53
“कसले हाम्रो समाचार विश्वास गरेको छ? अनि कसकहाँ परमप्रभुको पाखुरा प्रकट भएको छ? 2 किनकि ऊ उहाँको सामु एउटा कलिलो मुनाजस्तो, र सुक्खा भूमिबाट निस्केको जराजस्तो बढ़्नेछक; उसको न रूप, न कुनै शोभा नै छ; अनि जब हामी उसलाई हेर्नेछौं, तब उसमा यस्तो कुनै सुन्दरता छैन, कि हामीले उसको चाहना गरौं। 3 मानिसहरूद्वारा ऊ तुच्छ ठानिएको र त्यागिएको छ – शोकहरूको मानिस, र दु:खसँगख सुपरिचित; यस्तो मानिस, जसदेखि हामीले अनुहार लुकायौं; तुच्छ ठानिएको, जसलाई हामीले कुनै मूल्यको ठानेनौं।4 निश्चय उसले हाम्रै दु:खहरूख उठाएको छ र हाम्रै शोकहरू बोकेको छ; तरै पनि हामीले उसलाई परमेश्वरद्वारा हिर्काइएको, पिटिएको र कष्टमा पारिएको ठान्यौं। 5 तर ऊ त हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो; उसलाई हाम्रै अधर्महरूका निम्ति चोटैचोट परेको थियो; हाम्रै शान्तिका निम्ति ताड़ना उसमाथि पर्यो, र उसका कोर्राका चोटहरूद्वारा हामी निको भयौं। 6 हामी सबैले भेड़ाहरूले झैं बाटो बिराएका छौं; हामी हरेक आ-आफ्नो बाटोतिर लागेका छौं; तर परमप्रभुले हामी सबैको अधर्म उसैमाथि राखिदिनुभएको छ।
7 ऊ थिचोमिचोमा पर्यो र उसलाई कष्ट दिइयो, तर पनि उसले आफ्नो मुख खोलेन; एउटा भेड़ाको पाठोझैं ऊ मारिनका निम्ति ल्याइयो, अनि जसरी भेड़ा आफ्ना ऊन कत्रनेहरूको सामु गुँगा रहन्छ, त्यसरी नै उसले पनि आफ्नो मुख खोलेन। 8 थुना र न्यायबाट भएर ऊ लगियो; अनि कसले उसको पुस्ता विचार गरेको छ? किनकि ऊ त जीवितहरूको देशबाट काटिएको थियो; मेरो प्रजाको अपराधको कारणले प्रहार उसमाथि पर्यो। 9 अनि उसको चिहान दुष्टहरूको साथमा ठहरियो, तर उसको मृत्युमा ऊ धनवान्को साथमा थियो; किनकि उसले कुनै अत्याचार गरेन, न उसको मुखमा कुनै छल नै थियो।
10 तरै पनि उसलाई चोटैचोट पार्नु परमप्रभुलाई इच्छा लाग्यो; उहाँले उसलाई कष्टमा पार्नुभयो; जब तपाईंले उसको प्राणलाई पापबलि तुल्याउनुहुन्छ, तब उसले आफ्नो वंश देख्नेछ, उसले आफ्ना दिनहरू बढ़ाउनेछ, र उसको हातमा परमप्रभुको शुभेच्छा सफल हुनेछ। 11 उहाँले उसको प्राणको व्यथाग देख्नुहुनेछ, र सन्तुष्ट हुनुहुनेछ; मेरो धर्मी दासले आफ्नो ज्ञानद्वारा धेरैलाई धर्मी ठहराउनेछ; किनकि उसैले उनीहरूका अधर्महरू बोक्नेछ। 12 यसकारण महान्हरूको साथमा म उसलाई भाग दिनेछु, अनि उसले शक्तिशालीहरूसँग लुटको माल बाँड़्नेछ; किनकि उसले आफ्नो प्राण मृत्युमा पोखिदिएको छ; अनि ऊ अपराधीहरूसँग गनियो; अनि उसले चाहिँ धेरैको पाप बोक्यो र अपराधीहरूका निम्ति उसले अन्तर्विन्ती गर्यो।”