9
“मेरो टाउको पानी नै पानी, र मेरा आँखाहरूचाहिँ आँसुको एउटा मुहान भएको भए त म मेरो प्रजाकी छोरीका मारिएकाहरूका निम्ति दिनरात रुनेथिएँ! 2 उजाड़स्थानमा यात्रीहरूका निम्ति एउटा वास बस्ने ठाउँ भए त म मेरो प्रजालाई छोड़ेर तिनीहरूबाट गइहाल्नेथिएँ! किनकि तिनीहरू सबै व्यभिचारीहरू हुन्, विश्वासघाती मानिसहरूको समुदाय हुन्। 3 अनि तिनीहरू झूट बोल्न आफ्ना जिब्राहरू आफ्नो धनुझैं नुहाउँछन्; तर पृथ्वीमाथि तिनीहरू सत्यताका निम्ति वीर छैनन्; किनभने तिनीहरू एउटा खराबीबाट अर्को खराबीमा बढ़्दै जान्छन्, र मलाई चिन्दैनन्, परमप्रभु भन्नुहुन्छ।4 तिमीहरू हरेक आ-आफ्नो छिमेकीदेखि होशियार रहो, र कुनै दाजुभाइमाथि भरोसा नराख; किनकि पक्का पनि हरेक दाजुभाइले छल गरेर अर्काको ठाउँ ओगट्नेछ, र हरेक छिमेकी निन्दा गर्दै घुमिहिँड़्नेछ। 5 अनि तिनीहरू हरेकले आ-आफ्नो छिमेकीलाई ठग्नेछन्, र सत्य बोल्नेछैनन्; तिनीहरूले आफ्नो जिब्रो झूट बोल्न सिकाएका छन्; अनि अधर्म गर्नमा तिनीहरूले आफूलाई थकाउँछन्। 6 तेरो वासस्थान छलको बीचमा छ; छलकै कारणले तिनीहरूले मलाई चिन्न इन्कार गर्छन्, परमप्रभु भन्नुहुन्छ।
7 यसकारण सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: हेर, म तिनीहरूलाई खार्नेछु र तिनीहरूलाई जाँच्नेछु; किनकि मेरो प्रजाकी छोरीका निम्ति म अरू केकस्तो गर्न सक्छु र? 8 तिनीहरूको जिब्रो हानिएकोक काँड़ हो; त्यसले छलको कुरा बोल्छ; कसैले आफ्नो छिमेकीसँग आफ्नो मुखले शान्तिको कुरा बोल्ला, तर आफ्नो हृदयमाख भने ढुकेर बस्ने ताकमा रहन्छ। 9 के म तिनीहरूलाई यी कुराहरूका निम्ति दण्ड नदिऊँ? अथवा के योजस्तो जातिमाथि मेरो मनलेग बदला नलेओस् र?, परमप्रभु भन्नुहुन्छ।
यरूशलेमको विनाश र त्यसका निम्ति गरिएको विलाप
10 पहाड़हरूका निम्ति म रुवाइ र विलौना गर्नेछु, र उजाड़स्थानका खर्कहरूका निम्ति म शोकको गीत गाउनेछु, किनभने ती जले, यहाँसम्म कि कोही पनि त्यहाँबाट भएर जाँदैन, न मानिसहरूले गाईबस्तुको आवाज सुन्न सक्छन्; आकाशको चरादेखि लिएर पशुसम्म सबै भागे; ती गइगए। 11 अनि म यरूशलेमलाई रासैरास, र स्यालहरूको ओड़ार तुल्याउनेछु; अनि म यहूदाका शहरहरू कुनै बासिन्दा नरहने गरी उजाड़ पार्नेछु।
