यरूशलेमको विनाश सुनिश्‍चित भएको
21
परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यो हो, जब राजा सिद्कियाहले मल्कियाहका छोरा पश्हूर र मासेयाहका छोरा पूजाहारी सपन्याहलाई यसो भन्दै यर्मियाकहाँ पठाएका थिए: 2 “म तिमीलाई विन्‍ती गर्छु, हाम्रा निम्ति परमप्रभुकहाँ सोधखोज गरिदेऊ; किनकि बाबेलका राजा नबूकद्‌नेस्‍सरले हामीसँग लड़ाइँ गरिरहेका छन्‌; सायद परमप्रभुले आफ्ना सबै अचम्मका कामहरूअनुसार हामीसँग व्यवहार गर्नुहुनेछ, र त्यो हामीबाट गइहाल्नेछन्‌।”
3 तब यर्मियाले उनीहरूलाई भने: “तिमीहरूले सिद्कियाहलाई यसो भन्‍नू: 4 परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, हेर, तिमीहरूका हातहरूमा भएका लड़ाइँका जुन हतियारहरू लिएर तिमीहरूले बाबेलका राजा र ती कल्दीहरूसँग लड़ाइँ गर्दछौ, जसले पर्खालबाहिर तिमीहरूलाई घेरा हालेका छन्, ती हतियारहरू म फर्काउनेछु र तिनलाई यस शहरको बीचमा जम्मा पार्नेछु। 5 अनि म आफै बढ़ाइएको हात र बलियो पाखुराले, अँ, रिसमा, क्रोधमा र भारी प्रकोपमा तिमीहरूको विरोधमा लड़ाइँ गर्नेछु। 6 अनि यस शहरका बासिन्दाहरूलाई - के मानिस, के पशु दुवैलाई म प्रहार गर्नेछु; तिनीहरू ठूलो महामारीले मर्नेछन्। 7 अनि त्यसपछि, परमप्रभु भन्‍नुहुन्छ, म यहूदाको राजा सिद्कियाहलाई र उसका कर्मचारीहरूलाई, साथै यी मानिसहरूलाई, अनि यस शहरमा महामारी, तरवार र अनिकालबाट उम्केकाहरूलाई बाबेलका राजा नबूकद्‌नेस्‍सरको हातमा र तिनीहरूका शत्रुहरूको हातमा, साथै तिनीहरूको प्राण लिन खोज्‍नेहरूको हातमा सुम्पिदिनेछु; अनि उसले तिनीहरूलाई तरवारको धारले प्रहार गर्नेछ; उसले तिनीहरूलाई छोड़्‍नेछैन, न टिठाउनेछ, न दया देखाउनेछ।
8 अनि यी मानिसहरूलाई तिमीले भन्‍नू: परमप्रभु यसो भन्‍नुहुन्छ, हेर, तिमीहरूको सामु मैले जीवनको बाटो र मृत्युको बाटो राखिदिएको छु। 9 जो यस शहरमा बसिरहन्छ, त्यो तरवार, अनिकाल र महामारीले मर्नेछ; तर जो निस्केर जान्छ र तिमीहरूलाई घेरा हालेर बस्‍ने कल्दीहरूकहाँ शरण लिन्छ, त्यो बाँच्‍नेछ, र त्यसको जीवनचाहिँ त्यसको इनाम हुनेछ। 10 किनकि भलाइका निम्ति होइन, तर खराबीका निम्ति मैले आफ्नो अनुहार यस शहरको विरोधमा लगाएको छु, परमप्रभु भन्‍नुहुन्छ; यो बाबेलका राजाको हातमा दिइनेछ; अनि उसले यसलाई आगोले जलाउनेछ।
11 अनि यहूदाका राजाको घरानाको सम्बन्धमा यसो भन: तिमीहरूले परमप्रभुको वचन सुन! 12 हे दाऊदको घराना, परमप्रभु यसो भन्‍नुहुन्छ, बिहान न्याय गरिदेओ, र लुटिएकोलाई अत्याचारीको हातबाट छुटाओ; नत्र तिमीहरूका कामहरूको दुष्‍टताले गर्दा मेरो क्रोध आगोजस्तै निस्कनेछ, र जलिरहनेछ, र कसैले पनि त्यो निभाउन सक्दैन।
13 परमप्रभु भन्‍नुहुन्छ, हे बेंसी र समतल भूमिबाट उठेको चट्टानको बासिन्दा, म तेरो विरोधमा छु; तिनीहरूले भन्छन्: ‘हाम्रो विरोधमा को तल झर्ला र? वा हाम्रा वासस्थानहरूभित्र को पस्ला र? 14 तर तिमीहरूका कामहरूको फलअनुसार म तिमीहरूलाई दण्ड दिनेछु, परमप्रभु भन्‍नुहुन्छ; अनि म त्यसको वनमा आगो लगाइदिनेछु, र यसले त्यसको चारैतिरका सबै थोकहरू भस्म पार्नेछ।”