यहूदा र यरूशलेमका पापहरू
5
“यरूशेलमका सड़कहरूहुँदो तिमीहरू यताउता दगुर, र अब हेर, अनि बुझ, अनि त्यसका चोकहरूमा खोज – कहीं तिमीहरूले कुनै यस्तो मानिसलाई भेट्टाउँछौ कि? यस्तो कोही छ कि, जसले न्यायसङ्गत काम गर्छ, जसले सत्यको खोजी गर्छ? तब म यसलाई क्षमा गर्नेछु। 2 अनि तिनीहरूले ‘परमप्रभुको जीवनको शपथ!’ भनी भने तापनि निश्‍चय नै तिनीहरूले झूटो शपथ खान्छन्।
3 हे परमप्रभु, के तपाईंका आँखाहरू सत्यतामाथि लागेका छैनन् र? तपाईंले तिनीहरूलाई हिर्काउनुभयो, तर तिनीहरू शोकित भएनन्; तपाईंले तिनीहरूलाई नष्‍ट गर्नुभयो, तर तिनीहरूले सुधार ग्रहण गर्न इन्कार गरे; तिनीहरूले आफ्ना अनुहारहरू चट्टानभन्दा पनि कड़ा पारे; तिनीहरूले फर्कन इन्कार गरे।
4 यसकारण मैले भनें: ‘निश्‍चय यिनीहरूचाहिँ गरिब छन्, यिनीहरू मूर्ख छन्; किनकि यिनीहरूले न परमप्रभुको मार्ग, न आफ्ना परमेश्‍वरको नियम जान्दछन्। 5 म आफै ठूला-ठूला मानिसहरूकहाँ जानेछु, र उनीहरूसँग बोल्नेछु; किनकि उनीहरूले परमप्रभुको मार्ग र आफ्ना परमेश्‍वरको नियम जानेका छन्’; तर उनीहरूले एकसाथ मिलेर जुवा भाँचेका छन्, बन्धनहरू चुँड़ाएका छन्। 6 यसकारण वनबाट निस्केको सिंहले तिनीहरूलाई मार्नेछ, र मरुभूमिहरूको ब्वाँसोले तिनीहरूलाई नाश गर्नेछ; चितुवा तिनीहरूका शहरहरूमा जागा बस्‍नेछ; हरेक जो तीबाट निस्केर जान्छ, त्यो च्यातचुत पारिनेछ, किनकि तिनीहरूका अपराधहरू धेरै छन्, र तिनीहरूका पछिहटाइहरू बढ़ी छन्।
7 यसका निम्ति म तँलाई कसरी क्षमा गरूँ? तेरा छोराछोरीहरूले मलाई त्यागेका छन्, र तिनैको नाममा शपथ खाएका छन्, जोचाहिँ ईश्‍वरहरू होइनन्; जब मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तब तिनीहरूले व्यभिचार गरे, र वेश्याहरूका घरहरूमा धुइरो लागे। 8 तिनीहरू पोसाइएका कामुक घोड़ाहरूजस्ता थिए; तिनीहरू हरेकले आफ्नो छिमेकीकी पत्‍नीको पछि हिनहिनाउँथे। 9 के म यी कुराहरूका निम्ति दण्ड नदिऊँ? अनि के योजस्तो जातिमाथि मेरो मनले बदला नलेओस् त?, परमप्रभु भन्‍नुहुन्छ।
10 त्यसका पर्खालहरूमाथि चढ़, र नाश गरिदेओ, तर पूरैचाहिँ नाशचाहिँ नगर; त्यसका हाँगाहरू हटाइदेओ; किनकि ती परमप्रभुका होइनन्। 11 किनकि इस्राएलको घराना र यहूदाको घरानाले मसँग साह्रै धोकाबाजी गरेका छन्, परमप्रभु भन्‍नुहुन्छ। 12 तिनीहरूले परमप्रभुको विरोधमा झूट बोलेर भनेका छन्: ‘यहाँ उहाँ हुनुहुन्‍न; अनि हामीमाथि विपत्ति आइपर्नेछैन, र हामीले तरवार र अनिकाल देख्‍ने नै छैनौं; 13 भविष्यवक्ताहरू हावा बन्‍नेछन् र तिनीहरूमा वचन छैन; तिनीहरूसित यस्तै गरिनेछ।’
14 यसैकारण परमप्रभु सेनाहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूले यो वचन बोलेका हुनाले हेर, म मेरा वचनहरूलाई तिम्रो मुखमा आगो र यस प्रजालाई चाहिँ काठ तुल्याउनेछु; अनि त्यसले तिनीहरूलाई भस्म पार्नेछ। 15 हे इस्राएलको घराना, हेर, म टाढ़ाबाट तिमीहरूमाथि एउटा जाति ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ; यो एउटा शक्तिशाली जाति हो; यो एउटा प्राचीन जाति हो – यस्तो एउटा जाति, जसको भाषा तँ जान्दैनस्, र तिनीहरूले के भन्छन्, सो बुझ्दैनस्। 