मूर्तिहरू र सत्य परमेश्‍वर
10
“हे इस्राएलको घराना, तिमीहरूले यो वचन सुन, जुन वचन परमप्रभुले तिमीहरूलाई भन्‍नुहुन्छ। 2 परमप्रभु यसो भन्‍नुहुन्छ: अन्यजातिहरूको चाल नसिक, र आकाशका चिन्हहरूदेखि भयभीत नहोओ; किनकि अन्यजातिहरू त तीदेखि भयभीत हुन्छन्। 3 किनकि जाति-जातिका मानिसहरूका रीतिहरू व्यर्थका हुन्; किनकि कसैले वनबाट एउटा रूख काट्छ; यो त बन्चरोद्वारा गरिने कारिगरका हातहरूको काम हो। 4 तिनीहरूले चाँदी र सुनले त्यसलाई सिँगार्छन्; त्यो नहल्‍लोस् भनेर तिनीहरूले त्यसलाई कीलाहरू र हतौड़ीहरूले बलियो पार्छन्। 5 ती खजूरको रूखजस्तै सीधा हुन्छन्, तर बोल्दैनन; तिनलाई बोक्नैपर्छ, किनकि ती हिँड़्न सक्दैनन्। तीसँग नडराओ; किनकि ती खराबी गर्न सक्दैनन्, न ता भलो गर्न नै तीसँग क्षमता हुन्‍छ।
6 हे परमप्रभु, तपाईंजस्तो अरू कोही छैन; तपाईं महान् हुनुहुन्छ; अनि पराक्रममा तपाईंको नाम महान् छ। 7 हे जाति-जातिका राजा, को तपाईंसँग डराउनेछैन; किनकि यो कुरा तपाईंलाई सुहाउँछ; किनकि जाति-जातिका सबै बुद्धिमान् मानिसहरूको बीचमा र तिनीहरूका सबै राज्यहरूमा तपाईंजस्तो अरू कोही छैन। 8 तर तिनीहरू त बिलकुलै पशुसरह र मूर्ख छन्; काठको ठुटा त व्यर्थ कुराहरूको शिक्षा हो। 9 चाँदी पिटेर बनाइएको पातलो पाता टार्शिशबाट र सुनचाहिँ उपाजबाट ल्याइन्छ – यो कारिगरको काम र सुनारको हातको काम हो; तिनको वस्त्र नीलो र बैजनी हुन्छ; ती सबै निपुण मानिसहरूको काम हुन्। 10 तर परमप्रभु त सत्य परमेश्‍वर हुनुहुन्छ; जीवित परमेश्‍वर र अनन्त राजा उहाँ नै हुनुहुन्छ; उहाँको क्रोधमा पृथ्वी थरथर काम्‍नेछ, र उहाँको प्रकोपमा जातिहरू टिक्न सक्नेछैनन्।
11 तिमीहरूले तिनीहरूलाई यसो भन्‍नू: ‘जुन देवताहरूले आकाश र पृथ्वी बनाएनन्, ती देवताहरूचाहिँ पृथ्वीबाट र यस आकाशमुनिबाट नष्‍ट हुनेछन्।’ 12 उहाँले आफ्नो सामर्थ्यले पृथ्वीलाई बनाउनुभयो; उहाँले आफ्नो बुद्धिले संसारलाई स्थापित गर्नुभयो र आफ्नो समझले आकाशलाई फैलाउनुभयो। 13 जब उहाँले आफ्नो सोर निकाल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ; अनि पृथ्वीका छेउ-छेउबाट उहाँले कुइरो उठाउनुहुन्छ; उहाँले वर्षाका निम्ति बिजुली बनाउनुहुन्छ र आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ। 14 हरेक मानिस आफ्नो ज्ञानको सम्बन्धमा पशुसरह हुन्छ; हरेक सुनार खोपिएको मूर्तिले गर्दा लज्जित हुन्छ; किनकि त्यसको ढालिएको मूर्ति झूट हो, र तिनमा सासै छैन। 15 ती व्यर्थका हुन्, भ्रमैभ्रमको काम हुन्; तिनको दण्डको समयमा ती नाश हुनेछन्। 16 याकूबको भाग तीजस्ता हुनुहुन्‍न; किनकि उहाँचाहिँ सबै कुराहरूको रचनाकार हुनुहुन्छ; अनि इस्राएलचाहिँ उहाँको अधिकारको भागको राजदण्ड हो; सेनाहरूको परमप्रभु उहाँको नाम हो।
17 हे घेराउमा बस्‍नेहो, भुइँबाट आफ्नो सरसामान बटुल्! 18 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, यसपालि म यस देशका बासिन्दाहरूलाई घुयेंत्रामा हालेर घुइँक्याइदिनेछु र तिनीहरूलाई सङ्कष्‍टमा पार्नेछु, यसैले कि तिनीहरूले यसलाई यस्तै भेट्टाऊन्।
19 मेरो चोटको खातिर मलाई हाय! मेरो घाउ कष्‍टदायक छ; तर मैले भनें: साँच्‍चै यो एउटा कष्‍ट हो, र मैले यो सहनुपर्छ। 20 मेरो पाल नष्‍ट भयो, र मेरा सबै डोरीहरू चुँड़िए; मेरा छोराछोरीहरू मबाट निस्केर गए, र तिनीहरू छँदैछैनन्; मेरो पाल फेरि टाँगिदिने र मेरा पर्दाहरू लगाइदिने कोही पनि छैन। 21 किनकि गोठालाहरू पशुसरह भएका छन्, र परमप्रभुको खोजी गरेका छैनन्; यसैकारण तिनीहरू सफल हुनेछैनन्, र तिनीहरूका सबै बगालहरू तितरबितर हुनेछन्। 22 हेर, यहूदाका शहरहरू उजाड़ पार्न, अँ, स्यालहरूको ओड़ार बनाउन एउटा उड़न्ता खबरको हल्‍ला र उत्तरको देशबाट एउटा ठूलो होहल्‍ला आउँदैछ।
23 हे परमप्रभु, म जान्दछु, मानिसको चाल त्यसको हातमा छैन; हिँड़िरहेको मानिसले आफ्ना पाइलाहरू सुव्यवस्थित गर्नु पनि त्यसको वशमा छैन। 24 हे परमप्रभु, मलाई ताड़ना त दिनुहोस्, तर न्यायसहित, तपाईंको रिसमा होइन; नत्रभने तपाईंले मलाई शेष पार्नुहुन्छ 25 आफ्नो क्रोध ती जातिहरूमाथि खन्याउनुहोस्, जसले तपाईंलाई चिन्दैनन्, र ती परिवारहरूमाथि पनि, जसले तपाईंको नाम पुकार्दैनन्; किनकि तिनीहरूले याकूबलाई खाइदिएका छन्, उसलाई निलेका छन् र उसलाई नाश गरिदिएका छन्, अनि उसको वासस्थान उजाड़ पारिदिएका छन्।”