64
“आकाश च्यातेर तपाईं ओर्ली आउनुभए त!! तपाईंको उपस्थितिमा पहाड़हरू थरथर काम्‍नेथिए, 2 तपाईंका विरोधीहरूलाई तपाईंको नाम चिनाउनलाई जसरी आगोले पोथ्रापोथ्रीहरू जलाउँछ र आगोले पानी उमाल्छ, त्यसरी नै जाति-जातिहरू तपाईंको उपस्थितिमा थरथर काम्‍नेथिए। 3 जब तपाईंले भयानक कामहरू गर्नुभयो, जसको बाटो हामीले हेरेका थिएनौं, तब तपाईं ओर्ली आउनुभयो; तपाईंको उपस्थितिमा पहाड़हरू थरथर कामे। 4 किनकि संसारको शुरुदेखि नै मानिसहरूले न सुनेका छन्, न कान लगाएर थाहा पाएका छन्, न ता आँखाले तपाईंबाहेक अरू कुनै ईश्‍वरलाई देखेको छ, जसले आफ्नो बाटो हेर्नेका निम्ति काम गर्नुहुन्छ। 5 जो रमाउँछ र धार्मिकताको काम गर्छ, त्यससँग तपाईं भेट गर्नुहुन्छ, अर्थात् उनीहरूसँग, जसले तपाईंका मार्गहरूमा तपाईंको सम्झना गर्छन्; हेर्नुहोस्, तपाईं क्रोधित हुनुहुन्छ; किनकि हामीले पाप गरेका छौं; ती कुराहरूमा निरन्‍तरता छ, र हामी बचाइनेछौं। 6 तर हामी सबै अशुद्ध थोकजस्ता छौं, र हाम्रा सबै धार्मिक कामहरू मैला थाङ्नाहरूसरह छन्; अनि हामी सबै पातजस्तै ओइलिन्छौं, र हाम्रा अधर्महरूले बतासले झैं हामीलाई उड़ाएर लगेका छन्। 7 अनि तपाईंको नाम पुकार्ने, तपाईंलाई पक्रिराख्‍नका निम्ति आफूलाई जगाउने कोही पनि छैन; किनकि तपाईंले आफ्नो अनुहार हामीदेखि लुकाउनुभएको छ र हाम्रा अधर्महरूको कारणले हामीलाई भस्म पार्नुभएको छ।
8 तर अब हे परमप्रभु, तपाईंचाहिँ हाम्रा पिता हुनुहुन्छ; हामीचाहिँ माटो हौं, र तपाईं हाम्रो कुमाले हुनुहुन्छ; अनि हामी सबै तपाईंको हातको काम हौं। 9 हे परमप्रभु, अति क्रोधित नहुनुहोस्, न ता सधैंभरि अधर्मको सम्झना नै गर्नुहोस्; हेर्नुहोस्, नजर लगाउनुहोस्! हामी तपाईंलाई विन्‍ती गर्छौं, हामी सबैजना तपाईंको प्रजा हौं। 10 तपाईंका पवित्र शहरहरू एउटा उजाड़स्थान भएका छन्; सियोन एउटा उजाड़स्थान भएको छ, यरूशलेम उजाड़ छ। 11 हाम्रो पवित्र र हाम्रो सुन्दर भवन, जहाँ हाम्रा पितापुर्खाहरूले तपाईंको प्रशंसा गर्थे, आगोले डढ़ेको छ; अनि सबै हाम्रा मनोहर थोकहरू उजाड़ भएका छन्। 12 हे परमप्रभु, के यी कुराहरूको खातिर तपाईंले आफूलाई रोकिराख्‍नुहुन्छ? के तपाईं चुप लाग्‍नुहुन्छ, र हामीलाई ज्यादै कष्‍ट दिनुहुन्छ?”