16 तिनीहरूको ठोक्रो त खुला चिहानजस्तो छ; तिनीहरू सबै शूरवीर हुन्। 17 अनि तिनीहरूले तेरो फसल र तेरो रोटी खाइदिनेछन्, जुन फसल र जुन रोटी तेरा छोराहरू र तेरा छोरीहरूले खानुपर्थ्यो; तिनीहरूले तेरा भेड़ाबाख्राहरू र गाईबस्तुहरू खाइदिनेछन्; तिनीहरूले तेरा दाखका बोटहरू र तेरा नेभाराका रूखहरू खाइदिनेछन्; तिनीहरूले तेरा पर्खालले घेरिएका शहरहरूलाई, जसमाथि तैंले भरोसा राखेको छस्, तरवारले नाश गर्नेछन्। 18 तैपनि ती दिनहरूमा म तँलाई पूर्ण रूपले नाश गर्नेछैनँ, परमप्रभु भन्‍नुहुन्छ। 19 अनि यस्तो हुनेछ: जब तिमीहरूले ‘परमप्रभु हाम्रा परमेश्‍वरले यी सबै कुराहरू किन हामीसँग गर्नुभयो?’ भनी भनौला, तब तिमीले तिनीहरूलाई यस्तो जवाफ दिनू: ‘जसरी तिमीहरूले मलाई त्याग्यौ र आफ्नो देशमा पराई देवताहरूको पूजा गर्‍यौ, त्यसरी नै तिमीहरूले एउटा देशमा, जो तिमीहरूको होइन, पराईहरूको सेवा गर्नेछौ।’
20 याकूबको घरानामा तिमीहरूले यो कुरा घोषणा गर, र यहूदामा यसो भन्दै यसको प्रचार गर: 21 हे मूर्ख र समझ नभएका मानिसहरूहो, जसका आँखाहरू त छन्, तर देख्दैनन्, जसका कानहरू त छन्, तर सुन्दैनन्, अब यो कुरा सुन: 22 परमप्रभु भन्‍नुहुन्छ: के तिमीहरू मेरो डर मान्दैनौ? अथवा के तिमीहरू मेरो उपस्थितिमा थरथर काम्दैनौ, जसले सदा रहिरहने आदेशअनुसार बालुवालाई समुद्रको सिमाना ठहराएको छु, र यसले त्यसलाई नाघेर जान सक्दैन; अनि यसका छालहरू उर्ले तापनि ती विजयी हुन सक्दैनन्; ती गर्जे तापनि त्यसलाई नाघेर जान सक्दैनन्? 23 तर यी मानिसहरूको हठी र विद्रोही हृदय छ; तिनीहरू हटे, र गइहाले। 24 तर तिनीहरूले आफ्नो हृदयमा यसो भन्दैनन्: ‘आओ, हामी परमप्रभु हाम्रा परमेश्‍वरको डर मानौं, जसले आफ्नो ऋतुमा वर्षा, दुवै अघिल्‍लो र पछिल्‍लो वर्षा दिनुहुन्छ! उहाँले हाम्रा निम्ति फसलका ठहराइएका हप्‍ताहरू कायम राखिदिनुहुन्छ।’ 25 तिमीहरूका अधर्महरूले यी कुराहरू हटाइदिएका छन्, र तिमीहरूका पापहरूले तिमीहरूबाट असल कुराहरू रोकिराखेका छन्। 26 किनकि मेरो प्रजाको बीचमा दुष्‍ट मानिसहरू पाइन्छन्; चरा मार्नेले पासो थापेझैं तिनीहरू ढुकेर बस्छन्; तिनीहरू धराप थाप्छन्; तिनीहरू मानिसहरूलाई पक्रन्छन्। 27 जसरी पिन्जरा चराहरूले भरिएको हुन्छ, त्यसरी नै तिनीहरूका घरहरू छलले भरपूर छन्; यसैले तिनीहरू ठूला बने, र धनी भए। 28 तिनीहरू मोटा भएका छन्, तिनीहरू टल्कन्छन्; अँ, दुष्‍टका कामहरूमा तिनीहरूले सीमा नाघेका छन्; तिनीहरूले न्याय, अँ, टुहुराहरूको न्याय गरिदिँदैनन्, र पनि तिनीहरू सफल हुन्छन्; अनि गरिबहरूको न्याय गरेर तिनीहरूले उनीहरूको हक दिलाउँदैनन्। 29 के म यी कुराहरूका निम्ति दण्ड नदिऊँ? अथवा के योजस्तो जातिमाथि मेरो मनले बदला नलेओस् त?, परमप्रभु भन्‍नुहुन्छ।
30 यस देशमा अवाक् पार्ने र भयानक कुरा भइरहेको छ; 31 भविष्यवक्ताहरू झूटा भविष्यवाणी गर्छन्; अनि पूजाहारीहरू तिनीहरूको सहारा लिएर शासन गर्छन्; अनि मेरा जनहरूले यस्तै भएको मन पराउँछन्; अनि यसको अन्तमा तिमीहरूले के गर्नेछौ त?”