उपवास परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने हो कि होइन?
58
“गला खोलेर कराऊ! बाँकी नराख! तुरहीजस्तै आफ्नो सोर उचाल, र मेरो प्रजालाई तिनीहरूको अधर्म र याकूबको घरानालाई तिनीहरूका पापहरू देखाइदेऊ! 2 तरै पनि धार्मिकताको काम गरेको र आफ्नो परमेश्‍वरको नियम नत्यागेको जातिले जस्तै तिनीहरू दिनदिनै मेरो खोजी गर्छन्, र मेरा मार्गहरू जान्‍नमा प्रसन्‍न हुन्छन्; तिनीहरू मबाट धर्ममय नियमहरूको सोधखोज गर्छन्; तिनीहरू परमेश्‍वरको नजिक आउनमा प्रसन्‍न हुन्छन्। 3 तिनीहरू भन्छन्: ‘हामी किन उपवास बस्यौं, जब तपाईंले देख्‍नैहुन्‍न? हामीले किन आफ्नो प्राणलाई कष्‍ट दियौं, जब तपाईंले ख्यालै गर्नुहुन्‍न?’; हेर, तिमीहरूको उपवासको दिनमा तिमीहरू मोज गर्छौ र तिमीहरूका सबै मजदुरहरूलाई चाहिँ बेसरी जोत्छौ। 4 हेर, तिमीहरू रगड़ाझगड़ा र भनाभन गर्नलाई, साथै दुष्‍टताको मुक्‍काले हान्‍नलाई उपवास बस्छौ; तिमीहरूको सोर माथि सुनाउनलाई आज गरेजस्तो तिमीहरू उपवास नबस्‍नू! 5 के मैले चुनेको उपवास, मानिसले आफ्नो प्राणलाई कष्‍ट दिने दिन यस्तै हुन्छ? के नर्कटझैं आफ्नो शिर झुकाउनु र आफूमुनि भाङ्ग्राको लुगा र खरानी ओछ्याउनु नै उपवास हो? के तिमी यसैलाई उपवास र परमप्रभुका निम्ति ग्रहणयोग्य दिन भन्छौ?
6 के दुष्‍टताका बन्धनहरू फुकाउनु, गह्रौं भारीहरू खोलिदिनु, थिचोमिचोमा परेकाहरूलाई मुक्त गरिदिनु, र तिमीहरूले हरेक जुवा भाँचिदिनु नै मैले चुनेको उपवास होइन र? 7 भोकाएकोलाई आफ्नो रोटी बाँड़िदिनु, तिमीले अफालिएका गरिबहरूलाई आफ्नो घरमा ल्याउनु, नाङ्गोलाई देख्दा तिमीले त्यसलाई ढाकिदिनु, र तिमीले आफ्नो शरीरबाट नलुक्नु नै उपवास होइन र?
8 तब तिम्रो ज्योति बिहानीझैं फुटिनिस्कनेछ, र तिम्रो स्वास्थ्य छिटो सुध्रिनेछ; अनि तिम्रो धार्मिकता तिम्रो अघि-अघि जानेछ, र परमप्रभुको महिमाचाहिँ तिम्रो पछिल्तिरको रक्षक हुनेछ। 9 तब तिमीले पुकार्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ; तिमीले विन्‍ती गर्नेछौ, र उहाँले भन्‍नुहुनेछ: ‘म यहाँ छु।’ तिमीले आफ्नो बीचबाट जुवा, औंला ठड्याउने काम र अधर्म बोल्ने चाल हटाइदियौ भने, 10 भोकाएकोतिर तिमीले आफ्नो मन लगायौ र कष्‍टमा परेको प्राणलाई तृप्‍त पार्‍यौ भने त अन्धकारमा तिम्रो ज्योति उदाउनेछ, र तिम्रो अन्धकारचाहिँ मध्यदिनजस्‍तो हुनेछ; 11 अनि परमप्रभुले तिमीलाई निरन्‍तर डोर्‍याउनुहुनेछ, खड़ेरीका समयमा तिम्रो प्राणलाई तृप्‍त पार्नुहुनेछ र तिम्रा हड्डीहरूलाई हृष्‍टपुष्‍ट पार्नुहुनेछ; अनि तिमी पानीले सिँचेको बगैंचाझैं र पानीको मूलझैं हुनेछौ, जसको पानी कहिल्यै सुक्दैन। 12 अनि तिम्रो बीचबाट हुनेहरूले पुराना-पुराना उजाड़ ठाउँहरू निर्माण गर्नेछन्; तिमीले धेरै पुस्ताहरूका जगहरू खड़ा गर्नेछौ; अनि तिमी ‘धाँदो मर्मत गर्ने’, ‘बसोबास गर्नलाई बाटाहरूको पुनर्स्थापक’ कहलाइनेछौ।
13 मेरो पवित्र दिनमा आफ्नो मोजमज्जा गर्नलाई तिमीले विश्रामदिनबाट आफ्नो खुट्टा फर्कायौ भने, अनि विश्रामदिनलाई चाहिँ हर्ष, र परमप्रभुको पवित्र दिनलाई चाहिँ आदरयोग्य भन्यौ भने, अनि आफ्ना चालहरूअनुसार नगरेर, आफ्नो मोजमज्जा नखोजेर र आफ्नो कुरा नबोलेर उहाँको आदर गर्‍यौ भने त, 14 तिमी परमप्रभुमा मग्‍न हुनेछौ; अनि म तिमीलाई पृथ्वीका उच्‍च-उच्‍च स्थानहरूमाथि सवार गर्ने तुल्याउनेछु, र तिमीलाई तिम्रा बुबा याकूबको अधिकारको भाग खुवाउनेछु; किनकि परमप्रभुको मुखले यसो भनेको हो।”