सदा रहिरहने शान्तिको वाचा
54
“हे बाँझी, तँ, जसले जन्माएकी छैनस्, गीत गा! तँ, जो प्रसूति-वेदनामा परेकी छैनस्, गाइउठ्! चिच्च्याइउठ्!! किनकि त्यागिएकीका सन्तानचाहिँ विवाह गरिएकी पत्‍नीका सन्तानभन्दा बढ़ी छन्, परमप्रभु भन्‍नुहुन्‍छ। 2 तेरो पालको ठाउँ फराकिलो पार्, अनि तेरा वासस्थानहरूका पर्दाहरू तिनीहरूले फैलाइदिऊन्; बाँकी नराख्! आफ्ना डोरीहरू लामो पार्! आफ्ना कीलाहरू बलियो बना! 3 किनकि तँ दाहिनेतिर र देब्रेतिर बढ़्नेछस्; अनि तेरो वंशले अन्यजातिहरूलाई अधिकारमा लिनेछ, र उनीहरूले उजाड़ भएका शहरहरूलाई बसोबास गरिने तुल्याउनेछन्।
4 नडरा; किनकि तँ लज्जित हुनेछैनस्, न शर्ममा पर्नेछस्; किनभने तँ शर्ममा पारिनेछैनस्; किनकि तैंले आफ्नो जवानीको शर्म बिर्सनेछस्, र आफ्नो विधवापनको निन्दा फेरि कहिल्यै सम्झनेछैनस्। 5 किनकि तेरा सृष्‍टिकर्ता तेरा पति हुनुहुन्छ; सेनाहरूका परमप्रभु उहाँको नाम हो; तेरा उद्धारक इस्राएलका पवित्र जन हुनुहुन्छ; उहाँ सम्पूर्ण पृथ्वीका परमेश्‍वर भनिनुहुनेछ। 6 किनकि परमप्रभुले तँलाई एउटी त्यागिएकी र आत्मामा दुःखी भएकी स्त्रीलाई झैं र जवानीमा रद्द गरिएकी पत्‍नीलाई झैं बोलाउनुभएको छ, तेरा परमेश्‍वर भन्‍नुहुन्‍छ।
7 थोरै क्षणका निम्ति मैले तँलाई त्यागेको थिएँ, तर ठूलो कृपा गरेर म तँलाई बटुल्नेछु। 8 क्रोधको झोंकमा मैले एकै क्षणका निम्ति आफ्नो चेहरा तँदेखि लुकाएँ; तर सदा रहिरहने करुणाले म तँलाई कृपा गर्नेछु, परमप्रभु तेरा उद्धारक भन्‍नुहुन्‍छ।
9 किनकि यो मेरा निम्ति नूहको पानीजस्तै हो; किनकि जसरी मैले ‘नूहको पानीले पृथ्वीलाई फेरि डुबाउनेछैन’ भनी शपथ खाएको थिएँ, त्यसरी नै मैले ‘म तँसित क्रोधित हुनेछैनँ, न म तँलाई हप्काउनेछु’ भनी शपथ खाएको छु। 10 किनकि पहाड़हरू हट्लान् र डाँड़ाहरू टलिजालान्; तर मेरो करुणा तँबाट हट्नेछैन, न ता मेरो शान्तिको वाचा नै टल्नेछ, तँमाथि कृपा राख्‍नुहुने परमप्रभु भन्‍नुहुन्‍छ।
11 हे दु:खमा परेकी, आँधीबेहरीले हुत्त्याइएकी र सान्‍त्‍वना नपाएकी, हेर्! म तेरा पत्थरहरू रङबिरङ पत्थरहरूको जड़्नेछु, र तेरा जगहरू नीरमणिहरूको बसाल्नेछु। 12 अनि म तेरा झ्यालहरू लालमणिको, तेरा मूलढोकाहरू पन्‍नाको र तेरा सारा सिमाना मनोहर पत्थरहरूको बनाउनेछु। 13 अनि तेरा सबै छोराछोरीहरू परमप्रभुद्वारा सिकाइएका हुनेछन्; अनि तेरा छोराछोरीको शान्ति ठूलो हुनेछ। 14 धार्मिकतामा तँ स्थापित हुनेछस्; थिचोमिचोबाट तँ टाढ़ा हुनेछस्, किनकि तँ डराउनेछैनस्; अनि आतङ्कदेखि पनि तँ टाढ़ा हुनेछस्, किनकि त्यो तेरो नजिक आउनेछैन। 15 हेर्, तिनीहरू निश्‍चय भेला हुनेछन्, तर मद्वारा होइन; जो कोही तेरो विरोधमा भेला हुन्छ, त्यो तेरो कारणले लोट्नेछ 16 हेर्, मैले चाहिँ लोहारलाई सृजेको छु, जसले आगोमा कोइला दन्काउँछ, र आफ्नो कामका निम्ति एउटा हतियार बनाउँछ; अनि नष्‍ट गर्नलाई मैले नाश गर्नेलाई सृजेको छु। 17 तेरो विरोधमा रचिएको कुनै पनि हतियार सफल हुनेछैन; अनि न्यायमा तेरो विरोधमा खड़ा हुने हरेक जिब्रो तैंले दोषी ठहराउनेछस्। परमप्रभुका दासहरूको अधिकारको भाग यही हो; अनि उनीहरूको धार्मिकता मबाटको हो, परमप्रभु भन्‍नुहुन्‍छ।”