परमप्रभुको भवनको मूलढोकामा यर्मियाको प्रचार
7
परमप्रभुबाट यर्मियाकहाँ आएको यसो भन्‍ने वचन: 2 “परमप्रभुको भवनको मूलढोकामा खड़ा होऊ! र त्यहाँ यो वचन प्रचार गरेर भन: परमप्रभुलाई दण्‍डवत्‌ गर्न यी मूलढोकाहरूबाट भित्र पस्‍ने हे सबै यहूदीहरूहो, परमप्रभुको वचन सुन! 3 इस्राएलका परमेश्‍वर, सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ: आफ्ना चालहरू र आफ्ना कामहरू सुधार; अनि म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु। 4 ‘परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर यी नै हुन्’ भन्दै झूटा वचनहरूमा तिमीहरू भरोसा नराख! 5 किनकि यदि तिमीहरूले आफ्ना चालहरू र आफ्ना कामहरू पूर्ण रूपले सुधार्‍यौ भने, यदि तिमीहरूले कुनै मानिस र त्यसको छिमेकीको बीचमा पक्‍का न्याय गर्‍यौ भने; 6 यदि तिमीहरूले परदेशी, टुहुराटुहुरी र विधवालाई थिचोमिचो गरेनौ भने, यस ठाउँमा निर्दोष रगत बगाएनौ भने र आफ्नै खराबीका निम्ति पराई देवताहरूको पछि हिँड़ेनौ भने, 7 म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु – यस देशमा, जुनचाहिँ मैले तिमीहरूका पितापुर्खाहरूलाई सदा-सर्वदाका निम्ति दिएँ।
8 हेर, तिमीहरू झूटा वचनहरूमा भरोसा राख्छौ, जसबाट कुनै फाइदा हुँदैन। 9 के तिमीहरू चोरी गर्छौ, हत्या गर्छौ र व्यभिचार गर्छौ, अनि झूटो शपथ खान्छौ, बाललाई धूप बाल्छौ र अन्य देवताहरूको पछि हिँड़्छौ, जसलाई तिमीहरूले जानेका छैनौ, 10 अनि आएर यस भवनमा मेरो सामु उभिन्छौ, जुन भवन मेरो नामले कहलाइएको छ, र भन्छौ: ‘यी सबै घृणित कामहरू गर्न भनी हामीलाई छुटकारा मिलेको छ?’ 11 के तिमीहरूको दृष्‍टिमा मेरो नामले कहलाइएको यो भवन डाँकूहरूको ओड़ार भएको छ? हेर, मैले नै यो देखेको छु, परमप्रभु भन्‍नुहुन्छ। 12 तर अब मेरो त्यस ठाउँमा जाओ, जुन ठाउँ शीलोमा थियो, जहाँ मैले पहिले मेरो नाम राखेको थिएँ; र मेरो प्रजा इस्राएलको दुष्‍टताले गर्दा मैले त्यसलाई के गरेको छु, सो हेर! 13 अनि अब, तिमीहरूले यी सबै कामहरू गरेका हुनाले, परमप्रभु भन्‍नुहुन्छ, अँ, सबेरै उठ्दै र बोल्दै मैले तिमीहरूसित बोलें, तर तिमीहरूले सुनेनौ; अनि मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ; 14 यसैकारण म मेरो नामले कहलाइएको यस भवनसित, जसमाथि तिमीहरू भरोसा राख्दछौ, र मैले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको यस ठाउँसित पनि जस्तो मैले शीलोसित गरें, त्यस्तै गर्नेछु। 15 अनि जसरी मैले तिमीहरूका सबै दाजुभाइहरूलाई अर्थात् एप्रैमको सारा वंशलाई फ्याँकिदिएँ, त्यसरी नै म तिमीहरूलाई मेरो दृष्‍टिबाट फ्याँकिदिनेछु।
16 यसकारण तिमीले यी मानिसहरूका निम्ति प्रार्थना नगर, न ता तिनीहरूका निम्ति पुकार र प्रार्थना नै चढ़ाऊ, न ता मलाई अन्तर्विन्‍ती नै गर; किनकि म तिम्रो विन्‍ती सुन्‍नेछैनँ। 17 तिनीहरूले यहूदाका शहरहरूमा र यरूशलेमका सड़कहरूमा के गरिरहेका छन्, के तिमी देख्दैनौ? 18 छोराछोरीहरू दाउरा बटुल्छन्, बुबाहरू आगो सल्काउँछन्, र स्त्रीहरू स्वर्गकी रानीका निम्ति फुरौलाहरू बनाउन पीठो मुछ्छन् र मलाई रिस उठाउन भनी अन्य देवताहरूलाई अर्घबलिहरू चढ़ाउँछन् 19 के तिनीहरूले मलाई नै रिस उठाइरहेका छन् त? के तिनीहरूका आफ्नै अनुहारको शर्मका निम्ति तिनीहरूले आफैलाई रिस उठाएका होइनन् र?, परमप्रभु भन्‍नुहुन्छ। 20 यसकारण प्रभु यहोवा यसो भन्‍नुहुन्छ: हेर, मेरो रिस र मेरो क्रोध यस ठाउँमाथि, मानिस र पशुमाथि, अनि मैदानका रूखहरू र जमिनको फलमाथि खनिनेछन्; अनि यो जलिरहनेछ, र निभ्नेछैन।
