वर्तमान गोठालारूपी राजाहरू र भविष्यमा हुने धर्मी हाँगा नामक राजा
23
“परमप्रभु भन्नुहुन्छ: धिक्कार ती गोठालाहरूलाई, जसले मेरो खर्कका भेड़ाहरू नाश गर्छन् र तितरबितर पार्छन्! 2 यसकारण मेरो प्रजालाई चराउने गोठालाहरूको विरोधमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूले मेरो बगाललाई तितरबितर पारेका छौ, तिनीहरूलाई धपाएका छौ र तिनीहरूको हेरचाह गरेका छैनौ; हेर, तिमीहरूका कामहरूको दुष्टताको खातिर म तिमीहरूलाई दण्ड दिनेछु, परमप्रभु भन्नुहुन्छ। 3 म मेरो बगालको बाँकी रहेको भागलाई सबै देशहरूबाट भेला पार्नेछु, जहाँ मैले तिनीहरूलाई धपाएको थिएँ, र तिनीहरूलाई तिनीहरूको गोठमा फर्काएर ल्याउनेछु; अनि तिनीहरू फल्दो-फुल्दो हुनेछन् र संख्यामा वृद्धि हुँदै जानेछन्। 4 अनि म तिनीहरूमाथि गोठालाहरू ठहऱ्याउनेछु, जसले तिनीहरूलाई चराउनेछन्; अनि तिनीहरू फेरि कहिल्यै डराउनेछैनन्, न ता हताश हुनेछन्, न हराउनेछन्, परमप्रभु भन्नुहुन्छ।5 परमप्रभु भन्नुहुन्छ: हेर, दिनहरू आउँदैछन्, जुन समयमा म दाऊदका निम्ति एउटा धर्मी हाँगाक खड़ा गर्नेछु; अनि ती राजाले राज्य गर्नुहुनेछ, र सफल हुनुहुनेछ, अनि पृथ्वीमा न्याय र धार्मिकताको काम गर्नुहुनेछ। 6 उहाँका दिनहरूमा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षासाथ बस्नेछ; अनि यो उहाँको नाम हो, जुन नामले उहाँ कहलाइनुहुनेछख: ‘परमप्रभु हाम्रो धार्मिकता’ग। 7 यसकारण हेर, दिनहरू आउँदैछन्, परमप्रभु भन्नुहुन्छ, जुन समयमा तिनीहरूले ‘परमप्रभुको जीवनको शपथ, जसले इस्राएलीहरूलाई मिस्र देशबाट निकालेर ल्याउनुभयो!’ भनी फेरि भन्नेछैनन्; 8 तर, ‘परमप्रभुको जीवनको शपथ, जसले इस्राएलको घरानाको वंशलाई उत्तरको देशबाट र ती सबै देशहरूबाट, जहाँ उहाँले तिनीहरूलाई धपाउनुभएको थियो, निकालेर ल्याउनुभयो र डोर्याउनुभयोघ!’ भनी भन्नेछन्; अनि तिनीहरू आफ्नै देशमाङबस्नेछन्।”
झूटा भविष्यवक्ताहरू
9 “भविष्यवक्ताहरूको कारणले मेरो हृदय मभित्र-भित्रै टुटेको छ, मेरा सबै हड्डीहरू काम्छन्; परमप्रभुको कारणले र उहाँका पवित्र वचनहरूको कारणले म मातेको मान्छेझैं र दाखमद्यले लट्ठ पारिएको मानिसझैं भएको छु। 10 किनकि देश व्यभिचारीहरूले भरिएको छ; किनकि श्रापले गर्दा देशले विलाप गर्छ; उजाड़स्थानका मनोहर स्थानहरूच सुकिगएका छन्; अनि तिनीहरूको चालछ दुष्ट छ, र तिनीहरूको शक्ति बेठीक छ। 11 किनकि भविष्यवक्ता र पूजाहारी दुवै भ्रष्टज भएका छन्; अँ, मेरै भवनमा मैले तिनीहरूको दुष्टता भेट्टाएको छु, परमप्रभु भन्नुहुन्छ। 12 यसकारण तिनीहरूको बाटो तिनीहरूका निम्ति अन्धकारमा चिप्ला बाटाहरू जस्ता हुनेछन्; तिनीहरू लखेटिनेछन् र त्यसैभित्र लोट्नेछन्; किनभने म तिनीहरूमाथि विपत्ति, अँ, तिनीहरूको दण्डको वर्ष ल्याउनेछु, परमप्रभु भन्नुहुन्छ।
