसलाई यहूदाका राजा सिद्कियाहले बाबेलमा बाबेलका राजा नबूकद्‌नेस्‍सरकहाँ पठाए) जसमा तिनले यसो भनेका थिए: 4 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर कैदी बनाइएर लगिएकाहरू सबैलाई, जसलाई मैले कैदी बनाएर यरूशलेमबाट बाबेलमा पठाएको छु, यसो भन्‍नुहुन्छ: 5 घरहरू बनाओ, र तिनमा बस; अनि बगैंचाहरू लगाओ, र तिनको फल खाओ! 6 विवाह गर, अनि छोराहरू र छोरीहरू जन्माओ; अनि आफ्ना छोराहरूका निम्ति स्‍वास्‍नीहरू ल्याइदेओ, र आफ्ना छोरीहरू पतिहरूलाई देओ, र तिनीहरूले छोराहरू र छोरीहरू जन्माऊन्, कि तिमीहरू संख्यामा बढ़्दै जाओ, र घटेर नजाओ। 7 अनि जुन शहरमा मैले तिमीहरूलाई कैदी बनाएर पठाएको छु, त्यस शहरको शान्तिको खोजी गर; अनि त्यस शहरका निम्ति परमप्रभुलाई प्रार्थना गर; किनकि त्यसको शान्तिमै तिमीहरूको शान्ति हुनेछ। 8 किनकि सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वरले यसो भन्‍नुहुन्छ: तिमीहरूको बीचमा भएका तिमीहरूका भविष्यवक्ताहरू र तिमीहरूका जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदिऊन्, न ता तिमीहरूका सपनाहरूको कुरा सुन, जुन सपनाहरू तिमीहरूले देख्‍न लाउँछौ। 9 किनकि तिनीहरूले चाहिँ तिमीहरूलाई मेरो नाममा झूटो भविष्यवाणी गर्दैछन्; मैले तिनीहरूलाई पठाएको होइनँ, परमप्रभु भन्‍नुहुन्छ।
10 किनभने परमप्रभु यसो भन्‍नुहुन्छ, बाबेलको सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूलाई भेट गर्नेछु र तिमीहरूलाई यस ठाउँमा फर्कन लगाएर तिमीहरूप्रति मेरो भलो वचन पूरा गर्नेछु। 11 किनकि तिमीहरूको विषयमा मैले जुन विचारहरू गरेको छु, सो म जान्दछु: ती खराबीका होइनन्, तर तिमीहरूलाई भविष्य र आशा दिने शान्तिका विचारहरू हुन्, परमप्रभु भन्‍नुहुन्छ। 12 तब तिमीहरूले मलाई पुकार्नेछौ, अनि तिमीहरू गएर मलाई प्रार्थना गर्नेछौ, अनि म तिमीहरूको प्रार्थना सुन्‍नेछु। 13 अनि तिमीहरूले मलाई खोज्‍नेछौ, र मलाई भेट्टाउनेछौ, जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्‍नेछौ। 14 अनि तिमीहरूद्वारा म भेट्टाइनेछु, परमप्रभु भन्‍नुहुन्छ; अनि म तिमीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु, अनि म तिमीहरूलाई ती सबै जातिहरूबाट र ती सबै ठाउँहरूबाट, जहाँ-जहाँ मैले तिमीहरूलाई धपाएको छु, भेला पार्नेछु, परमप्रभु भन्‍नुहुन्छ; अनि जुन ठाउँबाट मैले तिमीहरूलाई कैदी बनाएर पठाएँ, त्यही ठाउँमा म तिमीहरूलाई फर्काएर ल्याउनेछु।
15 ‘परमप्रभुले हाम्रा निम्ति बाबेलमा भविष्यवक्ताहरू खड़ा गर्नुभएको छ’ भनी तिमीहरूले भनेका छौ, 16 यसैले जानिराख: दाऊदको सिंहासनमाथि बस्‍ने राजाको विषयमा, अनि यस शहरमा बस्‍ने सबै मानिसहरू र तिमीहरूसित कैदमा निस्केर नगएका तिमीहरूका दाजुभाइहरूको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ, 17 सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, म तिनीहरूमाथि तरवार, अनिकाल र महामारी पठाउनेछु; अनि म तिनीहरूलाई घिनलाग्दा नेभाराहरूजस्ता तुल्याउनेछु, जो यति नराम्रा छन्, कि तिनलाई खान सकिँदैन। 18 अनि म तिनीहरूलाई तरवार, अनिकाल र महामारीले सताउनेछु, अनि पृथ्वीका सबै राज्यहरूमा धपाइनका निम्ति, सबै जातिहरूको बीचमा, जहाँ-जहाँ मैले तिनीहरूलाई धपाएको छु, त्यहाँ-त्यहाँ म तिनीहरूलाई श्राप, अत्यास, खिसी र निन्दाको पात्रको रूपमा सुम्पिदिनेछु; 19 किनभने तिनीहरूले मेरा वचनहरू सुनेका छैनन्, परमप्रभु भन्‍नुहुन्छ, जुन वचनहरू सबेरै उठ्दै र पठाउँदै मैले मेरा दास, भविष्यवक्ताहरूद्वारा तिनीहरूकहाँ पठाएँ; तर तिमीहरूले सुन्‍न चाहेनौ, परमप्रभु भन्‍नुहुन्छ।
