परमेश्‍वरकहाँ फर्क!
4
“परमप्रभु भन्‍नुहुन्छ: हे इस्राएल, तँ फर्कन्छस् भने मकहाँ फर्की! अनि यदि तैंले आफ्ना घृणित वस्तुहरू मेरो सामुबाट हटाइस् भने तँ हटाइनेछैनस्। 2 अनि तैंले सत्यतामा, न्यायमा र धार्मिकतामा परमप्रभुको जीवनको शपथ खानेछस्; अनि उहाँमा जाति-जातिले आफूलाई धन्यको भन्‍नेछन् र उहाँमा गर्व गर्नेछन्।
3 किनकि यहूदाका मानिसहरू र यरूशलेमलाई परमप्रभु यसो भन्‍नुहुन्छ: आफ्नो बाँझो जमिन खनजोत गर र काँड़ाहरूको बीचमा बीउ नछर! 4 हे यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूहो, परमप्रभुका निम्ति आ-आफ्नो खतना गर र आफ्नो हृदयका खलड़ीहरू हटाओ; नत्र ता तिमीहरूका कामहरूको दुष्‍टताले गर्दा मेरो क्रोध आगोझैं निस्किजाला र कसैले निभाउन नसक्ने गरी जल्‍ला।
उत्तरबाट दण्ड आउनेछ
5 यहूदामा घोषणा गर, यरूशलेममा सुनाओ र भनिदेओ: ‘देशमा तुरही फुक! जोड़ले चिच्च्याओ, र भन: ‘भेला होओ, र हामी पर्खालले घेरिएका शहरहरूभित्र जाऔं!’ 6 सियोनतिर एउटा झण्डा खड़ा गर; भाग, अड़िएर नबस; किनकि म उत्तरबाट विपत्ति र ठूलो विनाश ल्याउनेछु। 7 आफ्नो झाड़ीबाट त्‍यो सिंह निस्केको छ, र अन्यजातिहरूको त्‍यो नाशकर्ता बाटोमा आउँदैछ; तेरो देश उजाड़ पार्नलाई त्यो आफ्नो ठाउँबाट हिँड़ेको छ; एउटै बासिन्दा नरहने गरी तेरा शहरहरू भग्‍नावशेष तुल्याइनेछन्। 8 यही कारणले भाङ्ग्राको लुगाले आफ्नो कम्मर कस, विलाप गर र रोइकराइ गर; किनकि परमप्रभुको बल्दो रिस हामीबाट हटेको छैन। 9 अनि त्यस दिन यस्तो हुनेछ: राजाको हृदय, र शासकहरूको हृदय नष्‍ट हुनेछ; अनि पूजाहारीहरू अवाक् हुनेछन् र भविष्यवक्ताहरू चकित हुनेछन्, परमप्रभु भन्‍नुहुन्छ।
10 तब मैले भनें: “अहह, प्रभु यहोवा! ‘तिमीहरूले शान्ति पाउनेछौ’ भनेर निश्‍चय नै तपाईंले यस जाति र यरूशलेमलाई साह्रै धोका दिनुभएको छ; किनकि तरवार प्राणसम्मै पुग्दैछ।”
11 त्यस बेला यस जाति र यरूशलेमलाई यसो भनिनेछ: अग्ला ठाउँहरूबाटको सुक्खा हावा उजाड़स्थानहुँदो मेरो प्रजाकी छोरीतर्फ बहनेछ – निफन्‍नलाई होइन, शुद्ध पार्नलाई पनि होइन। 12 अँ, एउटा प्रचण्ड बतास ती ठाउँहरूबाट मकहाँ आउनेछ; अब म पनि तिनीहरूको विरोधमा दण्डका आज्ञाहरू दिनेछु 13 हेर, त्यो बादलहरूझैं निस्केर आउनेछ, अनि त्यसका रथहरू भुमरीजस्तै हुनेछन्; त्यसका घोड़ाहरू चीलहरूभन्दा फुर्तिला छन्। ‘हाय हामीलाई; किनभने हामीहरू नाश भयौं।’
14 हे यरूशलेम, दुष्‍टताबाट आफ्नो हृदय धोइपखाल्, र तँ बचाइनेछस्। तेरा व्यर्थका विचारहरू कहिलेसम्म तँभित्र वास गर्लान्? 15 किनकि दानबाट एउटा आवाजले घोषणा गर्दैछ र एप्रैमको पहाड़ी देशबाट कष्‍टको प्रचार गर्दैछ। 16 जाति-जातिलाई सुनाओ; हेर, टाढ़ाको देशबाट पहरेदारहरू आउँदैछन्, र यहूदाका शहरहरूको विरोधमा आफ्नो सोर उठाउँदैछन् भनी यरूशलेमको विरोधमा प्रचार गर! 17 जमिनका रक्षकहरूझैं तिनीहरू चारैतिर उसको विरोधमा छन्; किनकि ऊ मेरो विरोधमा विद्रोही बनेकी छे, परमप्रभु भन्‍नुहुन्छ। 18 तेरो चाल र तेरा कामहरूले नै यी कुराहरू तँमाथि ल्याएका हुन्; यो तेरो दुष्‍टता हो, किनभने त्यो तीतो छ, किनकि त्यो तेरो मुटुसम्मै पुग्छ।
