यहूदाका राजाका निम्ति परमप्रभुको वाणी
22
“परमप्रभु यसो भन्‍नुहुन्छ: तल यहूदाका राजाको भवनमा जाऊ, अनि त्यहाँ यो वचन बोल, 2 र भन: हे दाऊदको सिंहासनमाथि बस्‍ने यहूदाका राजा, परमप्रभुको वचन सुन् – तैंले र तेरा कर्मचारीहरूले, साथै यी मूलढोकाहरूबाट भित्र पस्‍ने तेरो प्रजाले! 3 परमप्रभु यसो भन्‍नुहुन्छ, तिमीहरूले न्याय र धार्मिकताको काम गर, र लुटिएकोलाई अत्याचारीको हातबाट छुटाओ; अनि परदेशी, टुहुराटुहुरी र विधवालाई थिचोमिचो नगर र उपद्रव नगर, न ता यस ठाउँमा निर्दोष रगत बगाओ! 4 किनकि तिमीहरूले साँच्‍चै यो कुरा गर्‍यौ भने दाऊदको सिंहासनमाथि बस्‍ने, रथहरू र घोड़ाहरूमा सवार गर्ने राजाहरू यस भवनका मूलढोकाहरूबाट भित्र पस्‍नेछन् – ऊ, उसका कर्मचारीहरू र उसको प्रजा। 5 तर तिमीहरूले यी वचनहरू सुनेनौ भने म आफ्नै नाममा शपथ खान्छु, निश्‍चय यो भवन उजाड़ पारिनेछ, परमप्रभु भन्‍नुहुन्छ। 6 किनकि यहूदाको राजाको घरानाको विषयमा परमप्रभु भन्‍नुहुन्छ: तँ मेरा निम्ति गिलाद, अँ, लेबानोनको टाकुरा होस्, तरै पनि निश्‍चय म तँलाई उजाड़स्थान र बसोबास नगरिएका शहरहरू तुल्याइदिनेछु। 7 अनि म तेरो विरोधमा नाश गर्नेहरूलाई, हरेकलाई आ-आफ्ना हतियारहरूसित तयार पार्नेछु; अनि तिनीहरूले तेरा बढ़िया-बढ़िया देवदारहरू ढालेर आगोभित्र फालिदिनेछन्। 8 अनि धेरै जातिहरू यस शहरबाट भएर जानेछन्; अनि तिनीहरू हरेकले आ-आफ्नो छिमेकीलाई भन्‍नेछन्: ‘किन परमप्रभुले यस महान् शहरसित यस्तो व्यवहार गर्नुभएको होला?’ 9 तब तिनीहरूले जवाफ दिनेछन्: ‘किनकि उनीहरूले परमप्रभु आफ्ना परमेश्‍वरको वाचालाई त्यागेका छन्, अन्य देवताहरूलाई दण्‍डवत्‌ गरेका छन् र तिनको पूजा गरेका छन्।’
राजा शल्‍लूमको विषयमा परमप्रभुको सन्देश
10 मृतकका निम्ति नरोओ, न ता त्यसका निम्ति बिलौना गर, तर यहाँबाट जाने मानिसका निम्ति खूबै रोओ; किनकि ऊ फेरि कहिल्यै फर्केर आउनेछैन, न ता उसले आफू जन्मेको देश देख्‍न पाउनेछ। 11 किनकि यहूदाका राजा योशियाहका छोरा शल्‍लूमको विषयमा, जसले आफ्ना बुबा योशियाहको सट्टामा राज्य गर्‍यो, जो यस ठाउँबाट निस्केर गयो, परमप्रभु यसो भन्‍नुहुन्छ: ऊ यहाँ फेरि कहिल्यै फर्केर आउनेछैन; 12 तर तिनीहरूले उसलाई जुन ठाउँमा कैदी बनाएर लगे, त्यही ठाउँमा ऊ मर्नेछ; अनि उसले यो देश फेरि कहिल्यै देख्‍न पाउनेछैन।
13 धिक्‍कार त्यसलाई, जसले आफ्नो घर अधर्मले, र आफ्ना माथिल्‍ला कोठाहरू अन्यायले बनाउँछ; जसले आफ्नो छिमेकीको परिश्रम विनाज्याला प्रयोग गर्छ र उसलाई उसको कामका निम्ति केही दिँदैन; 14 त्यसले भन्छ: ‘म आफ्ना निम्ति एउटा फराकिलो घर र ठूला-ठूला माथिल्‍ला कोठाहरू बनाउनेछु;’ अनि त्यसले आफ्ना निम्ति झ्यालहरू काटेर निकाल्छ; त्यो देवदारले छाइयो अनि सिन्‍दुरे रङ्गले रङ्गाइयो। 15 तैंले आफूलाई देवदारले घेरेर राखेकैले के तैंले राज्य गर्छस्? के तेरा पिताले खाई-पिई गरेर न्याय र धार्मिकाताको काम गरेनन् र? के यसैले उनको भलाइ भएन र? 16 उनले गरिब र दरिद्रको मुद्दा लड़िदिए, यसैले उनको भलाइ भयो; के यही नै मलाई चिन्‍नु होइन र?, परमप्रभु भन्‍नुहुन्छ। 17 तर तेरा आँखाहरू र तेरो हृदयचाहिँ तेरो नीच कमाइको लोभमाथि, निर्दोष रगत बहाउनुमाथि, अत्याचार र उपद्रव गर्नुमाथि बाहेक अरू कतैतिर लाग्दैनन्।”
