एदोमबाट परमप्रभुको न्याय र छुटकारा आउनेछन्
63
“बोज्राबाट रङ्गाइएका वस्त्रहरू पहिरेर एदोमबाट आउनुहुने को हुनुहुन्‍छ? जो आफ्नो वेशभूषामा महिमावान् छन्, जो आफ्नो महान् सामर्थ्यमा हिँड़्नुहुन्छ, उहाँ को हुनुहुन्‍छ? धार्मिकतामा बोल्ने, बचाउनमा सामर्थी म नै हुँ। 2 तपाईंको वेशभूषामा किन रातो छ? र किन तपाईंका वस्त्रहरू त्यस मानिसका जस्ता छन्, जसले दाखको कुण्डमा अङ्‍गुर कुल्चन्छ? 3 मैले त एकलै दाखको कुण्ड कुल्चेको छु, र जाति-जातिका मानिसहरूमध्ये कोही पनि मसँग थिएन; किनकि म आफ्नो रिसमा तिनीहरूलाई कुल्चनेछु र आफ्नो क्रोधमा तिनीहरूलाई कुल्चीमिल्ची पार्नेछु; अनि तिनीहरूको रगत मेरा वस्त्रहरूमा छर्किइनेछ, र मेरो सम्पूर्ण पोशाक म दागैदाग पार्नेछु। 4 किनकि बदला लिने दिन मेरो मनमा छ, र मेरा छुटकारा पाएकाहरूको वर्ष आएको छ। 5 अनि मैले हेरें, तर सहायता गर्ने कोही थिएन; अनि सम्हाल्ने कोही नभएकोमा म छक्‍क परें; तब मेरो पाखुराले मेरा निम्ति उद्धार ल्यायो, र मेरो क्रोधले मलाई सम्हाल्यो। 6 अनि म जाति-जातिलाई आफ्नो रिसमा कुल्चीमिल्ची पार्नेछु, र आफ्नो क्रोधमा तिनीहरूलाई मताउनेछु, अनि तिनीहरूको बल तल पृथ्वीमा झार्नेछु।
परमप्रभुका सद्‌गुणको प्रशंसा र बितेका दिनहरूको सम्झना
7 परमप्रभुले हामीलाई सबै कुरा दिनुभएअनुसार र इस्राएलको घरानाप्रति देखाइएको प्रशस्त भलाइअनुसार म परमप्रभुका करुणाहरू र परमप्रभुका प्रशंसाहरूको बयान गर्नेछु, जुन भलाइ उहाँले आफ्ना कोमल कृपाहरू र आफ्ना करुणाहरूको भरपूरीअनुसार तिनीहरूलाई देखाइदिनुभएको छ। 8 किनकि उहाँले भन्‍नुभयो: निश्‍चय उनीहरू मेरो प्रजा हुन् – छोराछोरीहरू हुन्, जसले झूट बोल्दैनन्; यसैले उहाँ तिनीहरूका उद्धारकर्ता हुनुभयो। 9 उनीहरूको सारा कष्‍टमा उहाँले पनि कष्‍ट भोग्‍नुभयो, र उहाँको उपस्थितिमा रहने स्वर्गदूतले उनीहरूलाई बचाए; आफ्नो प्रेम र आफ्नो दयामा उहाँले उनीहरूलाई दाम तिरेर छुटाउनुभयो; अनि उहाँले उनीहरूलाई बोक्नुभयो, र बितेका सबै दिनहरूमा उनीहरूलाई बोकेर हिँड़ाउनुभयो। 10 तर उनीहरूले विद्रोह गरे, र उहाँको पवित्र आत्मालाई दुःखित तुल्याए; यसैकारण बदलामा उहाँ उनीहरूको शत्रु बन्‍नुभयो; उहाँ उनीहरूको विरोधमा लड़्नुभयो। 11 तब उहाँले बितेका दिनहरू, मोशालाई र आफ्नो प्रजालाई यसो भन्दै सम्झना गर्नुभयो: उहाँ कहाँ हुनुहुन्छ, जसले आफ्नो बगालको गोठालाको साथमा उनीहरूलाई समुद्रबाट निकालेर ल्याउनुभयो? उहाँ कहाँ हुनुहुन्छ, जसले आफ्नो पवित्र आत्मा उनीभित्र हाल्नुभयो? 12 जसले आफ्नो महिमामय पाखुराले मोशाको दाहिने हातद्वारा उनीहरूलाई डोर्‍याउनुभयो, र आफ्ना निम्ति एउटा सदा रहिरहने नाम बनाउन उनीहरूको सामु पानीलाई दुई भाग पार्नुभयो? 13 जसले तिनीहरूले ठेस नखाऊन् भनेर उजाड़स्थानमा एउटा घोड़ा लगेझैं उनीहरूलाई गहिरा सागरबाट डोर्‍याएर ल्याउनुभयो? 14 जसरी पशु बेंसीमा ओर्लन्छ, जसरी परमप्रभुको आत्माले उसलाई विश्राम दिनुहुन्छ, त्यसरी तपाईंले आफ्ना निम्ति एउटा महिमामय नाम बनाउनलाई आफ्नो प्रजालाई अगुवाइ गर्नुभयो।”
परमप्रभुको प्रजाको पुकार
15 “स्वर्गबाट तल हेर्नुहोस्! आफ्नो पवित्रताको र आफ्नो महिमाको वासस्थानबाट हेर्नुहोस्! तपाईंको जोश र तपाईंको सामर्थ्य, तपाईंको अन्तस्करणको दर्दनाद र मप्रति भएका तपाईंका कोमल कृपाहरू कहाँ छन्? के ती रोकेर राखिए? 16 अब्राहामले हामीलाई नचिनेका भए पनि, र इस्राएलले हामीलाई स्वीकार नगरे तापनि निश्‍चय तपाईंचाहिँ हाम्रा पिता हुनुहुन्छ; हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ – हाम्रा उद्धारक हुनुहुन्छ; अनादिदेखि तपाईंको नाम यही हो। 17 हे परमप्रभु, किन तपाईंले हामीलाई तपाईंका मार्गहरूबाट भड़्किहिँड़्‍ने तुल्याउनुभयो? किन तपाईंले हाम्रो हृदय तपाईंको डर मान्‍नदेखि कठोर पार्नुभयो? आफ्ना दासहरूको खातिर, अर्थात् आफ्नो अधिकारको भागका कुलहरूको खातिर फर्कनुहोस्! 18 तपाईंको पवित्र प्रजाले थोरै समयका निम्ति मात्र त्यो अधिकार गर्‍यो; हाम्रा विरोधीहरूले तपाईंको पवित्रस्थानलाई कुल्चीमिल्ची पारेका छन्। 19 हामी तपाईंका हौं; तपाईंले तिनीहरूमाथि कहिल्यै राज्य गर्नुभएन; तिनीहरू तपाईंको नामले कहलाइएनन्।”