दुईवटा नेभाराका टोकरीहरूको दर्शन
24
परमप्रभुले मलाई देखाउनुभयो; बाबेलका राजा नबूकद्नेस्सरले यहूदाका राजा यहोयाकिमका छोरा यकोन्याहक र यहूदाका शासकहरूलाई, साथै सिकर्मीहरू र लोहारहरूलाई यरूशलेमबाट कैद गरेर लगेपछि र उनीहरूलाई बाबेलमा पुर्याएपछि हेर, परमप्रभुको मन्दिरको सामु दुईवटा नेभाराका टोकरीहरू राखिएका रहेछन्! 2 एउटा टोकरीमा साह्रै राम्रा नेभाराहरू थिए, जो पहिले पाकेका नेभाराहरूजस्ता थिए; अनि अर्को टोकरीमा चाहिँ साह्रै नराम्रा नेभाराहरू थिए; ती यति नराम्रा थिए, कि तिनलाई खानै सकिँदैनथियो। 3 तब परमप्रभुले मलाई भन्नुभयो: “हे यर्मिया, तिमीले के देख्दैछौ?” अनि मैले भनें: “नेभाराहरू; ती राम्रा नेभाराहरू साह्रै राम्रा छन्; अनि नराम्राचाहिँ साह्रै नराम्रा छन्, ती यति नराम्रा छन्, कि तिनलाई खानै सकिँदैन।”4 अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 5 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यी राम्रा नेभाराहरूजस्तै म यहूदाबाट लगिएका ती कैदीहरूलाई राम्रो मान्नेछु, जसलाई मैले उनीहरूको भलाइका निम्ति यस ठाउँबाट निकालेर कल्दीहरूको देशमा पठाएको छु। 6 किनभने भलाइका निम्ति म उनीहरूमाथि आफ्ना आँखाहरू लगाउनेछु; अनि म उनीहरूलाई यस देशमा फर्काएर ल्याउनेछु; अनि म उनीहरूलाई बनाउनेछु, ढालिदिनेछैनँ; अनि म उनीहरूलाई रोप्नेछु, उखाल्नेछैनँ। 7 अनि म उनीहरूलाई ‘परमप्रभु म नै हुँ’ भनेर मलाई चिन्ने हृदय दिनेछु; अनि उनीहरू मेरो प्रजा हुनेछन्, र म उनीहरूको परमेश्वर हुनेछु; किनकि उनीहरू आफ्नो सम्पूर्ण हृदयले मकहाँ फर्कनेछन्।
8 तर जसरी ती नराम्रा नेभाराहरू यति नराम्रा छन्, कि तिनलाई खान सकिँदैन, त्यसरी नै, निश्चय परमप्रभु यसो भन्नुहुन्छ, म यहूदाका राजा सिद्कियाहलाई, उसका शासकहरूलाई र यरूशलेमको बाँकी रहेको भागलाई, जो यस देशमा रहेका छन्, अनि ती मिस्र देशमा बस्नेहरूलाई सुम्पिदिनेछु। 9 अनि तिनीहरूको खराबीका निम्ति म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूमा धपाइनख भनी सुम्पिदिनेछु – ती सबै ठाउँहरूमा, जहाँ-जहाँ म तिनीहरूलाई धपाउनेछु, तिनीहरू निन्दा, उपमा, खिसी र श्रापको पात्र बन्नेछन्। 10 अनि जबसम्म तिनीहरू मैले तिनीहरूलाई र तिनीहरूका पितापुर्खाहरूलाई दिएको यस देशबाट नाश हुँदैनन्, तबसम्म म तिनीहरूको बीचमा तरवार, अनिकाल र महामारी पठाउनेछु।”