राजा यहोयाकिमको विषयमा परमप्रभुको सन्देश
18 “यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकिमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ: तिनीहरूले उसका निम्ति ‘हाय मेरो भाइ!’ वा ‘हाय मेरी बहिनी!’ भन्दै विलाप गर्नेछैनन्; तिनीहरूले उसका निम्ति ‘हाय प्रभु!’ वा ‘हाय यहाँको महिमा!’ भन्दै विलाप गर्नेछैनन्। 19 एउटा गधा गाड़िएजस्तै ऊ गाड़िनेछ; घिसारिएर ऊ यरूशलेमका मूलढोकाहरूको पल्‍लोपट्टि फ्याँकिनेछ।”
20 “लेबानोनमाथि चढ़्, र चिच्च्या! अनि बाशानमा आफ्नो सोर उचाल् र अबारीमबाट चिच्च्या; किनकि तेरा प्रेमीहरू सबै नाश भएका छन्। 21 तेरो उन्‍नतिको समयमा म तँसित बोलें; तर तैंले भनिस्: ‘म सुन्‍नेछैनँ’। जवानीदेखि नै तेरो चाल यही थियो, र तैंले मेरो वाणी मानिनस्। 22 हावाले तेरा सबै गोठालाहरूलाई खाइदिनेछ; अनि तेरा प्रेमीहरू कैदमा जानेछन्; तब निश्‍चय तेरो सारा दुष्‍टताको कारणले तँ लज्जित हुनेछस् र शर्ममा पर्नेछस्। 23 देवदारहरूमा आफ्नो गुँड़ बनाउने हे लेबानोनको बासिन्दा, जब तँमाथि सुत्केरी व्यथामा परेकी स्त्रीको व्यथाझैं पीड़ाहरू आइपर्लान्, तब तँ कति सुस्केरा हाल्नेछस्।”
राजा कोन्याहको विषयमा परमप्रभुको सन्देश
24 “मेरो जीवनको शपथ, परमप्रभु भन्‍नुहुन्छ, यहूदाको राजा यहोयाकिमको छोरा कोन्याह मेरो दाहिने हातमाथिको छापऔंठी भएको भए तापनि म तँलाई त्यहाँबाट निकाल्नेथिएँ। 25 अनि म तँलाई तेरो प्राण लिन खोज्‍नेहरूको हातमा र तिनीहरूको हातमा सुम्पिदिनेछु, जसको अनुहारदेखि तँ डराउँछस्, अँ, बाबेलका राजा नबूकद्‌नेस्‍सरको हातमा र कल्दीहरूको हातमा सुम्पिदिनेछु। 26 अनि म तँलाई र तँलाई जन्माउने तेरी आमालाई अर्को देशमा फ्याँकिदिनेछु, जहाँ तिमीहरू जन्मेका थिएनौ; र त्यहीं तिमीहरू मर्नेछौ। 27 तर जुन देशमा फर्कन तिनीहरूले तिर्सना गर्छन्, त्यस देशमा तिनीहरू फर्कनेछैनन्। 28 के यो मानिस कोन्याह तुच्छ ठानिएको फुटेको माटोको भाँड़ा हो? के यो यस्तो एउटा पात्र हो, जसमा कुनै आनन्द पाइँदैन? तब यो र यसको वंश किन फ्याँकिए, र तिनीहरू आफूले नजानेको देशमा फालिए? 29 हे पृथ्वी, पृथ्वी! हे पृथ्वी, परमप्रभुको वचन सुन्! 30 परमप्रभु यसो भन्‍नुहुन्छ, तिमीहरू यस मानिसलाई ‘निस्सन्तान’ भनी लेखिदेओ – यस्तो एकजना मानिस, जो आफ्नो जीवनकालमा सफल हुनेछैन; किनकि यसको वंशको कुनै पनि मानिस दाऊदको सिंहासनमाथि बसेर र यहूदामा फेरि राज्य गरेर सफल हुनेछैन।”