13 अनि सामरियाका भविष्यवक्ताहरूमा मैले मूर्खता देखेको छु; यिनीहरूले बालको नाममा भविष्यवाणी गरे र मेरो प्रजा इस्राएललाई भड़्काइदिए। 14 मैले यरूशलेमका भविष्यवक्ताहरूमा पनि एउटा भयानक कुरा देखेको छु; यिनीहरू व्यभिचार गर्छन् र झूटमा हिँड़्छन्; अनि यिनीहरूले कुकर्मीहरूका हात बलियो पार्छन्, यसैले कोही पनि आफ्नो दुष्टताबाट फर्कंदैन; मेरा निम्ति तिनीहरू सबै सदोमजस्ता छन् र त्यसका बासिन्दाहरूचाहिँ गमोराजस्ता। 15 यसकारण ती भविष्यवक्ताहरूको विषयमा सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: हेर, म यिनीहरूलाई तीतेपाती खुवाउनेछु, र पिउनलाई यिनीहरूलाई पित्तको पानी दिनेछु; किनकि यरूशलेमका भविष्यवक्ताहरूबाट नै सारा देशभरि भक्तिहीनताझ फैलिएकोञ छ।”
झूटा भविष्यवाणीहरू
16 “सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूलाई भविष्यवाणी गर्ने यी भविष्यवक्ताहरूका वचनहरू नसुन! उनीहरूले तिमीहरूलाई निकम्मा तुल्याउँछन्; उनीहरूले आफ्नै हृदयको दर्शन बताउँछन्, परमप्रभुको मुखबाटको होइन। 17 यिनीहरूले मलाई तुच्छ ठान्नेहरूलाई निरन्तर भन्ने गर्छन्: ‘परमप्रभुले भन्नुभएको छ: तिमीहरूलाई शान्ति हुनेछ’; अनि आफ्नै हृदयको कल्पनाअनुसारट हिँड़्ने हरेकलाई यिनीहरू भन्छन्: ‘तिमीहरूमाथि कुनै विपत्ति आउनेछैन।’ 18 किनकि परमप्रभुको सभामा को खड़ा भएको छ, अनि कसले उहाँको वचन थाहा गरेको र सुनेको छ? कसले उहाँको वचन ध्यान दिएर सुनेको छ? 19 हेर, परमप्रभुको भुमरी, अँ, कष्टदायक भुमरी क्रोधसित निस्किगएको छ; दुष्टहरूको टाउकोमाथि यो जोड़सँग बजारिनेछ। 20 जबसम्म परमप्रभुले यसो गर्नुहुन्न, र जबसम्म उहाँले आफ्नो हृदयका मनसायहरू पूरा गर्नुहुन्न, तबसम्म उहाँको रिस फर्कनेछैन; अन्तका दिनहरूमा तिमीहरूले यो पूर्णतया बुझ्नेछौ। 21 मैले यी भविष्यवक्ताहरूलाई पठाएको छैनँ, तरै पनि यिनीहरू दगुरे; म तिनीहरूसँग बोलेको छैनँ, तरै पनि यिनीहरूले भविष्यवाणी गरे। 22 तर यदि यिनीहरू मेरो सभामा खड़ा भएका भए, र यिनीहरूले मेरो प्रजालाई मेरा वचनहरू सुन्ने तुल्याएका भए, यिनीहरूले तिनीहरूलाई तिनीहरूको दुष्ट चालबाट र तिनीहरूका कामहरूको दुष्टताबाट फर्काएर ल्याउनेथिए।”
झूटा सपनाहरू
23 “परमप्रभु भन्नुहुन्छ: के म नजिकको मात्र परमेश्वर हुँ, र टाढ़ाको परमेश्वर होइनँ? 24 अथवा के कसैले आफूलाई यस्ता गुप्त स्थानहरूमा लुकाउन सक्छ, जहाँ म त्यसलाई देख्न सक्दिनँ?, परमप्रभु भन्नुहुन्छ। के मचाहिँ स्वर्गठ र पृथ्वीलाई भर्दिनँ र?, परमप्रभु भन्नुहुन्छ।
