परमप्रभुको वाचा तोड़्नेहरूलाई श्राप!
11
परमप्रभुबाट यर्मियाकहाँ आएको यसो भन्ने वचन: 2 “तिमीहरूले यस वाचाका वचनहरू सुन! अनि तिमी यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूसित बोल! 3 र तिनीहरूलाई भन: परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, त्यो मानिस श्रापित होस्, जसले यस वाचाका वचनहरू पालन गर्दैन, 4 जुन वाचा मैले तिमीहरूका पितापुर्खाहरूलाई फलामको भट्टीबाट अर्थात् मिस्र देशबाट निकालेर ल्याएको दिनमा ‘मेरो वाणी पालन गर, र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुराहरूअनुसार तिनलाई पालन गर! तब तिमीहरू मेरो प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु’ भन्दै उनीहरूलाई आज्ञा गरेको थिएँ; 5 कि तिमीहरूका पितापुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु भनी मैले उनीहरूसँग शपथ खाएर बाँधेको वाचा म पूरा गर्न सकूँ, जस्तो आजको दिनमा भएको छ।” तब मैले जवाफ दिएर भनें: “हे परमप्रभु, यस्तै होस्क!” 6 तब परमप्रभुले मलाई भन्नुभयो: “यहूदाका शहरहरूमा र यरूशलेमका सड़कहरूमा यसो भन्दै यी सबै वचनहरू प्रचार गर: तिमीहरूले यस वाचाका वचनहरू सुन र तिनलाई पालन गर! 7 किनकि मैले तिमीहरूका पितापुर्खाहरूलाई मिस्र देशबाट निकालेर ल्याएको दिनमा, अँ, आजको दिनसम्म पनि, सबेरै उठ्दै र चेताउनी दिँदै ‘मेरो वाणी पालन गर’ भन्दै उनीहरूलाई कड़ा चेताउनी दिएँ; 8 तरै पनि तिनीहरूले आज्ञापालन गरेनन्, न ता आफ्नो कान थापे; तर तिनीहरू हरेक आ-आफ्नो दुष्ट हृदयको कल्पनाअनुसारख हिँड़े; यसकारण यस वाचाका यी सबै वचनहरू म तिनीहरूमाथि ल्याउनेछु, जुन वचन पालन गर्नू भनी मैले तिनीहरूलाई आज्ञा गरेको थिएँ; तर तिनीहरूले ती गरेनन्।”9 अनि परमप्रभुले मलाई भन्नुभयो: “यहूदाका मानिसहरूको बीचमा र यरूशलेमका बासिन्दाहरूको बीचमा एउटा षड़्यन्त्र पाइएको छ। 10 तिनीहरू अघिका आफ्ना पितापुर्खाहरूका अधर्महरूतिर फर्केका छन्, जसले मेरा वचन सुन्न इन्कार गरेका थिए; अनि तिनीहरू अन्य देवताहरूको पूजाग गर्नलाई तिनीहरूको पछि लागे; इस्राएलको घराना र यहूदाको घरानाले तिनीहरूका पितापुर्खाहरूसँग मैले बाँधेको वाचा तोड़ेका छन्। 11 यसकारण परमप्रभु यसो भन्नुहुन्छ: हेर, म तिनीहरूमाथि विपत्ति ल्याउनेछु, जसबाट तिनीहरू उम्कन सक्नेछैनन्; अनि तिनीहरूले मलाई पुकारे तापनि म तिनीहरूको विन्ती सुन्नेछैनँ। 12 तब यहूदाका शहरहरू र यरूशलेमका बासिन्दाहरू गएर ती देवताहरूलाई पुकार्नेछन्, जसलाई तिनीहरूले धूप बाल्छन्; तर तिनीहरूको विपत्तिको समयमा यिनीहरूले तिनीहरूलाई पटक्कै बचाउनेछैनन्। 13 हे यहूदा, तेरा शहरहरूको संख्याअनुसार तेरा देवताहरू थिए; अनि यरूशलेमका सड़कहरूको संख्याअनुसार त्यस शर्मलाग्दो वस्तुका निम्ति तिमीहरूले वेदीहरू, अँ, बाललाई धूप बाल्ने वेदीहरू खड़ा गरेका छौ।
