माटोको सुराहीको दृष्‍टान्‍त
19
परमप्रभु यसो भन्‍नुहुन्छ: “जाऊ, कुमालेको एउटा माटोको सुराही किन, अनि मानिसहरूबाट केही बूढ़ा प्रधानहरू र पूजाहारीहरूबाट केही बूढ़ा प्रधानहरूलाई लिएर 2 हिन्‍नोमको छोराको बेंसीमा निस्केर जाऊ, जुन बेंसी पूर्वको मूलढोकाको मुखमा छ, र त्यहाँ ती वचनहरू प्रचार गर, जुन वचनहरू म तिमीलाई बताउनेछु! 3 र भन: ‘हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्दाहरूहो, परमप्रभुको वचन सुन! इस्राएलका परमेश्‍वर, सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, म यस ठाउँमाथि विपत्ति ल्याउनेछु; यसको विषयमा सुन्‍ने हरेकका कानहरू झनझनाउनेछन्। 4 किनभने तिनीहरूले मलाई त्यागेका छन् र यस ठाउँलाई बिरानो तुल्याएका छन्, अनि यसमा अन्य देवताहरूलाई धूप बालेका छन्, जसलाई न तिनीहरूले, न तिनीहरूका पितापुर्खाहरूले, न यहूदाका राजाहरूले जानेका छन्, साथै यस ठाउँलाई निर्दोषहरूको रगतले भरिदिएका छन्। 5 अनि बाल देवताका निम्ति आफ्ना छोराहरूलाई होमबलिहरूको रूपमा आगोमा जलाउनलाई तिनीहरूले बालका उच्‍च स्थानहरू बनाएका छन्, जुन कुराको आज्ञा मैले दिइनँ, न बताएँ, न त्यो मेरो मनमै आयो। 6 यसकारण हेर, दिनहरू आउनेछन्, परमप्रभु भन्‍नुहुन्छ, तब यो ठाउँ फेरि ‘तोपेत’ भनिनेछैन, न ता ‘हिन्‍नोमको छोराको बेंसी’ नै भनिनेछ; तर ‘काटमारको बेंसी’ भनिनेछ। 7 अनि यस ठाउँमा म यहूदा र यरूशलेमको सल्‍लाह रित्तो पारिदिनेछु, अनि म तिनीहरूलाई तिनीहरूकै शत्रुहरूको सामु तरवारद्वारा र तिनीहरूको प्राण लिन खोज्‍नेहरूका हातहरूद्वारा ढालिदिनेछु; अनि तिनीहरूका लासहरूचाहिँ म आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूलाई आहारको रूपमा दिनेछु। 8 अनि म यो शहर उजाड़ पार्नेछु र खिसीको पात्र तुल्याउनेछु; त्यसका सबै विपत्तिहरूको कारणले त्यहाँबाट भएर आउने-जाने हरेक अवाक् हुनेछ, र खिसी गर्नेछ। 9 अनि घेराबन्दी र सङ्कष्‍टको समयमा, जसद्वारा तिनीहरूका शत्रुहरू र तिनीहरूका प्राण लिन खोज्‍नेहरूले तिनीहरूलाई सङ्कष्‍टमा हाल्नेछन्, म तिनीहरूलाई आफ्नै छोराहरूको मासु र आफ्नै छोरीहरूको मासु खान लाउनेछु, अनि तिनीहरू हरेकले आ-आफ्नो साथीको मासु खानेछन्।’
10 तब तिमीसित जाने ती मानिसहरूकै आँखाको सामु त्यो सुराही फुटाइदेऊ!, 11 र उनीहरूलाई भन: सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ, यसरी नै, कसैले कुमालेको भाँड़ा फेरि जस्ताको त्यस्तै हुन नसक्ने गरी फुटाएझैं म यी मानिसहरूलाई र यो शहर फुटाइदिनेछु; अनि गाड़्‍ने ठाउँ नै नरहुन्‍जेल तिनीहरूले यिनीहरूलाई तोपेतमा गाड़्‍नेछन्। 12 म यस ठाउँसित र यसका बासिन्दाहरूसित यस्तै गर्नेछु, परमप्रभु भन्‍नुहुन्छ, अनि यो शहर तोपेतजस्तै तुल्याउनेछु। 13 अनि ती सबै घरहरूको कारणले, जसका कौसीहरूमा तिनीहरूले आकाशको सारा गणका निम्ति धूप बाल्थे र अन्य देवताहरूका निम्ति अर्घबलिहरू चढ़ाउँथे, यरूशलेमका घरहरू र यहूदाका राजाहरूका भवनहरू तोपेतको ठाउँजस्तै अशुद्ध पारिनेछन्।”
14 अनि यर्मिया तोपेतबाट आए, जहाँ परमप्रभुले तिनलाई भविष्यवाणी गर्न पठाउनुभएको थियो; अनि तिनी परमप्रभुको भवनको चोकमा उभिए, र सबै मानिसहरूलाई भने: 15 “इस्राएलका परमेश्‍वर, सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, म यस शहरमाथि र त्यसका सबै गाउँहरूमाथि मैले त्यसको विरोधमा भनेका सबै विपत्तिहरू ल्याउनेछु; किनभने तिनीहरूले मेरा वचनहरू नसुनौं भनेर आफ्नो गर्दन कड़ा पारेका छन्।”