यर्मिया मृत्युको मुखबाट बचाइए
26
यहूदाका राजा योशियाहको छोरा यहोयाकिमको राज्यकालको शुरुमा परमप्रभुबाट यसो भन्‍ने यो वचन आयो: 2 “परमप्रभु यसो भन्‍नुहुन्छ, परमप्रभुको भवनको चोकमा खड़ा होऊ, र तिनीहरूलाई भन्‍नका निम्ति म जुन वचनहरू तिमीलाई आज्ञा गर्दछु, ती सबै वचनहरू यहूदाका सबै शहरहरूलाई भन, जुन शहरहरू परमप्रभुको भवनमा दण्‍डवत्‌ गर्न आउँछन्; एक शब्द पनि नघटाऊ! 3 सायद तिनीहरूले सुन्लान्, र तिनीहरू हरेक आ-आफ्नो दुष्‍ट चालबाट फर्कलान्, र मैले तिनीहरूका कामहरूको दुष्‍टताको कारणले जुन विपत्ति तिनीहरूमाथि ल्याउने विचार राख्दछु, त्यस विपत्तिबाट म मन फर्काउनेछु 4 अनि तिमीले तिनीहरूलाई भन्‍नू: परमप्रभु यसो भन्‍नुहुन्छ, मैले तिमीहरूको सामु राखिदिएको मेरो व्यवस्थामा हिँड़्नलाई, 5 अर्थात् मेरा दासहरू, ती भविष्यवक्ताहरूका वचनहरू ध्यानसित सुन्‍नलाई तिमीहरूले मेरो कुरा ध्यानसित सुनेनौ भने, जसलाई सबेरै उठ्दै र पठाउँदै मैले तिमीहरूकहाँ पठाएको छु, तर तिमीहरूले ध्यानसित सुनेका छैनौ, 6 तब म यो भवन शिलोजस्तै बनाइदिनेछु र यो शहरचाहिँ पृथ्वीका सबै जातिहरूका निम्ति एउटा श्राप तुल्याइदिनेछु।”
7 अनि पूजाहारीहरू, भविष्यवक्ताहरू र सबै मानिसहरूले यर्मियालाई परमप्रभुको भवनमा यी वचनहरू बोलिरहेका सुने। 8 अनि यस्तो भयो: जब ‘सबै मानिसहरूलाई भन्‍नू’ भनी परमप्रभुले यर्मियालाई आज्ञा गर्नुभएको सबै कुरा तिनले भनिसिद्ध्याए, तब पूजाहारीहरू, भविष्यवक्ताहरू र सबै मानिसहरूले ‘निश्‍चय तँ मर्नेछस्’ भन्दै तिनलाई पक्रे। 9 “तैंले किन ‘यो भवन शिलोजस्तै हुनेछ, र कुनै बासिन्दा नरहने गरी यो शहर उजाड़ हुनेछ’ भनी परमप्रभुको नाममा भविष्यवाणी गरिस्?” अनि सबै मानिसहरू परमप्रभुको भवनमा यर्मियाको विरोधमा भेला भए।
10 जब यहूदाका शासकहरूले यी कुराहरू सुने, तब उनीहरू राजभवनबाट उक्लेर परमप्रभुको भवनमा आए र परमप्रभुको भवनको नयाँ मूलढोकाको प्रवेशद्वारमा बसे। 11 तब पूजाहारीहरू र भविष्यवक्ताहरूले शासकहरू र सबै मानिसहरूलाई यसो भने: “यो मानिस मृत्युदण्डको योग्य छ; किनकि यसले यस शहरको विरोधमा भविष्यवाणी गरेको छ, जसरी तपाईंहरूले आफ्नै कानले सुन्‍नुभएको छ।” 12 तब यर्मियाले सबै शासकहरू र सबै मानिसहरूलाई यसो भने: “परमप्रभुले यस भवनको विरोधमा र यस शहरको विरोधमा तपाईंहरूले सुन्‍नुभएका यी सबै वचनहरू भविष्यवाणी गर्न मलाई पठाउनुभएको हो। 13 यसकारण अब आफ्ना चालहरू र आफ्ना कामहरू सुधार्नुहोस्! अनि परमप्रभु आफ्ना परमेश्‍वरको वाणी मान्‍नुहोस्; तब परमप्रभुले तपाईंहरूको विरोधमा बोल्नुभएको यस विपत्तिको सम्बन्धमा मन फर्काउनुहुनेछ। 