14 यसकारण तिमीले ती मानिसहरूका निम्ति प्रार्थना नगर, न ता तिनीहरूका निम्ति पुकार र प्रार्थना नै चढ़ाऊ; किनकि तिनीहरूको विपत्तिको कारणले जब तिनीहरूले मलाई पुकार्लान्, तब म तिनीहरूको विन्ती सुन्नेछैनँ। 15 मेरो घरमा मेरा प्रियको के काम छ र, जब त्यसले धेरैसँग कुकर्म गरेकी छे, र पवित्र मासु तँबाट गइसकेको छ? खराबी गर्दा तँ खूबै रमाउँछेस्घ। 16 परमप्रभुले तेरो नाम ‘सुन्दर र मनोहर फलले युक्त, हरियो जैतुनको रूख’ राख्नुभएको थियो; तर ठूलो कोलाहलको आवाजको साथ उहाँले त्यसमा एउटा आगो सल्काउनुभयो, र त्यसका हाँगाहरू भाँचिए। 17 किनकि तँलाई रोप्नुहुने सेनाहरूका परमप्रभुले इस्राएलको घराना र यहूदाको घरानाको दुष्टताको कारणले तेरो विरोधमा विपत्तिङ ल्याउने कुरा गर्नुभएको छ, जुन दुष्टता तिनीहरूले मलाई रिस उठाउनका निम्ति बाललाई धूप बालेर आफ्नै विरोधमा गरेका छन्।”
यर्मियाको विरोधमा रचिएको षड़्यन्त्र
18 अनि परमप्रभुले मलाई यस कुराको ज्ञान दिनुभयो, र मैले यो जानें; तब तपाईंले मलाई तिनीहरूका कामहरू देखाउनुभयो। 19 तर म त मारिनलाई ल्याइएको भेड़ाको पाठो वा गोरुजस्तो थिएँ; अनि तिनीहरूले यसो भन्दै मेरो विरोधमा युक्तिहरू रचेका छन् भन्ने कुरा मलाई थाहा थिएन: ‘आओ, हामी यस रूखलाई यसको फलसितै नाश गरिदिऔं र जीवितहरूको मुलुकबाट यसलाई मेटाइदिऔं, र यसको नामको सम्झनाधरि नरहोस्!’ 20 तर धार्मिकतापूर्वक न्याय गर्नुहुने, अनि अन्तस्करण र हृदयलाई जाँच्नुहुने हे सेनाहरूका परमप्रभु, तिनीहरूमाथि तपाईंले लिनुभएको तपाईंको बदला म देख्न पाऊँ; किनकि तपाईंकहाँ मैले आफ्नो मामला प्रकट गरेको छु।
21 “यसकारण अनातोतका मानिसहरूको विषयमा, जसले ‘परमप्रभुको नाममा भविष्यवाणी नगर, नत्र ता तँ हाम्रो हातबाट मर्नेछस्’ भन्दै तिम्रो प्राण लिन खोज्छन्, परमप्रभु यसो भन्नुहुन्छ: 22 यसकारण सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: हेर, म तिनीहरूलाई दण्ड दिनेछु; जवान मानिसहरू तरवारले मर्नेछन्; तिनीहरूका छोराहरू र तिनीहरूका छोरीहरू अनिकालले मर्नेछन्; 23 अनि तिनीहरूको कुनै बाँकी रहेको भाग हुनेछैन; किनकि म अनातोतका मानिसहरूमाथि विपत्तिङ, अँ, तिनीहरूको दण्डको वर्ष ल्याउनेछु।”