तरवार, अनिकाल र महामारी
14
परमप्रभुको त्यो वचन, जुन वचन खड़ेरीको सम्बन्धमा यर्मियाकहाँ आयो: 2 “यहूदा विलाप गर्छ, र त्यसका मूलढोकाहरू ओइलिन्छन्; ती भुइँतिर काला छन्; अनि यरूशलेमको चिच्च्याहट मास्तिर गएको छ। 3 अनि तिनीहरूका भारदारहरूले आफ्ना सानाहरूलाई पानीका निम्ति पठाए; यिनीहरू खाड़लहरूमा आए, तर यिनीहरूले पानी पाएनन्; यिनीहरूले आफ्ना भाँड़ाहरू रित्तै लिएर फर्के; तिनीहरू लज्जित भए, शर्ममा परे, र आफ्ना शिरहरू ढाके। 4 किनभने जमिन चिरा-चिरा परेको छ; किनकि पृथ्वीमा वर्षा भएको थिएन; हलीहरू लज्जित भए; तिनीहरूले आफ्ना शिरहरू ढाके। 5 अँ, हरिणीले पनि खुला जमिनमा बच्चा जन्मायो र त्यसलाई छोड़िराख्यो; किनकि घाँस थिएन। 6 अनि जङ्गली गधैनीहरू अग्ला-अग्ला ठाउँहरूमाथि उभिए; तिनीहरूले स्यालहरूले झैं हावा सुँघे; तिनीहरूका आँखाहरू धमिला भए; किनकि कुनै घाँसपात थिएन।7 हे परमप्रभु, हाम्रा अधर्महरूले हाम्रो विरोधमा साक्षी दिए तापनि तपाईंले आफ्नो नामको खातिर काम गर्नुहोस्; किनकि हाम्रा पछिहटाइहरू धेरै छन्; हामीले तपाईंको विरोधमा पाप गरेका छौं। 8 हे इस्राएलका आशा, सङ्कष्टको समयमा त्यसका उद्धारकर्ता, तपाईं यस देशमा किन परदेशीजस्तो, र त्यो यात्रीजस्तो हुनुहुन्छ, जो वास बस्न एकातिर लाग्छ? 9 तपाईं किन छक्क परेको मानिसजस्तो, र त्यो सामर्थी मानिसजस्तो हुनुहुन्छ, जसले बचाउन सक्दैन? तरै पनि हे परमप्रभु, तपाईं हाम्रो बीचमा हुनुहुन्छ, र हामी तपाईंको नामले कहलाइएका छौं; हामीलाई नत्याग्नुहोस्!
10 परमप्रभु यी मानिसहरूलाई यसो भन्नुहुन्छ: तिनीहरूले यसरी बरालिएर हिँड़्नु मन पराएका छन्; तिनीहरूले आफ्ना पाउहरू रोकेर राखेका छैनन्; यसैकारण परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न; अब उहाँले तिनीहरूको अधर्मको सम्झना गर्नुहुनेछ र तिनीहरूका पापहरूको दण्ड दिनुहुनेछ।”
11 तब परमप्रभुले मलाई भन्नुभयो: “यी मानिसहरूका लागि तिनीहरूको भलाइका निम्ति प्रार्थना नगर! 12 जब तिनीहरू उपवास बस्छन्, तब म तिनीहरूको पुकार सुन्नेछैनँ; अनि जब तिनीहरूले होमबलि र अन्नबलिक चढ़ाउँछन्, तब म तिनलाईख ग्रहण गर्नेछैनँ; तर म तिनीहरूलाई तरवार, अनिकाल र महामारीले नाश पार्नेछु।”
