यहूदाको पाप र त्‍यस पापको दण्ड
17
“यहूदाको पाप फलामको कलम र हीराको चुच्‍चोले लेखिएको छ; यो तिनीहरूको हृदयको पाटीमाथि र तिमीहरूका वेदीहरूका सिङहरूमाथि खोपिएको छ; 2 जुन बेला अग्ला-अग्ला डाँड़ाहरूमाथि, हरिया रूखहरूको छेउमा तिनीहरूका छोराहरूले आफ्ना वेदीहरू र आफ्ना अशेराका मूर्तिहरूको सम्झना गर्छन्। 3 हे मैदानमा भएको मेरो पर्वत, तेरो पापको कारणले तेरा सबै सिमानाहरूभरि म तेरो धनसम्पत्ति, अँ, तेरा सबै भण्डारहरू र तेरा उच्‍च स्थानहरू लुटको माल हुन दिनेछु। 4 अनि तँ, अँ, तँ आफैचाहिँ आफ्नो अधिकारको त्‍यस भागबाट, जुन भाग मैले तँलाई दिएँ, विच्छेद हुनेछस्; अनि म तँलाई तैंले नजानेको देशमा तेरा शत्रुहरूको सेवा गर्न लगाउनेछु; किनकि तैंले मेरो रिसमा एउटा आगो सल्काएको छस्, जुन सदा-सर्वदा जलिरहनेछ।
5 परमप्रभु यसो भन्‍नुहुन्छ: श्रापित होस् त्यो मान्छे, जसले मानिसमाथि भरोसा राख्छ, जसले शरीरलाई आफ्नो बाहुबल तुल्याउँछ, र जसको हृदय परमप्रभुबाट हटेको हुन्छ! 6 किनकि त्यो मरुभूमिमा भएको पोथ्राजस्तो हुनेछ, अनि भलाइ कहिले आउँछ, सो त्यसले देख्‍नेछैन, तर उजाड़स्थानका खरिएका ठाउँहरूमा, बसोबास गर्न नहुने नूनिलो देशमा वास गर्नेछ। 7 धन्य हो त्यो मानिस, जसले परमप्रभुमाथि भरोसा राख्छ, र जसको आड़भरोसा परमप्रभु नै हुनुहुन्छ। 8 किनकि त्यो पानीको किनारमा रोपिएको रूखजस्तो हुनेछ, जसले आफ्ना जराहरू नदीको किनारमा फैलाउँछ, र गर्मी आएको त्यसले देख्‍नेछैन, तर त्यसको पात हरियो रहनेछ; अनि खड़ेरी परेको वर्षमा पनि त्यो चिन्तित हुनेछैन, न ता त्यसले फल फलाउन नै छोड़्‍नेछ।
9 हृदय त सबै कुराहरूभन्दा बढ़ी छली हुन्छ, र त्यो असाध्य दुष्‍ट हुन्छ; कसले त्यो जान्‍न सक्छ र? 10 हरेक मानिसलाई त्यसका चालहरूअनुसार र त्यसका कामहरूको फलअनुसार प्रतिफल दिनलाई नै म परमप्रभु हृदयको खोजतलास गर्दछु, म अन्तस्करणलाई जाँच्दछु। 11 तित्रा अन्डामाथि त बस्छ, तर चल्‍ला काढ़्दैन, अन्यायसित धन कमाउने मानिस पनि त्यस्तै हुन्छ; त्यसले त्यसलाई आफ्नो आधा उमेरमै छोड़ेर जान्छ, र त्यसको अन्तमा त्यो मूर्ख ठहरिनेछ।”
12 “शुरुदेखि नै हाम्रो पवित्रस्थानको ठाउँचाहिँ महिमापूर्ण उच्‍च सिंहासन हो। 13 हे परमप्रभु, हे इस्राएलको आशा, तपाईंलाई त्‍याग्‍नेहरू सबै लज्जित हुनेछन्; अनि मबाट हट्नेहरूको नाम भुइँमा लेखिनेछ; किनकि तिनीहरूले परमप्रभुलाई, जिउँदो पानीको मुहानलाई त्यागेका छन्। 14 हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु; मलाई बचाउनुहोस्, र म बचाइनेछु; किनकि तपाईंचाहिँ मेरो प्रशंसा हुनुहुन्छ। 15 हेर्नुहोस्, तिनीहरू मलाई भन्छन्, ‘परमप्रभुको वचन कहाँ छ? अब त्यो आओस्!’ 16 तर मचाहिँ – तपाईंको पछि-पछि गोठालाको काम छोड़्‍न म हतारिइनँ, न ता मैले त्यस भयानक दिनको चाहना नै गरें, तपाईं जान्‍नुहुन्छ; जुन कुरा मेरा ओठहरूबाट निस्क्यो, त्यो तपाईंको सामु ठीक थियो। 17 मेरा निम्ति आतङ्क नबन्‍नुहोस्! विपत्तिको दिनमा तपाईं मेरो शरणस्थान हुनुहुन्छ। 18 मलाई सताउनेहरू शर्ममा परून्, तर म शर्ममा नपरूँ; तिनीहरू भयभीत होऊन्, तर म भयभीत नहोऊँ; तिनीहरूमाथि विपत्तिको दिन ल्याउनुहोस्, र दोबर विनाशले तिनीहरूलाई नाश पार्नुहोस्!”