25 मेरो नाममा झूटो भविष्यवाणी गर्ने यी भविष्यवक्ताहरूले के भनेका छन्, सो मैले सुनेको छु, जसले भन्छन्: ‘मैले एउटा सपना देखेको छु, मैले एउटा सपना देखेको छु।’ 26 झूटो भविष्यवाणी गर्ने यी भविष्यवक्ताहरूको हृदयमा यस्तो कुरा कहिलेसम्म रहला? अँ, यिनीहरू आफ्नै हृदयको छलका भविष्यवक्ताहरू हुन्; 27 जसले आफ्ना सपनाहरूद्वारा मेरो प्रजालाई मेरो नाम बिर्सिदिने तुल्याउने विचार गर्छन्, जुन सपना तिनीहरू हरेकले आ-आफ्नो छिमेकीलाई बताउँछन्, जसरी तिनीहरूका पितापुर्खाहरूले पनि बालको कारणले मेरो नाम बिर्से। 28 जुन भविष्यवक्तासँग सपना छ, त्यसले सपना बताओस्; अनि जससँग मेरो वचन छ, उसले मेरो वचन विश्वासयोग्यतापूर्वक बोलोस्! गहुँको तुलनामा भुसड के हो र?, परमप्रभु भन्नुहुन्छ। 29 के मेरो वचन आगोजस्तो छैन र?, परमप्रभु भन्नुहुन्छ; अनि के त्यो घनजस्तो छैन र, जसले चट्टानलाई टुक्रा-टुक्रा पार्छ? 30 यसकारण हेर, म यी भविष्यवक्ताहरूको विरोधमा छु, परमप्रभु भन्नुहुन्छ, जो हरेकले मेरा वचनहरू आ-आफ्नो छिमेकीबाट चोर्छन्। 31 हेर, म यी भविष्यवक्ताहरूको विरोधमा छु, परमप्रभु भन्नुहुन्छ, जसले आफ्ना जिब्राहरू चलाउँछन्, र भन्छन्: ‘उहाँ भन्नुहुन्छ।’ 32 परमप्रभु भन्नुहुन्छ: हेर, म तिनीहरूको विरोधमा छु, जसले झूटा सपनाहरूको भविष्यवाणी गर्छन्, ती बताउँछन् अनि आफ्ना झूटहरू र आफ्नो हल्कापनालेढ मेरो प्रजालाई भड़्कने तुल्याउँछन्; तर मैले तिनीहरूलाई पठाइनँ, न तिनीहरूलाई आज्ञा गरें; यसकारण तिनीहरूबाट यी मानिसहरूलाई कुनै पनि फाइदा हुनेछैन नै, परमप्रभु भन्नुहुन्छ।”
परमप्रभुको वाणी के छ?
33 “अनि जब यी मानिसहरूले वा त्यो भविष्यवक्ता वा कुनै पूजाहारीले ‘परमप्रभुको वाणीण के छ?’ भनी तिमीलाई सोध्ला, तब तिमीले तिनीहरूलाई भन्नू: ‘केको वाणीण? म तिमीहरूलाई त्याग्ने नै छु, परमप्रभु भन्नुहुन्छ। 34 अनि जुन भविष्यवक्ता, जुन पूजाहारी, वा जुन मानिसले ‘परमप्रभुको वाणीण’ भन्ला, म त्यस मानिसलाई र त्यसको घरानालाई नै दण्ड दिनेछु। 35 तिमीहरू हरेकले आ-आफ्नो छिमेकीलाई, र हरेकले आ-आफ्नो दाजुभाइलाई यसो भन्नू: ‘परमप्रभुले के जवाफ दिनुभएको छ?’ अनि ‘परमप्रभुले के बोल्नुभएको छ?’ 36 अनि तिमीहरूले ‘परमप्रभुको वाणीण’ भन्दै नभन्नू; किनकि हरेक मानिसको वचन नै त्यसका निम्ति वाणीण हुनेछ; किनकि तिमीहरूले जीवित परमेश्वरका वचनहरू, अँ, सेनाहरूका परमप्रभु हाम्रा परमेश्वरका वचनहरू टेढ़ामेढ़ा पारेका छौ। 37 तिमीले त्यस भविष्यवक्तालाई यसो भन्नू: ‘परमप्रभुले तिमीलाई के जवाफ दिनुभएको छ?’ अनि ‘परमप्रभुले के बोल्नुभएको छ?’ 38 तर तिमीहरू ‘परमप्रभुको वाणीण’ भन्ने गर्छौ; यसैले परमप्रभु भन्नुहुन्छ, तिमीहरूले ‘परमप्रभुको वाणीण’ भनेका हुनाले, जब कि मैले तिमीहरूकहाँ ‘तिमीहरूले परमप्रभुको वाणीण भन्दै नभन्नू’ भन्दै भनिपठाएको छु, 39 यसैकारण हेर, म, अँ, म तिमीहरूलाई पूर्ण रूपले बिर्सिनेछु; अनि म तिमीहरूलाई र मैले तिमीहरूलाई र तिमीहरूका पितापुर्खाहरूलाई दिएको यस शहरलाई त्यागिदिनेछु र तिमीहरूलाई मेरो उपस्थितिबाट फ्याँकिदिनेछु; 40 अनि म तिमीहरूमाथि सदा रहिरहने निन्दा र सदा रहिरहने शर्म ल्याउनेछु, जुन निन्दा र जुन शर्म कहिल्यै बिर्सिइनेछैनन्।”