13 तब मैले भनें: “अहह, प्रभु यहोवा! हेर्नुहोस्, ती भविष्यवक्ताहरूले तिनीहरूलाई भन्छन्, ‘तिमीहरूले न तरवार देख्नेछौ, न अनिकाल भोग्नेछौ; तर म तिमीहरूलाई यस ठाउँमा साँचो शान्ति दिनेछु।’ ” 14 तब परमप्रभुले मलाई भन्नुभयो: “ती भविष्यवक्ताहरूले मेरो नाममा झूटा भविष्यवाणी गर्छन्; मैले उनीहरूलाई पठाइनँ, न उनीहरूलाई आज्ञा गरें, न उनीहरूसँग बोलें; उनीहरूचाहिँ तिमीहरूलाई झूटा दर्शन, झूटा दिव्यवाणी, व्यर्थको कुरा र आफ्नो हृदयका छलहरूको भविष्यवाणी गर्छन्। 15 यसकारण परमप्रभु ती भविष्यवक्ताहरूको विषयमा यसो भन्नुहुन्छ, जसले मेरो नाममा भविष्यवाणी गर्छन्, तर उनीहरूलाई मैले पठाइनँ; तरै पनि उनीहरूले भन्छन्: ‘यस देशमा तरवार र अनिकाल हुनेछैन’; तरवार र अनिकालले नै ती भविष्यवक्ताहरू नष्ट हुनेछन्। 16 अनि जुन मानिसहरूका निम्ति उनीहरूले भविष्यवाणी गर्छन्, ती मानिसहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सड़कहरूमा फालिनेछन्; अनि तिनीहरूलाई, अँ, तिनीहरूलाई, तिनीहरूका पत्नीहरू, तिनीहरूका छोराहरू र तिनीहरूका छोरीहरूलाई गाड़्ने कोही पनि हुनेछैन; किनकि तिनीहरूको दुष्टता म तिनीहरूमाथि खन्याइदिनेछु। 17 यसकारण तिमीले तिनीहरूलाई यो वचन भन्नू: मेरा आँखाहरूबाट रातोदिन आँसु बगिरहून् र नथामिऊन्; किनकि मेरो प्रजाकी कन्या छोरी ठूलो प्रहारले, अँ, कष्टदायक चोटले टुटफुट भएकी छे। 18 यदि म बाहिर मैदानमा जाऊँ, तब हेर, तरवारले मारिएकाहरू! अनि यदि म शहरभित्र पसूँ, तब हेर, अनिकालले ग्रस्त भएकाहरू! किनकि भविष्यवक्ता र पूजाहारी दुवै आफूले नचिनेको देशमा घुमिहिँड़्छन्।
19 के तपाईंले यहूदालाई बिलकुलै रद्द गर्नुभएको हो? के तपाईंको मनलेग सियोनलाई घृणा गर्छ? तपाईंले हामीलाई किन हिर्काउनुभयो, र हाम्रा निम्ति कुनै चङ्गाइ छैन? हामीले शान्तिको बाटो हेर्यौं, तर कुनै असल कुरा भएन; अनि हामीले चङ्गाइको समयको बाटो हेर्यौं, तर हेर, डरैडर! 20 हे परमप्रभु, हामी आफ्नो दुष्टता र हाम्रा पितापुर्खाहरूको अधर्म स्वीकार गर्छौं; किनकि हामीले तपाईंको विरोधमा पाप गरेका छौं। 21 आफ्नो नामको खातिर हामीलाई घृणा नगर्नुहोस्, आफ्नो महिमाको सिंहासनको अपमान नगर्नुहोस्! र सम्झना गर्नुहोस्, हामीसँग बाँध्नुभएको वाचा नतोड़्नुहोस्! 22 के अन्यजातिहरूका मूर्तिहरूमध्येघ कोही छ, जसले पानी बर्साउन सक्छ? अथवा के आकाशले झरीहरू दिन सक्छ? हे परमप्रभु हाम्रा परमेश्वर, के त्यो तपाईं नै हुनुहुन्न र? यसकारण हामी तपाईंको बाटो हेर्छौं; किनकि तपाईंले नै यी सबै थोकहरू बनाउनुभएको हो।”