14 अनि मचाहिँ – हेर्नुहोस्, म तपाईंहरूको हातमा छु; तपाईंहरूलाई जे असल र उचित लाग्छ, त्यही मसँग गर्नुहोस्! 15 तर निश्‍चय यो जानिराख्‍नुहोस्: तपाईंहरूले मलाई मार्नुभयो भने निश्‍चय तपाईंहरूले आफूमाथि, यस शहरमाथि र यसका बासिन्दाहरूमाथि निर्दोष रगतको दोष ल्याउनुहुनेछ; किनकि साँच्‍ची नै परमप्रभुले मलाई तपाईंहरूकहाँ यी सबै वचनहरू तपाईंहरूका कानमा भन्‍न पठाउनुभएको हो।”
16 तब ती शासकहरू र सबै मानिसहरूले यी पूजाहारीहरू र भविष्यवक्ताहरूलाई भने: “यो मानिस मृत्युदण्डको योग्य छैन; किनकि उसले हामीसँग परमप्रभु हाम्रा परमेश्‍वरको नाममा बोलेको छ।” 17 तब देशका कति बूढ़ा प्रधानहरू उठे, र मानिसहरूको सम्पूर्ण समुदायलाई यसो भने: 18 “यहूदाका राजा हिजकियाहका दिनहरूमा मोरेशेतका मीकाले भविष्यवाणी गर्थे; अनि उनले यहूदाका सबै मानिसहरूलाई यसो भने: ‘सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ, सियोन खेतबारीजस्तै जोतिनेछ, र यरूशलेम भत्केका थोकका थुप्राहरू बन्‍नेछ, अनि यस भवनको पर्वतचाहिँ वनका उच्‍च स्थानहरूजस्तै हुनेछ।’ 19 के यहूदाका राजा हिजकियाह र सारा यहूदाले के यिनलाई कुनै हालतमा मारे त? के तिनले परमप्रभुको डर मानेनन्, र परमप्रभुको निगाह पाउनका निम्ति विन्‍ती गरेनन् र? अनि के परमप्रभुले तिनीहरूको विरोधमा बोल्नुभएको त्यस विपत्तिको सम्बन्धमा मन फर्काउनुभएन र? यसरी हामीले आफ्ना प्राणहरूको विरोधमा ठूलो खराबी गरिरहेका छौं।”
20 फेरि अर्का एकजना मानिस पनि थिए, जसले परमप्रभुको नाममा भविष्यवाणी गरे, अर्थात् किर्यत-यारीमका शमायाहका छोरा ऊरियाह, जसले यर्मियाका सबै वचनहरूअनुसार यस शहरको विरोधमा र यस देशको विरोधमा भविष्यवाणी गरे; 21 अनि जब राजा यहोयाकिमले साथै तिनका शूरवीरहरू र सबै शासकहरूले उनका वचनहरू सुने, तब ती राजाले उनलाई मार्न खोजे; तर जब ऊरियाहले यो कुरा सुने, तब उनी डराए र मिस्रमा भागेर गए। 22 तब राजा यहोयाकिमले मिस्रमा मानिसहरूलाई अर्थात् अक्बोरका छोरा एल-नातान, र तिनको साथमा केही मानिसहरूलाई मिस्रमा पठाए। 23 अनि तिनीहरूले ऊरियाहलाई मिस्रबाट निकालेर ल्याए र उनलाई राजा यहोयाकिमकहाँ पुर्‍याए, जसले उनलाई तरवारले मारे र उनको मृत शरीर साधारण मानिसहरूका चिहानहरूमा फालिदिए। 24 तरै पनि शापानका छोरा अहीकामको हात यर्मियाको साथमा रह्‍यो; यसैले तिनलाई मार्नका निम्ति तिनीहरूले तिनलाई मानिसहरूको हातमा दिएनन्।