मानिसहरूमाथि आइपर्ने विपत्तिहरू
16
अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “तिमीले यस ठाउँमा आफ्ना निम्ति कुनै पत्‍नी नल्याउनू; र तिम्रा छोराहरू र छोरीहरू पनि नहोऊन्! 3 किनकि यस ठाउँमा जन्मिने छोराहरू र छोरीहरूको विषयमा, तिनीहरूलाई जन्म दिने तिनीहरूका आमाहरूको विषयमा र तिनीहरूलाई यस देशमा जन्माउने तिनीहरूका बुबाहरूको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ: 4 तिनीहरू डरलाग्दा-डरलाग्दा मृत्युले मर्नेछन्; तिनीहरूका निम्ति विलाप गरिनेछैन, न तिनीहरू गाड़िनेछन्; तर तिनीहरू पृथ्वीको सतहमाथि मल हुनेछन्; अनि तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन्; अनि तिनीहरूका लासहरूचाहिँ आकाशका चराहरू र पृथ्वीका पशुहरूका निम्ति आहार बन्‍नेछन्। 5 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ: कुनै पनि विलापको घरमा नपस; न ता विलाप गर्न जाऊ, न तिनीहरूका निम्ति बिलौना गर; किनकि यी मानिसहरूको बीचबाट मैले मेरो शान्ति, अँ, कोमल दया र कृपा हटाएको छु, परमप्रभु भन्‍नुहुन्‍छ। 6 यस देशमा ठूला-साना दुवै मर्नेछन्; तिनीहरू गाड़िनेछैनन्, न ता तिनीहरूका निम्ति मानिसहरूले विलाप गर्नेछन्, न आफूलाई चिरा काट्नेछन्, न तिनीहरूका निम्ति आफ्नो केश मुड़ाउनेछन्। 7 न ता मानिसहरूले मरेकाका निम्ति तिनीहरूलाई सान्‍त्‍वना दिन भनी विलापको समयमा तिनीहरूका निम्ति रोटी बाँड़िदिनेछन्; न ता मानिसहरूले तिनीहरूका बुबा र तिनीहरूकी आमाका निम्ति तिनीहरूलाई सान्‍त्‍वनाको कचौरा पिउन दिनेछन्। 8 अनि तिमी भोजको कुनै घरमा खान र पिउनलाई तिनीहरूसित बस्‍न नपस्‍नू! 9 किनकि इस्राएलका परमेश्‍वर, सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, तिमीहरूकै आँखाको सामु र तिमीहरूकै दिनहरूमा म यस ठाउँबाट हर्षको सोर र आनन्दको सोर, दुलहाको सोर र दुलहीको सोर बन्द गरिदिनेछु।
10 अनि यस्तो हुनेछ: जब तिमीले यी मानिसहरूलाई यी सबै वचनहरू सुनाउनेछौ, तब तिनीहरूले तिमीलाई भन्‍नेछन्: ‘परमप्रभुले हाम्रो विरोधमा यति ठूलो विपत्ति ल्याउने कुरा किन गर्नुभयो? अथवा हाम्रो अधर्म के हो? वा परमप्रभु हाम्रा परमेश्‍वरको विरोधमा हामीले गरेको हाम्रो पाप के हो?’ 11 तब तिमीले तिनीहरूलाई भन्‍नू: परमप्रभु भन्‍नुहुन्छ, किनभने तिमीहरूका पितापुर्खाहरूले मलाई त्यागेका छन्, र अन्य देवताहरूको पछि हिँड़ेका छन्, तिनीहरूको पूजा गरेका छन्, तिनीहरूलाई दण्‍डवत्‌ गरेका छन्, तर मलाई चाहिँ त्यागेका छन् र मेरो व्यवस्था पालन गरेका छैनन्; 12 अनि तिमीहरूले चाहिँ तिमीहरूका पितापुर्खाहरूले भन्दा खराब गरेका छौ; किनकि हेर, मेरो आज्ञापालन नगर्नलाई तिमीहरू हरेक आ-आफ्नो दुष्‍ट हृदयको कल्पनाअनुसार हिँड़्छौ। 13 यसैकारण म तिमीहरूलाई यस देशबाट निकालेर तिमीहरूले, अँ, तिमीहरूले र तिमीहरूका पितापुर्खाहरूले नजानेको देशमा फ्याँकिदिनेछु; अनि त्यहाँ तिमीहरूले दिनरात अन्य देवताहरूको पूजा गर्नेछौ, जहाँ म तिमीहरूलाई कृपादृष्‍टि देखाउनेछैनँ।
14 यसकारण हेर, दिनहरू आउनेछन्, परमप्रभु भन्‍नुहुन्छ, जसमा ‘इस्राएलीहरूलाई मिस्र देशबाट निकालेर ल्याउनुहुने परमप्रभुको जीवनको शपथ!’ भनी फेरि भनिनेछैन। 15 तर ‘इस्राएलीहरूलाई उत्तरको देशबाट र जहाँ-जहाँ उहाँले तिनीहरूलाई धपाउनुभएको थियो, ती सबै देशहरूबाट निकालेर ल्याउनुहुने परमप्रभुको जीवनको शपथ!’ भनी भनिनेछ; अनि म तिनीहरूलाई तिनीहरूकै देशमा फर्काएर ल्याउनेछु, जुन देश मैले तिनीहरूका पितापुर्खाहरूलाई दिएको थिएँ।
16 हेर, म धेरै मछुवाहरूलाई बोलाइपठाउनेछु, परमप्रभु भन्‍नुहुन्छ, र यिनीहरूले तिनीहरूलाई पक्रनेछन्; अनि त्यसपछि म धेरै शिकारीहरूलाई बोलाइपठाउनेछु, र यिनीहरूले तिनीहरूलाई हरेक पहाड़बाट, हरेक डाँड़ाबाट र चट्टानहरूका दुलाहरूबाट शिकार खेलेर निकाल्नेछन्। 17 किनकि तिनीहरूका सबै चालहरूमाथि मेरा आँखाहरू लागेका छन्; मेरो चेहराबाट ती चालहरू लुकेका छैनन्, न ता मेरा आँखाहरूबाट तिनीहरूको अधर्म लुकेको छ। 18 अनि म पहिले तिनीहरूको अधर्म र तिनीहरूको पापको दोबर बदला दिनेछु; किनकि तिनीहरूले मेरो देश अशुद्ध पारेका छन्, तिनीहरूले मेरो अधिकारको भागलाई घिनलाग्दा र घृणित वस्तुहरूका सिनुहरूले भरिदिएका छन्।”
19 “हे परमप्रभु, मेरो बल, मेरो किल्‍ला र सङ्कष्‍टको दिनमा मेरो शरणस्थान, पृथ्वीका छेउ-छेउबाट अन्यजातिहरू तपाईंकहाँ आएर भन्‍नेछन्: ‘निश्‍चय हाम्रा पितापुर्खाहरू झूट, व्यर्थता र यस्ता कुराहरूका हकदार भए, जसबाट कुनै फाइदा छैन।’ ” 20 “के मानिसले आफ्ना निम्ति देवताहरू बनाओस्? तर ती त ईश्‍वरहरू नै होइनन्।
21 यसकारण हेर, यसपल्ट म तिनीहरूलाई जान्‍ने तुल्याउनेछु; म तिनीहरूलाई मेरो हात र मेरो शक्ति के हो, सो जान्‍ने तुल्याउनेछु; अनि तिनीहरूले मेरो नाम परमप्रभु हो भनी जान्‍नेछन्।”