सियोनको भविष्यमा हुने महिमा
60
“उठ्! चम्की; किनकि तेरो ज्योति आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ। 2 किनकि हेर्, अन्धकारले पृथ्वीलाई र घोर अन्धकारले जाति-जातिका मानिसहरूलाई ढाक्नेछ; तर परमप्रभु तँमाथि उदाउनुहुनेछ, र उहाँको महिमा तँमाथि देखा पर्नेछ। 3 अनि अन्यजातिहरू तेरो ज्योतितिर, र राजाहरू तेरो उदयको चमकतिर आउनेछन्।
4 चारैतिर आफ्ना आँखाहरू उठाएर हेर्; तिनीहरू सबै भेला हुन्छन्, र तँकहाँ आउँछन्; तेरा छोराहरू टाढ़ाबाट आउनेछन्, र तेरा छोरीहरू तेरो छेउमा पालनपोषण गरिनेछन्। 5 तब तैंले देख्‍नेछस्, र ज्योतिर्मय हुनेछस्; अनि तेरो हृदय भयभीत हुनेछ, र बढ़ेर ठूलो हुनेछ; किनभने समुद्रको सारा भरपूरी तँकहाँ फर्काइनेछ, र अन्यजातिहरूको धनसम्पत्ति तँकहाँ आउनेछ। 6 ऊँटहरूको भीड़ले, मिद्यान र एपाका एक जुरे ऊँटहरूले तँलाई ढाक्नेछन्; शेबाबाट तिनीहरू सबै आउनेछन्; तिनीहरूले सुन र धूप ल्याउनेछन्; अनि तिनीहरूले परमप्रभुका प्रशंसाहरू सुनाउनेछन्। 7 केदारका सबै बगालहरू तँकहाँ भेला गरिनेछन्; नबायोतका भेड़ाहरूले तेरो सेवा गर्नेछन्; ग्रहणयोग्य भई ती मेरो वेदीमाथि आउनेछन्; अनि म मेरो महिमाको भवन महिमित तुल्याउनेछु। 8 बादलजस्तै र आफ्ना झ्यालहरूतिर आउने ढुकुरहरूजस्तै उड़ेर आउनेहरूचाहिँ को हुन्? 9 निश्‍चय टापुहरूले मेरो बाटो हेर्नेछन्; अनि टाढ़ाबाट तेरा छोराछोरीहरूलाई तिनीहरूको सुन र तिनीहरूको चाँदीको साथमा परमप्रभु तेरा परमेश्‍वरको नामकहाँ र इस्राएलका पवित्र जनकहाँ ल्याउनलाई टार्शिशका जहाजहरू नै पहिलो हुनेछन्; किनकि उहाँले तँलाई महिमित तुल्याउनुभएको छ। 10 अनि परदेशीका छोराहरूले तेरा पर्खालहरू निर्माण गर्नेछन्, र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन्; किनकि मेरो क्रोधमा मैले तँलाई हिर्काएँ, तर मेरो कृपादृष्‍टिको समयमा मैले तँमाथि कृपा गरेको छु। 11 यसैकारण तेरा मूलढोकाहरू निरन्‍तर खुला रहनेछन्; मानिसहरूले अन्यजातिहरूको धनसम्पत्ति तँकहाँ ल्याऊन्, र तिनीहरूका राजाहरू पनि ल्याइऊन् भनेर ती दिनरात बन्द हुनेछैनन्। 12 किनकि जुन जाति र जुन राज्यले तेरो सेवा गर्दैनन्, ती नाश हुनेछन्; अँ, ती जातिहरू बिलकुलै उजाड़ पारिनेछन्। 13 लेबानोनको महिमा अर्थात् सल्‍ला, धूपी र गोब्रे सल्‍ला मेरो पवित्रस्थानको ठाउँलाई सुन्दर तुल्याउन एकसाथ तँकहाँ आउनेछन्; अनि म मेरा पाउको चरणस्थानलाई महिमित तुल्याउनेछु। 14 अनि तँलाई दुःख दिनेहरूका छोराहरू पनि निहुरिँदै तँकहाँ आउनेछन्; अनि तँलाई तुच्छ ठान्‍नेहरू सबै तेरा पाउका पैतालामा दण्‍डवत्‌ गर्नेछन्; अनि तिनीहरूले तेरो नाम ‘परमप्रभुको शहर’, ‘इस्राएलका पवित्र जनको सियोन’ राख्‍नेछन्।
15 यद्यपि तँ त्यागिएकी र घृणा गरिएकी थिइस्, यहाँसम्म कि कोही पनि तँबाट भएर जाँदैनथियो, तर म तँलाई सदा रहिरहने सर्वश्रेष्‍ठता, पुस्तौंपुस्ताको हर्ष ठहराउनेछु। 16 अनि तैंले अन्यजातिहरूको दूध चुस्‍नेछस्, र राजाहरूको स्तन चुस्‍नेछस्; तब तैंले म परमप्रभु नै तेरा उद्धारकर्ता र तेरा छुटाउनेवाला, याकूबका शक्तिशाली जन हुँ भनी जान्‍नेछस्। 17 म पित्तलको सट्टामा सुन र फलामको सट्टामा चाँदी ल्याउनेछु; अनि काठहरूको सट्टामा पित्तल र ढुङ्गाहरूको सट्टामा फलाम ल्याउनेछु; अनि म तेरा अफिसरहरूलाई शान्ति, र तेरा कर उठाउनेहरूलाई धार्मिकता तुल्याउनेछु। 18 तेरो देशभित्र अत्याचार, तेरा सिमानाहरूभित्र बरबादी र विनाशको चर्चा फेरि कहिल्यै सुनिनेछैन; तर तैंले आफ्ना पर्खालहरूको नाम ‘उद्धार’, र आफ्ना मूलढोकाहरूको नाम ‘प्रशंसा’ राख्‍नेछस्। 19 फेरि कहिल्यै दिनमा सूर्य तेरो ज्योति हुनेछैन, न ता उज्यालोका निम्ति चन्द्रमाले नै तँलाई ज्योति दिनेछ; तर परमप्रभु तेरा निम्ति सदा रहिरहने ज्योति, र तेरा परमेश्‍वर तेरो महिमा हुनुहुनेछ। 20 तेरो सूर्य फेरि कहिल्यै अस्ताउनेछैन, न ता तेरो चन्द्रमा हट्नेछ; किनकि परमप्रभु नै तेरो सदा रहिरहने ज्योति हुनुहुनेछ, र तेरा विलापका दिनहरू समाप्‍त हुनेछन्। 21 अनि तेरो जातिका सबै जनहरू धर्मी हुनेछन्; उनीहरूले यो देश – मैले रोपेको हाँगा, मेरै हातहरूको काम – सदाका निम्ति आफ्नो अधिकारमा लिनेछन्, फलस्वरूप म महिमित हुनेछु। 22 सानोचाहिँ हजारजना, र क्षुद्रचाहिँ एउटा शक्तिशाली जाति बन्‍नेछ; म परमप्रभुले त्यसकै समयमा त्यो कुरा हतारसँग पूरा गर्नेछु।”