परमप्रभुसँग यर्मियाको प्रश्‍न
12
“हे परमप्रभु, जब म तपाईंकहाँ मेरो मुद्दा पेस गर्छु, तब तपाईं नै धर्मी ठहरिनुहुन्छ; तरै पनि तपाईंसित तपाईंका न्यायका फैसलाहरूको विषयमा म बोल्न पाऊँ! दुष्‍टहरूको चाल किन सफल हुन्छ? र अति विश्‍वासघातसाथ काम गर्नेहरू सबै किन सुखी हुन्छन्? 2 तपाईंले तिनीहरूलाई रोप्‍नुभएको छ, अँ, तिनीहरूले जरा हालेका छन्; तिनीहरू बढ़्छन्, अँ, तिनीहरूले फल फलाउँछन्; तिनीहरूको मुखमा तपाईं नजिक हुनुहुन्छ, तर तिनीहरूको अन्तस्करणदेखि तपाईं टाढ़ो हुनुहुन्छ। 3 तर हे परमप्रभु, तपाईं मलाई चिन्‍नुहुन्छ; तपाईंले मलाई देख्‍नुभएको छ, र मेरो हृदयलाई, यो तपाईंप्रति केकस्‍तो छ, सो जाँच्‍नुभएको छ; मारिनका निम्ति तिनीहरूलाई भेड़ाहरूझैं तानेर निकाल्नुहोस्, र काटमारको दिनका निम्ति तिनीहरूलाई तयार पार्नुहोस्! 4 देशमा बस्‍नेहरूको दुष्‍टताले गर्दा कहिलेसम्म देशले विलाप गरिरहोस्, र हरेक मैदानको घाँस ओइलिरहोस्? पशुहरू र पक्षीहरू नष्‍ट भए; किनकि तिनीहरूले भने: ‘उहाँले हाम्रो अन्त देख्‍नुहुनेछैन।’ ”
यर्मियालाई परमप्रभुको जवाफ
5 “तिमी पैदल-सिपाहीहरूसँग दगुर्‍यौ, र तिनीहरूले तिमीलाई थकाइदिए भने कसरी तिमी घोड़ाहरूसँग होड़ गर्न सक्छौ? अनि शान्तिको देशमा नै, जसमा तिमी भरोसा राख्छौ, तिनीहरूले तिमीलाई थकाइदिए भने त यर्दनको बाढ़मा तिमी कसो गर्छौ? 6 किनकि तिम्रा दाजुभाइहरू, र तिम्रा बुबाको घरानाले नै, अँ, तिनीहरूले नै तिमीसित विश्‍वासघात गरेका छन्; अँ, तिनीहरूले नै तिम्रो पछि एउटा भीड़ बोलाएका छन्; तिनीहरूले तिमीसित मीठा-मीठा कुराहरू बोले तापनि तिनीहरूलाई विश्‍वास नगर!”
7 “मैले आफ्नो घरलाई त्यागेको छु; मैले आफ्नो अधिकारको भागलाई छोड़ेको छु; मैले आफ्नो प्राणकी प्रियालाई उसका शत्रुहरूको हातमा सुम्पिदिएको छु। 8 मेरो अधिकारको भाग मेरा निम्ति वनको सिंहजस्तो भएको छ; ऊ मेरो विरोधमा गर्जन्छ; यसैले मैले उसलाई घृणा गरेको छु। 9 मेरो अधिकारको भाग मेरा निम्ति छिरबिरे शिकारी चराजस्तो हो; शिकारी चराहरू चारैतिरबाट उसको विरोधमा छन्; जाओ, मैदानका सबै पशुहरूलाई भेला पार! खाइदिनलाई तिनलाई ल्याओ! 10 धेरै गोठालाहरूले मेरो दाखबारी नाश पारेका छन्; तिनीहरूले मेरो भाग कुल्चीमिल्ची पारेका छन्; तिनीहरूले मेरो मनोहर भाग एउटा उजाड़ मरुभूमि तुल्याएका छन्। 11 तिनीहरूले त्यसलाई उजाड़ पारेका छन्, र उजाड़ भएर त्यो मेरो सामु विलाप गर्छ; सारा देश उजाड़ तुल्याइएको छ; किनकि कसैले पनि यो कुरा हृदयमा राख्दैन। 12 उजाड़स्थानबाट भएर नाश गर्नेहरू सबै अग्ला-अग्ला ठाउँहरूमाथि आएका छन्; किनकि देशको एक छेउदेखि देशको अर्को छेउसम्म परमप्रभुको तरवारले निल्नेछ; कुनै प्राणीलाई शान्ति हुनेछैन। 13 तिनीहरूले गहुँ छरेका छन्, तर तिनीहरूले काँड़ाहरूको कटनी गर्नेछन्; तिनीहरूले कष्‍ट उठाएका छन्, तर तिनीहरूलाई कुनै फाइदा हुनेछैन; अनि परमप्रभुको बल्दो रिसको कारणले तिनीहरू तिमीहरूका कमाइहरूको विषयमा लज्जित हुनेछन्।
14 मैले आफ्नो प्रजा इस्राएललाई अधिकार गर्न दिएको त्यो अधिकारको भागलाई छुने मेरा सबै दुष्‍ट छिमेकीहरूको विरोधमा परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, म उनीहरूलाई तिनीहरूको देशबाट उखाल्नेछु, र तिनीहरूको बीचबाट यहूदाको घरानालाई उखाल्नेछु। 15 अनि यस्तो हुनेछ: उनीहरूलाई मैले उखालेपछि म फर्कनेछु र उनीहरूलाई दया देखाउनेछु, अनि उनीहरू हरेकलाई आ-आफ्नो अधिकारको भागमा र हरेकलाई आ-आफ्नो भूमिमा फर्काएर ल्याउनेछु। 16 अनि यस्तो हुनेछ: जसरी तिनीहरूले मेरो प्रजालाई बालको नाममा शपथ खान सिकाएका थिए, त्यसरी नै तिनीहरूले ‘परमप्रभुको जीवनको शपथ!’ भनेर मेरो नाममा शपथ खानलाई मेरो प्रजाका चालहरू यत्‍नपूर्वक सिके भने तिनीहरू मेरो प्रजाको बीचमा निर्माण गरिनेछन्। 17 तर तिनीहरूले आज्ञापालन गरेनन् भने म त्यस जातिलाई पूरै रीतिले उखालेर नाश गर्नेछु, परमप्रभु भन्‍नुहुन्छ।”