यर्मियाको गर्दनमाथि राखिएका जुवाहरू, र तिनको सन्देश
27
यहूदाका राजा योशियाहका छोरा यहोयाकिमको राज्यकालको शुरुमा परमप्रभुबाट यसो भन्‍ने यो वचन यर्मियाकहाँ आयो: 2 “परमप्रभुले मलाई यसो भन्‍नुहुन्छ: आफ्ना निम्ति बन्धनहरू र जुवाहरू बनाऊ, र तिनलाई आफ्नो गर्दनमाथि राख! 3 अनि ती कुराहरू एदोमका राजा, मोआबका राजा, अम्मोनीहरूका राजा, टायरको राजा र सिडोनका राजाकहाँ ती दूतहरूको हातमा पठाइदेऊ, जुन दूतहरू यरूशलेममा यहूदाको राजा सिद्कियाहकहाँ आउँछन्! 4 र तिनीहरूलाई आज्ञा देऊ, कि तिनीहरूले आफ्ना मालिकहरूलाई भनून्: ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, तिमीहरूले आफ्ना मालिकहरूलाई यसो भन्‍नू: 5 मैले नै पृथ्वी, साथै पृथ्वीको सतहमाथि भएका मानिस र पशुलाई आफ्नो ठूलो शक्ति र आफ्नो फैलिएको पाखुराले बनाएको हुँ; अनि मेरो दृष्‍टिमा जसलाई त्यो दिनु उचित लाग्यो, उसैलाई मैले त्यो दिएको छु। 6 अनि अब मैले यी सबै देशहरू मेरो दास, बाबेलका राजा नबूकद्‌नेस्‍सरको हातमा दिएको छु; अनि मैदानका पशुहरू पनि मैले उसको सेवा गरून् भनी उसैलाई दिएको छु। 7 अनि जबसम्म उसको देशको समय आइपुग्दैन, तबसम्म सबै जातिहरूले उसको, उसको छोराको र उसको नातिको सेवा गर्नेछन्। अनि त्यसपछि धेरै जातिहरू र ठूला राजाहरूले उसलाई आफ्नो सेवामा जोत्‍नेछन्। 8 अनि यस्तो हुनेछ: जुन जाति र जुन राज्यले त्यही बाबेलका राजा नबूकद्‌नेस्‍सरको सेवा गर्दैन र बाबेलका राजाको जुवामुनि आफ्नो गर्दन राख्दैन, त्यस जातिलाई म तिनीहरूलाई उसको हातद्वारा नाश नपारुन्जेल तरवार, अनिकाल र महामारीले दण्ड दिनेछु, परमप्रभु भन्‍नुहुन्छ। 9 यसकारण तिमीहरूले चाहिँ आफ्ना भविष्यवक्ताहरू, आफ्ना जोखना हेर्नेहरू, आफ्ना सपना दर्शीहरू, आफ्ना शकुन विचार्नेहरू र आफ्ना जादुगरहरूको कुरा नसुन, जसले तिमीहरूलाई ‘तिमीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौ’ भन्छन्! 10 किनकि तिमीहरूलाई आफ्नो देशबाट हटाउनलाई र मैले तिमीहरूलाई धपाऊँ, र तिमीहरू नाश होओ भन्‍ने हेतुले तिनीहरूले चाहिँ तिमीहरूलाई झूटो भविष्यवाणी गर्छन्। 11 तर जुन-जुन जातिहरूले बाबेलका राजाको जुवामुनि आफ्नो गर्दन हाल्छन् र उसको सेवा गर्छन्, तिनीहरूलाई म आफ्नै देशमा रहिरहन दिनेछु, परमप्रभु भन्‍नुहुन्छ; अनि तिनीहरूले त्यो खनजोत गर्नेछन्, र त्यसमा बस्‍नेछन्।’ ”
12 अनि यहूदाका राजा सिद्कियाहलाई मैले यी सबै वचनहरूअनुसार यसो भनें: “तिमीहरूले बाबेलका राजाको जुवामुनि आफ्ना गर्दनहरू हाल! अनि उसको र उसका मानिसहरूको सेवा गर, र बाँच! 13 परमप्रभुले बाबेलका राजाको सेवा नगर्ने जातिको विरोधमा भन्‍नुभएझैं किन तिमीहरू – तिमी र तिम्रो प्रजा तरवार, अनिकाल र महामारीले मर्न चाहन्छौ? 14 यसकारण ‘तिमीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौ’ भनी तिमीहरूलाई भन्‍ने यी भविष्यवक्ताहरूका वचनहरू नसुन! किनभने तिनीहरूले चाहिँ तिमीहरूलाई झूटो भविष्यवाणी गर्दैछन्। 15 किनकि मैले तिनीहरूलाई पठाएको होइनँ, परमप्रभु भन्‍नुहुन्छ, तरैपनि मैले तिमीहरूलाई धपाऊँ, र तिमीहरू र तिमीहरूलाई भविष्यवाणी गर्ने ती भविष्यवक्ताहरू – तिमीहरू नाश होओ भन्‍ने हेतुले तिनीहरूले मेरो नाममा झूटो भविष्यवाणी गर्दैछन्।”
16 अनि मैले पूजाहारीहरू र यी सबै मानिसहरूलाई यसो पनि भनें: “परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, परमप्रभुको भवनका भाँड़ाकुँड़ाहरू अब चाँड़ै बाबेलबाट फर्काएर ल्याइनेछन्’ भन्दै तिमीहरूलाई भविष्यवाणी गर्ने ती तिमीहरूका भविष्यवक्ताहरूका वचनहरू नसुन; किनकि तिनीहरूले चाहिँ तिमीहरूलाई झूटो भविष्यवाणी गर्दैछन्। 17 तिनीहरूको कुरा नसुन! बाबेलका राजाको सेवा गर, र बाँच; किन यो शहर उजाड़ पारिओस्? 18 तर तिनीहरू भविष्यवक्ताहरू हुन् भने र तिनीहरूसित परमप्रभुको वचन छ भने, लौ तिनीहरूले परमप्रभुको भवनमा, यहूदाको राजाको भवनमा र यरूशलेममा छोड़िएका भाँड़ाकुँड़ाहरू बाबेलमा नजाऊन् भनी सेनाहरूका परमप्रभुलाई विन्‍ती गरून्! 19 किनकि ती खाँबाहरूको विषयमा, त्यस समुद्रको विषयमा, ती आधारहरूको विषयमा र ती छोड़िएका भाँड़ाकुँड़ाहरूको विषयमा, जुन भाँड़ाकुँड़ाहरू यस शहरमा छोड़िएका छन्, सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ: 20 जुन थोकहरू बाबेलका राजा नबूकद्‌नेस्‍सरले यहूदाको राजा यहोयाकिमको छोरा यकोन्याहलाई, यहूदाका सबै भारदारहरूलाई र यरूशलेमलाई कैदी बनाएर यरूशलेमबाट बाबेलमा लैजाँदा लगेन; 21 अँ, परमप्रभुको भवनमा, यहूदाको राजाको भवनमा र यरूशलेममा छोड़िएका भाँड़ाकुँड़ाहरूको विषयमा सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: 22 ती थोकहरू बाबेलमा लगिइनेछन्, अनि जुन दिनसम्म म तिनीहरूलाई भेट गर्दिनँ, त्यस दिनसम्म ती त्यहीं रहनेछन्; त्यसपछि म तिनलाई निकालेर ल्याउनेछु र तिनलाई यही ठाउँमा फर्काउनेछु, परमप्रभु भन्‍नुहुन्छ।”