विश्रामदिन पवित्र राख!
19 परमप्रभुले मलाई यसो भन्‍नुभयो: “जाऊ, अनि यस जातिका मानिसहरूको मूलढोकामा, जसबाट यहूदाका राजाहरू भित्र आउँछन् र जसबाट उनीहरू बाहिर जान्छन्, साथै यरूशलेमका सबै मूलढोकाहरूमा खड़ा होऊ! 20 अनि तिनीहरूलाई भन: हे यहूदाका राजाहरू र सारा यहूदा, साथै यी मूलढोकाहरूबाट भित्र पस्‍ने यरूशलेमका सबै बासिन्दाहरूहो, परमप्रभुको वचन सुन! 21 परमप्रभु यसो भन्‍नुहुन्छ: आफ्नै विषयमा होशियार रहो, र विश्रामदिनमा कुनै भारी नबोक! अनि कुनै थोक यरूशलेमका मूलढोकाहरूबाट पनि भित्र नल्याओ! 22 अनि विश्रामदिनमा आफ्ना घरहरूबाट कुनै भारी बोकेर बाहिर नलैजाओ, अरू कुनै काम नगर, तर मैले तिमीहरूका पितापुर्खाहरूलाई आज्ञा गरेअनुसार विश्रामदिनलाई पवित्र राख! 23 तर तिनीहरूले आज्ञापालन गरेनन्, न ता आफ्नो कान नै थापे; तर सुन्‍नु नपरोस् र शिक्षालाई ग्रहण गर्नु नपरोस् भनेर तिनीहरूले आफ्नो गर्दन कड़ा पारे।
24 अनि यस्तो हुनेछ: परमप्रभु भन्‍नुहुन्छ, विश्रामदिनमा यस शहरका मूलढोकाहरूबाट कुनै भारी भित्र नल्याउनलाई तिमीहरूले मेरो कुरा ध्यानसित सुन्यौ भने, अनि त्यस दिनमा कुनै काम नगरीकन विश्रामदिनलाई पवित्र राख्यौ भने, 25 त दाऊदको सिंहासनमाथि बस्‍ने, अनि रथहरू र घोड़ाहरूमा सवार गर्ने राजाहरू र शासकहरू, अँ, उनीहरू, उनीहरूका शासकहरू, यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू यस शहरका मूलढोकाहरूबाट भित्र पस्‍नेछन्; अनि यो शहर सदा-सर्वदा रहिरहनेछ। 26 अनि तिनीहरू यहूदाका शहरहरूबाट, यरूशलेमको वरिपरिका ठाउँहरूबाट, बिन्यामीन देशबाट, तराई, पहाड़हरू र दक्षिणबाट होमबलिहरू, बलिहरू, अन्‍नबलिहरू र धूप ल्याएर, साथै धन्यवादका बलिहरू ल्याएर परमप्रभुको भवनमा आउनेछन्। 27 तर विश्रामदिनलाई पवित्र मान्‍नू, र विश्रामदिनमा भारी बोकेर यरूशलेमका मूलढोकाहरूबाट भित्र नपस्‍नू भन्‍ने मेरो कुरा तिमीहरूले ध्यानसित सुनेनौ भने म त्यसका मूलढोकाहरूमा आगो लगाइदिनेछु, र यसले यरूशलेमका महलहरू भस्म पार्नेछ, र यो निभ्नेछैन।”