यरूशलेम घेराबन्दीभित्र पर्नेछ
6
“हे बिन्यामिनीहरूहो, यरूशलेमको बीचबाट भाग्‍न भेला होओ! र टेकोअमा तुरही फुक! अनि बेत-हक्‍केरेममा आगोको चिन्ह खड़ा गर; किनकि उत्तरबाट विपत्ति र ठूलो विनाश देखा परिरहेछ। 2 म सियोनकी छोरीलाई, त्यस सुन्दरी र कोमल स्त्रीलाई नाश गर्नेछु। 3 आफ्ना बगालहरूको साथमा गोठालाहरू उसकहाँ आउनेछन्; तिनीहरूले उसको विरोधमा वरिपरि आफ्ना पालहरू टाँग्‍नेछन्; तिनीहरू हरेक आ-आफ्नो ठाउँमा चर्नेछन्। 4 उसको विरोधमा तिमीहरूले लड़ाइँ तयार गर! ‘उठ, र हामी मध्यदिनमा चढ़ाइ गरौं!’ हाय हामीलाई; किनकि दिन ढल्किँदैछ, किनकि बेलुकीका छायाहरू लम्मिँदैछन्। 5 ‘उठ, अनि हामी राति चढ़ाइ गरौं र त्यसका महलहरू नाश पारिदिऔं!’ 6 किनकि सेनाहरूका परमप्रभुले यसो भन्‍नुभएको छ: रूखहरू ढालिदेओ र यरूशलेमको विरोधमा ढिस्को उठाओ! दण्ड दिइनुपर्ने शहर यही हो; यो, यसको बीचमा बिलकुलै थिचोमिचो मात्र छ। 7 जसरी धाराले आफ्नो पानी उकेल्छ, त्यसरी नै यसले आफ्नो दुष्‍टता उकेल्छ; यसभित्र अत्याचार र लुटपिट सुनिन्छ; मेरो सामु निरन्‍तर कष्‍ट र घाउहरू छन्। 8 हे यरूशलेम, शिक्षा ग्रहण गर्, नत्र ता मेरो मन तँबाट टाढ़िएर जान्छ, र म तँलाई उजाड़, बसोबास नगरिएको देश तुल्याउँला!
9 सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ: तिनीहरूले इस्राएलको बाँकी रहेको भाग दाखको बोटबाट सिला-फल टिपेझैं पूरै टिप्‍नेछन्; अङ्‍गुर बटुल्नेले झैं आफ्नो हात फेरि टोकरीहरूमा हाल! 10 कससित म बोलूँ र चेताउनी दिऊँ, र तिनीहरूले सुनून्? हेर, तिनीहरूको कान खतना गरिएको छैन, र तिनीहरूले ध्यानसँग सुन्‍न सक्दैनन्; हेर, तिनीहरूका निम्ति परमप्रभुको वचन बदनाम हो; तिनीहरूलाई यसमा आनन्द छैन। 11 यसकारण म परमप्रभुको क्रोधले भरिएको छु; यो थाम्दा-थाम्दा म थकित छु; सड़कमा म यो बालबच्‍चाहरूमाथि र जवानहरूको जमघटमाथि एकसाथ खन्याउनेछु; किनकि पति पनि पत्‍नीको साथमा, र वृद्ध मानिस पूरा वर्ष खाएको मानिसको साथमा कब्जा गरिनेछन्।
12 अनि तिनीहरूका घरहरूचाहिँ तिनीहरूका खेतबारीहरू र पत्‍नीहरूसँगै अरूलाई दिइनेछन्; किनकि म आफ्नो हात त्यस देशका बासिन्दाहरूमाथि बढ़ाउनेछु, परमप्रभु भन्‍नुहुन्छ। 13 किनकि तिनीहरूमध्ये सबभन्दा सानोदेखि लिएर तिनीहरूमध्ये सबभन्दा ठूलोसम्म हरेक नीच कमाइको लोभी छ; अनि भविष्यवक्तादेखि लिएर पूजाहारीसम्म हरेकले छली व्यवहार गर्छ। 14 अनि तिनीहरूले ‘शान्ति! शान्ति!’ भन्दै मेरो प्रजाकी छोरीको चोट बाहिर-बाहिर निको पारेका छन्, जब शान्ति नै छैन। 15 तिनीहरूले घृणित काम गरेपछि के तिनीहरू सर्माए? अहँ, तिनीहरू अलिकति पनि सर्माएनन्; न ता लाजले रातो नै हुन सके; यसकारण लोट्नेहरूको बीचमा तिनीहरू पनि लोट्नेछन्; मैले तिनीहरूलाई दण्ड दिने समयमा तिनीहरू ठेस खाएर लोट्नेछन्, परमप्रभु भन्‍नुहुन्छ।