20 यसकारण हे सबै कैदीहरूहो, जसलाई मैले यरूशलेमबाट बाबेलमा पठाएँ, परमप्रभुको वचन सुन! 21 कोलायाहका छोरा अहाब र मासेयाहका छोरा सिद्कियाहको विषयमा, जसले तिमीहरूलाई मेरो नाममा झूटो भविष्यवाणी गर्दैछन्, सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, तिनीहरूलाई म बाबेलका राजा नबूकद्‌नेस्‍सरको हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई तिमीहरूका आँखाकै सामु मार्नेछ; 22 अनि तिनीहरूबाट बाबेलमा भएका यहूदाका सबै कैदीहरूले यसो भन्‍ने श्राप टिपेर भन्छन्: ‘परमप्रभुले तँलाई सिद्कियाह र अहाबजस्ता तुल्याऊन्, जसलाई बाबेलका राजाले आगोमा सेकाएर पोले’; 23 किनकि इस्राएलमा उनीहरूले मूर्ख काम गरेका छन्, र आफ्ना छिमेकीहरूका पत्‍नीहरूसँग व्यभिचार गरेका छन्, अनि मेरो नाममा मैले उनीहरूलाई आज्ञा नगरेका झूटा वचनहरू बोलेका छन्; अँ, यो जान्‍ने र साक्षी म नै हुँ, परमप्रभु भन्‍नुहुन्छ।”
यर्मियालाई विरोध गर्ने शमायाहलाई मिलेको खबर
24 “अनि तिमीले नेहेलामी शमायाहलाई यसो भन्‍नू: 25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, किनकि तैंले यरूशलेममा भएका सबै मानिसहरूलाई, अनि मासेयाहका छोरा पूजाहारी सपन्याह र सबै पूजाहारीहरूलाई यसो भन्दै आफ्नो नाममा पत्रहरू पठाएको छस्: 26 ‘हरेक पागल मान्छेलाई, जसले आफूलाई भविष्यवक्ता तुल्याउँछ, खुट्टामा ठिँगुरा र गलामा काठ हालिदिनलाई तिमीहरू परमप्रभुको भवनमा अधिकारीहरू होओ भन्‍ने हेतुले परमप्रभुले तिमीलाई पूजाहारी यहोयादाको सट्टामा पूजाहारी तुल्याउनुभएको छ। 27 यसकारण अब तिमीले किन अनातोतको यर्मियालाई हप्काएनौ, जसले आफैलाई तिमीहरूको भविष्यवक्ता तुल्याउँछ? 28 किनकि यही कारणले त्यसले बाबेलमा हामीकहाँ यसो भनिपठायो: ‘यो कैद लामो छ; घरहरू बनाओ, र तिनमा बस; अनि बगैंचाहरू लगाओ, र तिनको फल खाओ!’ ”
29 अनि पूजाहारी सपन्याहले यो पत्र भविष्यवक्ता यर्मियाका कानहरूले सुन्‍ने गरी पढ़िदिए। 30 तब यर्मियाकहाँ परमप्रभुको यसो भन्‍ने वचन आयो: 31 “कैदमा भएका सबैजनालाई यसो भनिपठाऊ: नेहेलामी शमायाहको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ, शमायाहले तिमीहरूलाई भविष्यवाणी गरेको छ, तर मैले त्यसलाई पठाइनँ; अनि त्यसले तिमीहरूलाई झूटमा भरोसा गर्न लगायो; 32 यसैले परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, म नेहेलामी शमायाह र त्यसको वंशलाई दण्ड दिनेछु; यी मानिसहरूको बीचमा बस्‍ने त्यसको कोही मानिस हुनेछैन; न ता त्यसले त्यो भलाइ देख्‍न पाउनेछ, जुन भलाइ म मेरो प्रजाका निम्ति गर्नेछु, परमप्रभु भन्‍नुहुन्छ; किनभने त्यसले परमप्रभुको विरोधमा विद्रोह गर्न सिकाएको छ।”