कम्मरपेटीको दृष्‍टान्‍त
13
परमप्रभु मलाई यसो भन्‍नुभयो: “जाऊ, आफ्ना निम्ति एउटा मलमलको कम्मरपेटी किन र त्यसलाई आफ्नो कम्मरमा बाँध; तर त्यसलाई पानीमा नराख!” 2 तब मैले परमप्रभुको वचनअनुसार एउटा कम्मरपेटी किनें र त्यसलाई आफ्नो कम्मरमा बाँधें। 3 अनि परमप्रभुको यसो भन्‍ने वचन दोस्रो पल्ट मकहाँ आयो: 4 “तिमीले किनेको त्यो कम्मरपेटी, जो तिम्रो कम्मरमा छ, लेऊ, अनि उठ, युफ्रेटिसमा जाऊ र त्यसलाई त्यहाँ चट्टानको एउटा दुलोमा लुकाऊ!” 5 तब परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार म गएँ, र त्यसलाई युफ्रेटिसको किनारमा लुकाएँ। 6 अनि धेरै दिनपछि यस्तो भयो: परमप्रभुले मलाई भन्‍नुभयो: “उठ, युफ्रेटिसमा जाऊ र जुन कम्मरपेटी त्यहाँ लुकाउनू भनी मैले तिमीलाई आज्ञा गरेको थिएँ, त्यो कम्मरपेटी त्यहाँबाट ल्याऊ!” 7 तब म युफ्रेटिसमा गएँ, खनें र जुन ठाउँमा मैले त्यो कम्मरपेटी लुकाएको थिएँ, त्यस ठाउँबाट मैले त्यसलाई ल्याएँ; अनि हेर, त्यो कम्मरपेटी बिग्रेको रहेछ; त्यो कुनै कामको थिएन।
8 तब परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 9 “परमप्रभु यसो भन्‍नुहुन्छ: यही प्रकारले म यहूदाको घमण्ड र यरूशलेमको ठूलो घमण्ड नाश गर्नेछु। 10 यी दुष्‍ट मानिसहरू पनि, जसले मेरा वचनहरू सुन्‍न इन्कार गर्छन्, जो आफ्नो हृदयको कल्पनाअनुसार हिँड़्छन्, अनि अन्य देवताहरूको पूजा गर्न र तिनीहरूलाई दण्‍डवत्‌ गर्न तिनीहरूको पछि हिँड़्छन्, यो कम्मरपेटीजस्तै हुनेछन्, जो कुनै कामको हुँदैन। 11 किनकि जसरी कम्मरपेटी मानिसको कम्मरमा टाँसिन्छ, त्यसरी नै मैले इस्राएलको सारा घरानालाई र यहूदाको सारा घरानालाई, तिनीहरू मेरा निम्ति एउटा प्रजा र एउटा नाम, अँ, एउटा प्रशंसा र एउटा महिमाको कारण होऊन् भनेर आफूकहाँ टँसाएँ, परमप्रभु भन्‍नुहुन्छ, तर तिनीहरूले सुन्‍न चाहेनन्
मशकको दृष्‍टान्‍त
12 यसकारण तिमीले तिनीहरूसित यो वचन भन्‍नू: परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘हरेक मशक दाखमद्यले भरिनेछ’; तब तिनीहरूले तिमीलाई भन्‍नेछन्: ‘हरेक मशक दाखमद्यले भरिनेछ भन्‍ने कुरा के हामी खूबै राम्ररी जान्दैनौं र?’ 13 तब तिमीले तिनीहरूलाई भन्‍नू: परमप्रभु यसो भन्‍नुहुन्छ, हेर, म यस देशका सबै बासिन्दाहरूलाई, अँ, दाऊदको सिंहासनमाथि बस्‍ने राजाहरूलाई, पूजाहारीहरू, भविष्यवक्ताहरू र यरूशलेमका सबै बासिन्दाहरूलाई मतवालीपनले भरिदिनेछु। 14 अनि म तिनीहरूलाई एक-अर्कासँग, अँ, बुबाहरू र छोराहरूलाई आपसमा ठोकाठोक हुने तुल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ; म टिठाउनेछैनँ, न ता बाँकी राख्‍नेछु न दया गर्नेछु, तर तिनीहरूलाई नाश गर्नेछु।”
