सियोनका निम्ति रमाइला दिनहरू आउनेछन्
62
“सियोनको खातिर म चुप रहनेछैनँ; अनि यरूशलेमको खातिर म तबसम्म विश्राम लिनेछैनँ, जबसम्म त्यसको धार्मिकता उज्यालोझैं र त्यसको उद्धार बलिरहेको बत्तीझैं फुटेर निस्कँदैन। 2 अनि अन्यजातिहरूले तेरो धार्मिकता र सबै राजाहरूले तेरो महिमा देख्नेछन्; अनि तँ एउटा नयाँ नामले कहलाइनेछस्, जुन नाम परमप्रभुको मुखले राख्नेछ। 3 अनि परमप्रभुको हातमा तँ महिमाको मुकुट र तेरा परमेश्वरको हातमा राजकीय शिरपेच हुनेछस्। 4 तँ फेरि कहिल्यै ‘त्यागिएकी’ कहलाइनेछैनस्, न ता तेरो देश फेरि कहिल्यै ‘उजाड़’ कहलाइनेछ; तर तँ ‘हेप्सिबाह’क र तेरो देशचाहिँ ‘ब्यूलाह’ख कहलाइनेछ; किनकि परमप्रभु तँसित प्रसन्न हुनुहुन्छ, र तेरो देश विवाहित हुनेछ। 5 किनकि जसरी जवान मानिसले एउटी कन्यालाई विवाह गर्छ, त्यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्; अनि जसरी दुलहा दुलहीको कारणले हर्षित हुन्छ, त्यसरी नै तेरा परमेश्वर तेरो कारणले हर्षित हुनुहुनेछ।6 हे यरूशलेम, मैले तेरा पर्खालहरूमाथि पहरेदारहरू राखेको छु, जो रातोदिन कहिल्यै चुप लागेर बस्नेछैनन्; हे परमप्रभुका सम्झना गराउनेहरूहो, चुप नलाग! 7 अनि जबसम्म उहाँले यरूशलेम स्थापित गर्नुहुन्न र पृथ्वीमा त्यसलाई प्रशंसाको पात्र तुल्याउनुहुन्न, तबसम्म उहाँलाई विश्राम नदेओ! 8 परमप्रभुले आफ्नो दाहिने हात र आफ्नो सामर्थ्यको पाखुराको शपथ खानुभएको छ: निश्चय म फेरि कहिल्यै तेरो अन्न तेरा शत्रुहरूलाई भोजन हुनका निम्ति दिनेछैनँ नै, र परदेशीका छोराहरूले तेरो दाखमद्य पिउन पाउनेछैनन् नै, जसका निम्ति तैंले परिश्रम गरेको छस्; 9 तर जस-जसले त्यो बटुलेका छन्, तिनीहरूले त्यो खानेछन्, र परमप्रभुको प्रशंसा गर्नेछन्; अनि जस-जसले त्यो जम्मा पारेका छन्, तिनीहरूले त्यो मेरा पवित्र चोकहरूमा पिउनेछन्।
10 निस्क! मूलढोकाहरूबाट निस्क! मानिसहरूको बाटो तयार गर! उठाओ, राजमार्ग उठाओ! ढुङ्गाहरू टिप! जाति-जातिका मानिसहरूका निम्ति झण्डा खड़ा गर! 11 हेर, संसारको छेउसम्म परमप्रभुले घोषणा गर्नुभएको छ: तिमीहरूले सियोनकी छोरीलाई भन: ‘हेर, तिम्रो उद्धार आउँदैछ; हेर, उहाँको प्रतिफल उहाँको साथमा छ, र उहाँको काम उहाँको सामु छ।’ 12 अनि तिनीहरूले उनीहरूलाई ‘पवित्र जाति’, ‘परमप्रभुका दाम तिरेर छुटाइएकाहरू’ भन्ने नामले बोलाउनेछन्; अनि तँ ‘खोजिएको’, ‘नत्यागिएको शहर’ कहलाइनेछस्।”