19 मेरो अन्तस्करण, मेरो अन्तस्करण! मेरो मुटुमा नै मलाई पीड़ा छ; मभित्र मेरो हृदय बेचैन छ; म चुप बस्‍न सक्दिनँ, किनकि हे मेरो मन, तैंले तुरहीको आवाज, लड़ाइँको ललकार सुनेको छस्। 20 विनाशमाथि विनाश भन्‍ने घोषणा भएको छ; किनकि त्यो सारा देश नष्‍ट भएको छ; अचानक मेरा पालहरू र क्षणभरमै मेरा पर्दाहरू नष्‍ट भए। 21 कहिलेसम्म म झण्डा देखिरहूँ र तुरहीको आवाज सुनिरहूँ? 22 किनकि मेरो प्रजा मूर्ख छ; उनीहरूले मलाई चिनेका छैनन्; उनीहरू मूर्ख सन्तानहरू हुन्, अनि उनीहरूसँग समझ छैन; उनीहरू खराबी गर्नलाई बुद्धिमान् छन्, तर उनीहरू असल गर्न जान्दैनन्।
भयानक उजाड़
23 मैले पृथ्वीलाई हेरें, अनि हेर, त्यो विनाआकारको र शून्य थियो; अनि आकाशलाई हेरें, र त्यसको कुनै उज्यालो थिएन। 24 मैले पहाड़हरूलाई हेरें, अनि हेर, ती थरथर कामिरहेका थिए, र सबै डाँड़ाहरू हल्लिरहेका थिए। 25 मैले हेरें, अनि हेर, त्यहाँ कोही पनि मानिस थिएन, र आकाशका सबै चराहरू भागिरहेका थिए। 26 मैले हेरें, अनि हेर, त्यो फलवान् ठाउँ उजाड़स्थान भएको रहेछ, अनि परमप्रभुको उपस्थितिमा र उहाँको बल्दो रिसको सामुबाट त्यसका सबै शहरहरू भताभुङ्ग भएका रहेछन्!
27 किनकि परमप्रभुले यसो भन्‍नुभएको छ: त्यो सारा देश उजाड़ हुनेछ; तरैपनि म त्यसलाई पूर्ण रूपले नाश गर्नेछैनँ। 28 यही कारणले पृथ्वीले विलाप गर्नेछ, र माथि आकाश कालो हुनेछ; किनकि मैले यो भनेको छु, र मैले यो सङ्कल्प गरेको छु, र म पछुताउनेछैनँ, न ता म यसबाट फर्कनेछु।
29 घोड़चढ़ीहरू र धनुर्धारीहरूको आवाजले गर्दा सारा शहर भाग्‍नेछ; तिनीहरू झाड़ीहरूभित्र पस्‍नेछन्, चट्टानहरूमाथि चढ़्नेछन्; हरेक शहर त्यागिनेछ, र तिनमा कुनै मानिस बस्‍नेछैन। 30 अनि जब तँ नाश हुन्छेस्, तब तैंले के गर्नेछेस्? तैंले सिन्‍दुरे वस्त्र पहिरे तापनि, आफूलाई सुनका गहनाहरूले सिँगारे तापनि, गाजल लगाएर आफ्ना आँखाहरू ठूला-ठूला पारे तापनि व्यर्थमा तैंले आफूलाई सुन्दर तुल्याउँछेस्; तेरा प्रेमीहरूले तँलाई तुच्छ ठान्‍नेछन्; तिनीहरूले तेरो प्राण लिन खोज्‍नेछन्। 31 किनकि मैले सुत्केरी व्यथामा परेकी स्त्रीको जस्तो आवाज, आफ्नो पहिलो बालक जन्माउने स्त्रीको जस्तो व्यथा सुनेको छु – सियोनकी छोरीको आवाज सुनेको छु, जसले सुस्केरा हाल्छे, जसले यसो भन्दै आफ्ना हातहरू फैलाउँछे: ‘अब हाय मलाई; किनकि हत्याराहरूको कारणले मेरो प्राण क्षीण भएको छ!’ ”