कैदमा जानुभन्दा अघि यहूदामा चढ़ेको घमण्ड
15 “सुन, र कान लगाओ; घमण्डी नहोओ; किनकि परमप्रभुले बोल्नुभएको हो। 16 उहाँले अँध्यारो पार्नुभन्दा पहिले, तिमीहरूका पाउहरूले अँध्यारा पहाड़हरूमाथि ठेस खानुभन्दा पहिले, अनि तिमीहरूले ज्योतिको बाटो हेर्दा-हेर्दै उहाँले त्यसलाई मृत्युको छायामा बदली गरेर त्यसलाई घोर अन्धकार तुल्याउनुभन्दा पहिले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई महिमा देओ! 17 तर तिमीहरूले यो कुरा सुनेनौ भने गुप्‍त स्थानहरूमा मेरो मन तिमीहरूको घमण्डको खातिर रुनेछ; अनि मेरो आँखा धुरुधुरु रुनेछ, र आँसुको धारा बग्‍नेछ; किनभने परमप्रभुको बगाल कैदी भएर लगियो। 18 राजा र रानीलाई भन: आफूलाई नम्र तुल्याओ, भुइँमा बस; किनकि तिमीहरूको राजत्व, अँ, तिमीहरूको महिमाको मुकुट तल झर्नेछ। 19 दक्षिणका शहरहरू बन्द हुनेछन्, र कसैले तिनलाई खोल्नेछैन; यहूदा, त्यसका सबै कैदी भएर लगिनेछन्; त्यो सम्पूर्ण रूपले कैदी भएर लगिनेछ।
20 आफ्ना आँखाहरू उठाओ, र उत्तरबाट आउनेहरूलाई हेर! तँलाई दिइएको त्यो बगाल, तेरो सुन्दर बगाल कहाँ छ? 21 जब उहाँले तँलाई दण्ड दिनुहुनेछ, तब तँ के भन्‍नेछस्? किनकि तैंले नै तिनीहरूलाई अधिपतिहरू भएर आफूमाथि शासक हुन सिकाएको छस्; के तँलाई सुत्केरी व्यथामा परेकी स्त्रीलाई झैं पीड़ाहरूले नपक्रेलान्? 22 अनि तैंले आफ्नो हृदयमा, ‘यी कुराहरू ममाथि किन आइपरे?’ भनी भन्छस् भने तेरो ठूलो अधर्मले गर्दा नै तेरा लुगाका फेरहरू उघारिए र तेरा कुर्कुच्‍चाहरू नाङ्गा पारिए। 23 के कूशीले आफ्नो छाला वा चितुवाले आफ्ना थोप्लाहरू बदल्न सक्छ र? तब त तिमीहरूले पनि, जो खराबी गर्नमा अभ्यस्त भएका छौ, असल गर्न सकौला। 24 यसकारण उजाड़स्थानको बतासले नलका ठुटा उड़ाएर लगिएझैं म तिनीहरूलाई तितरबितर पारिदिनेछु। 25 तेरो भाग, अँ, मबाटको तेरा नापको भाग यही हो, परमप्रभु भन्‍नुहुन्छ; किनकि तैंले मलाई भुलेको छस्, र झूटमाथि भरोसा राखेको छस्। 26 यसकारण म तेरा लुगाका फेरहरू तेरो अनुहारमाथिसम्म उघारिदिनेछु, र तेरो शर्म देखा परोस्। 27 मैले मैदानमा, डाँड़ाहरूमाथि तेरा व्यभिचारहरू, तेरा हिनहिनाइहरू, तेरा वेश्यापनाको कामुकता र तेरा घृणित वस्तुहरू देखेको छु। हे यरूशलेम, तँलाई हाय! के तँ शुद्ध हुनेछैनस्? अझै कति समयपछि?”