परमप्रभुको दास इस्राएलको आशा
50
“परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले त्यागेको तिमीहरूकी आमाको त्याग-पत्र खोइ, कहाँ छ? अथवा मेरा साहूकारहरूमध्ये कसको हातमा मैले तिमीहरूलाई बेचें? हेर, तिमीहरूका अधर्महरूको कारणले तिमीहरूले आफैलाई बेचेका छौ, र तिमीहरूका अपराधहरूको कारणले तिमीहरूकी आमा त्यागिएकी हो। 2 कुन कारणले म आउँदा कोही मानिस थिएन? मैले बोलाउँदा जवाफ दिने कोही भएन? के मेरो हात छुटकारा दिन नसक्ने गरी बिलकुलै छोटो भएको छ? अथवा के मसँग छुटाउने शक्ति छैन? हेर, मेरो एउटा हप्कीले म समुद्र सुकाइदिन्छु, म नदीहरूलाई उजाड़स्थान तुल्याइदिन्छु; पानी नभएको हुनाले तिनीहरूको माछा डुङडुङती गनाउँछ, र तिर्खाले मर्छ। 3 म आकाशलाई कालोपनको वस्त्र पहिराइदिन्छु, र त्यसको ढाक्ने वस्त्रचाहिँ भाङ्ग्राको लुगाको तुल्याइदिन्छु।
4 थकितलाई मैले कसरी ठीक समयमा वचन बोलेर सहायता दिनु हो, सो जानूँ भनेर प्रभु यहोवाले मलाई शिक्षितहरूको जिब्रो दिनुभएको छ; उहाँले मलाई हरेक बिहान जगाउनुहुन्छ; शिक्षितहरूले झैं सुनूँ भनेर उहाँले मेरो कान जगाउनुहुन्छ। 5 प्रभु यहोवाले मेरो कान खोल्नुभएको छ, र म विद्रोही भइनँ, न पछि हटें। 6 मैले हिर्काउनेहरूलाई मेरो पिठ्यूँ, र दाह्री लुछ्नेहरूलाई मेरा गालाहरू सुम्पिदिएँ; शर्म र थुकाइदेखि मैले आफ्नो अनुहार लुकाइनँ। 7 किनकि प्रभु यहोवाले मलाई सहायता गर्नुहुनेछ; यसकारण म शर्ममा पर्नेछैनँ; यसकारण मैले आफ्नो अनुहार चकमकको ढुङ्गाझैं पारेको छु; अनि म जान्दछु, म लज्जित हुनेछैनँ। 8 मलाई धर्मी ठहराउनुहुने मेरो नजिक हुनुहुन्छ; कसले मसँग झगड़ा गर्छ र? आओ, हामी एकसाथ खड़ा होऔं; मेरो विरोधी को हो? त्यो मेरो नजिक आओस्! 9 हेर, प्रभु यहोवाले मलाई सहायता गर्नुहुनेछ; मलाई दोषी ठहराउने को हो? हेर, तिनीहरू सबै लुगाझैं पुराना हुनेछन्; माउले तिनीहरूलाई खाइदिनेछ।
10 तिमीहरूको बीचमा परमप्रभुको डर मान्‍ने को हो, जसले उहाँको दासको वाणी पालन गर्छ, जो अन्धकारमा हिँड़्छ, जहाँ उसको कुनै ज्योति छैन? उसले परमप्रभुको नाममा भरोसा राखोस्, र आफ्ना परमेश्‍वरमाथि भर परोस्! 11 हेर, तिमीहरू सबैजना जसले आगो सल्काउँछौ, जसले आफैलाई आगोका झिल्काहरूले घेर्दछौ, आफ्नै आगोको ज्योतिमा र आफैले सल्काएको आगोका झिल्काहरूमा हिँड़! मेरो हातबाट तिमीहरूले यही पाउँछौ: तिमीहरू पीड़ामा पड़िरहनेछौ।”