21 इस्राएलका परमेश्‍वर, सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ: आफ्ना बलिदानहरूमाथि आफ्ना होमबलिहरू थुपारिराख, र मासु खाओ! 22 किनकि जुन दिन मैले तिमीहरूका पितापुर्खाहरूलाई मिस्र देशबाट निकालेर ल्याएँ, त्यस दिन मैले उनीहरूलाई होमबलिहरू र बलिदानहरूको विषयमा केही भनिनँ, न आज्ञा नै दिएँ; 23 तर यसो भन्दै मैले उनीहरूलाई यो कुरा आज्ञा गरें: मेरो वाणी पालन गर, र म तिमीहरूको परमेश्‍वर हुनेछु, अनि तिमीहरू मेरो प्रजा हुनेछौ; अनि मैले तिमीहरूलाई आज्ञा गरेका सबै मार्गहरूमा हिँड़, र तिमीहरूको भलो हुनेछ। 24 तर तिनीहरूले ध्यानसित सुनेनन्, न ता आफ्नो कान नै थापे, तर आफ्नै सल्‍लाहहरू र आफ्नो दुष्‍ट हृदयको कल्पनाअनुसार हिँड़े, र अघि होइन, तर पछि सरे। 25 तिमीहरूका पितापुर्खाहरू मिस्र देशबाट निस्केर आएको दिनदेखि आजको दिनसम्म दिनहुँ सबेरै उठ्दै र पठाउँदै मैले आफ्ना सबै दासहरू अर्थात् भविष्यवक्ताहरूलाई तिमीहरूकहाँ पठाउँथे। 26 तरै पनि तिनीहरूले मेरो कुरा ध्यानसित सुनेनन्, न ता मतिर आफ्नो कान नै थापे, तर आफ्नो गर्दन कड़ा पारे; तिनीहरूले आफ्ना पितापुर्खाहरूले भन्दा बढ़ी खराबी गरे। 27 यसकारण तिमीले यी सबै वचनहरू तिनीहरूलाई भन्‍नू; तर तिनीहरूले तिम्रो कुरा सुन्‍नेछैनन्; अनि तिमीले तिनीहरूलाई बोलाउनू, तर तिनीहरूले तिमीलाई जवाफ दिनेछैनन्। 28 तर तिमीले तिनीहरूलाई भन्‍नू: यो त्यही जाति हो, जसले परमप्रभु आफ्ना परमेश्‍वरको वाणी पालन गर्दैन, न ता सुधार नै ग्रहण गर्छ; सत्यता नाश भयो, र तिनीहरूको मुखबाट काटियो।
झूटा धर्ममाथि आइपर्ने न्याय
29 हे यरूशलेम, आफ्नो कपाल खौरेर फ्याँकिदे, र अग्ला ठाउँहरूहुँदो विलापगीत गा; किनकि परमप्रभुले आफ्नो क्रोध परेको यस पुस्तालाई रद्द गर्नुभएको र त्याग्‍नुभएको छ। 30 किनकि यहूदीहरूले मेरो दृष्‍टिमा खराबी गरेका छन्, परमप्रभु भन्‍नुहुन्छ; तिनीहरूले मेरो नामले कहलाइएको यस भवनलाई अशुद्ध पार्न यसमा आफ्ना घृणित वस्तुहरू राखेका छन्। 31 तिनीहरूले आफ्ना छोराहरू र आफ्ना छोरीहरूलाई आगोमा जलाउने हेतुले तोपेत नामक उच्‍च स्थानहरू बनाए, जुन तोपेत हिन्‍नोमको छोराको बेंसीमा छ, जुन कुराचाहिँ मैले आज्ञा गरिनँ, न ता त्यो कुरा मेरो मनमै आयो। 32 यसकारण हेर, दिनहरू आउँदैछन्, परमप्रभु भन्‍नुहुन्छ, जुन बेला त्यो फेरि ‘तोपेत’ भनिनेछैन, न ता ‘हिन्‍नोमको छोराको बेंसी’ नै भनिनेछ, तर ‘काटमारको बेंसी’ भनिनेछ; किनकि ठाउँ नै नरहुन्‍जेल तिनीहरूले तोपेतमा गाड़्‍नेछन्। 33 अनि यी मानिसहरूका लासहरू आकाशका चराहरू र पृथ्वीका पशुहरूका निम्ति आहार बन्‍नेछन्; अनि कसैले पनि तिनीहरूलाई तर्साएर धपाउनेछैन। 34 त्यस बेला म यहूदाका शहरहरू र यरूशलेमका सड़कहरूबाट हर्षको सोर र आनन्दको सोर, दुलहाको सोर र दुलहीको सोर बन्द गरिदिनेछु; किनकि त्यो देश उजाड़ हुनेछ।”