12 यो कुरा बुझ्न सक्ने बुद्धिमान् मानिस को होला? अनि त्यो को होला, जससँग परमप्रभुको मुखले बोलेको छ? तब के कारणले यो देश नाश भइरहेको छ र कोही त्यहाँबाट भएर जान नसक्ने गरी उजाड़स्थानझैं जलिरहेको छ, सो त्यसले बताओस्! 13 अनि परमप्रभु भन्नुहुन्छ: किनभने तिनीहरूले मेरो व्यवस्था त्यागेका छन्, जुन व्यवस्था मैले तिनीहरूको सामु राखें, र मेरो वाणी मानेका छैनन्, न ता त्यसमा नै हिँड़े; 14 तर तिनीहरू आफ्नै हृदयको कल्पनाकोघ पछि र बाल देवताहरूको पछि हिँड़ेथे, जुन कुरा तिनीहरूका पितापुर्खाहरूले तिनीहरूलाई सिकाए; 15 यसकारण इस्राएलका परमेश्वर, सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: हेर, म तिनीहरूलाई, अँ, यस प्रजालाई तीतेपाती खुवाउनेछु र पिउनलाई तिनीहरूलाई पित्तको पानी दिनेछु। 16 अनि म तिनीहरूलाई ती जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, जसलाई न तिनीहरूले, न तिनीहरूका पितापुर्खाहरूले चिनेका छन्; अनि तिनीहरूको अन्त नगरुन्जेल म तिनीहरूको पछि एउटा तरवार पठाउनेछु।
17 सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले विचार गरङ! अनि विलाप गर्ने स्त्रीहरूलाई बोलाओ, र ती आऊन्; अनि निपुण स्त्रीहरूलाई बोलाओ, र ती आऊन्; 18 अनि उनीहरूले हतार गरून्, अनि हाम्रा निम्ति बिलौना गरिदिऊन्, र हाम्रा आँखाहरूबाट आँसु झरून्, र हाम्रा पटलहरूले पानीको धारा बगाऊन्! 19 किनकि सियोनबाट विलौनाको सोर सुनिँदैछ – हामी कसरी नाश भयौं! हामी अति लज्जित छौं; किनभने हामीले देशलाई छोड़ेका छौं; किनकि हाम्रा वासस्थानहरूले हामीलाई फ्याँकिदिए। 20 तर हे स्त्रीहरूहो, परमप्रभुको वचन सुन, र तिमीहरूको कानले उहाँको मुखको वचन ग्रहण गरोस्, अनि आफ्ना छोरीहरूलाई बिलौना गर्न सिकाओ, अँ, हरेकले आ-आफ्नो छिमेकीलाई विलापको गीत सिकाओस्! 21 किनकि सड़कबाटच बालबच्चाहरूलाई र चोकहरूबाट जवान मानिसहरूलाई मेटाइदिनलाई मृत्यु हाम्रा झ्यालहरूमा चढ़ेको छ, र हाम्रा महलहरूभित्र पसेको छ। 22 भन: परमप्रभु यसो भन्नुहुन्छ, अँ, मानिसहरूका लासहरू खुला मैदानमाथि मलसरह र कटनी गर्नेको पछिल्तिर छोड़िएको मुठाजस्तो पड़िरहनेछन्, तर कसैले ती बटुल्नेछैन।
23 परमप्रभु यसो भन्नुहुन्छ: बुद्धिमान्ले आफ्नो बुद्धिमा गर्व नगरोस्, न शक्तिमान्ले आफ्नो शक्तिमा गर्व गरोस्, न धनवान्ले आफ्नो धनमा गर्व गरोस्; 24 तर जसले गर्व गर्दछ, उसले मलाई ‘परमप्रभु म नै हुँ; मचाहिँ पृथ्वीमा करुणा, न्याय र धार्मिकताको काम गर्छु’ भनी बुझेको र चिनेकोमा गर्व गरोस्; किनकि यी कुराहरूमा म प्रसन्न हुन्छु, परमप्रभु भन्नुहुन्छ।
25 परमप्रभु भन्नुहुन्छ: हेर, दिनहरू आउँदैछन्, जब म सबै खतना भएकाहरूलाई खतना नभएकाहरूको साथमा दण्ड दिनेछु; 26 अर्थात् मिस्र, यहूदा, एदोम र अम्मोनीहरू, साथै मोआब र ती सबैलाई जो पल्ला कुनाहरूमा छन्छ, जो उजाड़स्थानमा बस्छन्; किनकि यी सबै जातिहरू खतना नभएकाहरू हुन्, र इस्राएलको सारा घरानाचाहिँ हृदयको खतना नभएकाहरू हुन्।”