अन्यजातिहरूका निम्ति उद्धार
56
“परमप्रभु यसो भन्‍नुहुन्‍छ: न्याय कायम राख, धार्मिकताको काम गर; किनकि मेरो उद्धार आउनै लागेको र मेरो धार्मिकता प्रकट हुनै लागेको छ। 2 धन्य हो त्यो मानिस, जसले यो गर्छ, र धन्य हो त्यो मानिसको सन्तान, जसले यसलाई बलियो गरी पक्रिराख्छ; जसले विश्रामदिनलाई अपवित्र नपारीकन त्यसलाई पालन गर्छ, र कुनै खराबी गर्नदेखि आफ्नो हात रोकिराख्छ। 3 अनि जुन परदेशीको छोराले आफूलाई परमप्रभुसँग जोड़ेको छ, त्यसले यसो नभनोस्: ‘परमप्रभुले मलाई आफ्नो प्रजाबाट बिलकुलै अलग पार्नुभएको छ’; न ता नपुंसकले भनोस्: ‘हेर, म त एउटा सुकेको रूख हुँ’! 4 किनकि मेरा विश्रामदिनहरू पालन गर्ने, मलाई प्रसन्‍न तुल्याउने कुराहरू रोज्ने र मेरो वाचा पक्रिराख्‍ने नपुंसकहरूलाई परमप्रभु यसो भन्‍नुहुन्‍छ: 5 म तिनीहरूलाई नै मेरो भवनमा र मेरा पर्खालहरूभित्र एउटा ठाउँ र छोराहरू र छोरीहरूको भन्दा उत्तम नाम दिनेछु; म तिनीहरूलाई सदा रहिरहने नाम दिनेछु, जुन नाम कहिल्यै मेटिनेछैन 6 अनि ती परदेशीका छोराहरू जसले उहाँको सेवा गर्नलाई र परमप्रभुको नाम प्रेम गर्नलाई उहाँका सेवकहरू बन्‍न भनी आफूलाई परमप्रभुसँग जोड़्छन्; हरेक जसले विश्रामदिन अपवित्र नपारीकन त्यसलाई पालन गर्छ, र तिनीहरू जसले मेरो वाचा बलियो गरी पक्रिराख्छन्, 7 म तिनीहरूलाई नै मेरो पवित्र पर्वतमा ल्याउनेछु, र मेरो प्रार्थना-भवनमा तिनीहरूलाई आनन्दित तुल्याउनेछु; तिनीहरूका होमबलिहरू र तिनीहरूका बलिदानहरू मेरो वेदीमाथि ग्रहण गरिनेछन्; किनकि मेरो भवनचाहिँ सबै जातिहरूका निम्ति प्रार्थनाको भवन कहलाइनेछ। 8 इस्राएलका निकालिएकाहरूलाई भेला गर्नुहुने प्रभु यहोवा भन्‍नुहुन्‍छ: उसका भेला गरिएकाहरूबाहेक म अरूलाई पनि उसकहाँ भेला गर्नेछु।
इस्राएलका निकम्मा अगुवाहरू
9 हे मैदानका सबै पशुहरूहो, अँ, वनका सबै पशुहरूहो, खानलाई आओ! 10 उसका पहरेदारहरू अन्धा छन्; तिनीहरू सबै अज्ञानी छन्; तिनीहरू सबै गुँगा कुकुरहरू हुन्, जसले भुक्न सक्दैनन्, जो सुतिरहने, ढल्किबस्‍ने, उँग्‍न मन पराउनेहरू हुन्। 11 अँ, तिनीहरू लोभी कुकुरहरू हुन्, जसले कहिल्यै तृप्‍त हुन जान्दैनन्; अँ, तिनीहरू यस्ता गोठालाहरू हुन्, जसले समझ लगाउन सक्दैनन्; तिनीहरू सबै आफ्नै बाटोतिर, हरेक निरन्‍तर आफ्नै निजी लाभतिर लाग्छन्। 12 तिनीहरू भन्छन्: ‘आओ, म दाखमद्य ल्याउनेछु, र हामी लट्ठ हुने गरी मदिरा पिऔं; अनि भोलि पनि आजको दिनजस्तै होस्, झन् प्रशस्त दिन होस्!’ ”