परमप्रभुको प्रजाले पश्‍चात्ताप गर्न इन्कार गर्छ
16 परमप्रभु यसो भन्‍नुहुन्छ: तिमीहरूले मार्गहरूमा उभिएर हेर; अनि ‘असल मार्ग कहाँ छ?’ भनेर उहिलेका बाटाहरूको विषयमा सोधखोज गर, र त्यसैमा हिँड़, तब तिमीहरूले आ-आफ्ना मनका निम्ति विश्राम पाउनेछौ। तर तिनीहरूले भने: ‘हामी त्यसमा हिँड़्‍नेछैनौं।’ 17 अनि मैले यसो भन्दै तिमीहरूमाथि पहरेदारहरूलाई खटाएँ: तुरहीको आवाज ध्यानसित सुन! तर तिनीहरूले भने: ‘हामी ध्यानसित सुन्‍नेछैनौं।’ 18 यसकारण हे जाति-जातिहो, सुन! हे समुदायहो, यिनीहरूको बीचमा के भइरहेछ, सो जान! 19 हे पृथ्वी, सुन्; हेर्! म यी मानिसहरूमाथि विपत्ति ल्याउनेछु, जुनचाहिँ तिनीहरूका विचारहरूको फल हो; किनभने तिनीहरूले मेरा वचनहरू र मेरो व्यवस्था ध्यानसित सुनेनन्, तर यसलाई रद्द गरे। 20 कुन उद्देश्यले शेबाबाट धूप र टाढ़ाको देशबाट सुगन्धित अगरु मकहाँ आउँछ? तिमीहरूका होमबलिहरू ग्रहणयोग्य छैनन्, न ता तिमीहरूका बलिदानहरू मेरा निम्ति मनपर्दा छन्। 21 यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, यी मानिसहरूको सामु म ठेस लाग्‍ने कुराहरू राखिदिनेछु, अनि बुबाहरू र छोराहरू एकसाथ ती कुरामा ठेस खाएर लड़्नेछन्; छिमेकी र त्यसको साथी नाश हुनेछन्।
22 परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, उत्तरको देशबाट एउटा जाति आउँछ; अनि पृथ्वीका छेउ-छेउबाट एउटा ठूलो जाति उभाड़िनेछ। 23 तिनीहरूले धनु र भाला चलाउनेछन्, तिनीहरू क्रूर र निर्दयी हुन्छन्; तिनीहरूको सोर समुद्रझैं गर्जन्छ; अनि तिनीहरू घोड़ाहरूमाथि चढ़्छन्; हे सियोनकी छोरी, तिनीहरूले तेरो विरोधमा योद्धाहरूले झैं मोर्चा बाँध्छन्। 24 हामीले त्यसको कीर्ति सुनेका छौं; हाम्रा हातहरू लुला भए; वेदनाले र सुत्केरी व्यथामा परेकी स्त्रीलाई झैं पीड़ाले हामीलाई पक्र्यो। 25 बाहिर मैदानमा नजाओ! सड़कमा नहिँड़; किनकि चारैतिर शत्रुको तरवार र डरैडर छ। 26 हे मेरो प्रजाकी छोरी, आफ्नो कम्मरमा भाङ्ग्राको लुगा कस्, र खरानीमा लड़ीबुड़ी गर्! एकमात्र छोराका निम्ति गरेझैं आफ्नो निम्ति विलाप गर्, अति तीतो विलाप गर्; किनकि नाशकर्ता अचानक हामीमाथि आइलाग्‍नेछ।
27 तिमीले तिनीहरूको चाल बुझ र जाँच भनेर मैले तिमीलाई मेरो प्रजाको बीचमा धरहरा र किल्‍ला ठहऱ्याएको छु। 28 तिनीहरू घोर विद्रोहीहरू, निन्दा गर्दै घुमिहिँड़्‍नेहरू हुन्; तिनीहरू पित्तल र फलाम हुन्; तिनीहरू सबै भ्रष्‍टाचारी हुन्। 29 खलाँटीहरू डढ़ेका छन्, आगोले सिसा नष्‍ट भएको छ; धातु खार्नेले व्यर्थैमा खारेको छ; किनकि दुष्‍टहरू निकालिएका छैनन्। 30 मानिसहरूले तिनीहरूलाई ‘रद्दी चाँदी’ भन्‍नेछन्; किनकि परमप्रभुले तिनीहरूलाई रद्द गर्नुभएको छ।”