परमेश्वरको महिमाका निम्ति इस्राएल खारिनुपर्छ
48
“यो सुन, हे याकूबका घरानाकाहरूहो – तिमीहरू, जो इस्राएली कहलिन्छौ, र यहूदाको पानीबाट निस्केर आएका हौ, जसले परमप्रभुको नाममा शपथ खान्छौ र इस्राएलका परमेश्वरको नाम लिन्छौ, तर सत्यतामा होइन, र धार्मिकतामा पनि होइन। 2 किनकि तिनीहरू आफूलाई पवित्र शहरका हौं भन्छन्, र इस्राएलका परमेश्वरमाथि अड़ेसिएर बस्छन्; उहाँको नाम सेनाहरूका परमप्रभु हो। 3 पहिलेका कुराहरू मैले शुरुदेखि नै बताएको छु; अनि ती मेरो मुखबाट निस्के, र मैले ती सुनाएँ; मैले ती झट्टै गरें, र ती हुन आए। 4 किनभने तिमी हठी छौ, तिम्रो गर्दन फलामको नसा हो र तिम्रो निधार पित्तल हो भनी मलाई थाहा थियो। 5 यसैले मैले शुरुदेखि नै यो कुरा तिमीलाई बताएको हुँ; यो कुरा हुन आउनुभन्दा पहिल्यै मैले तिमीलाई यो कुरा बताएँ, नत्र ता तिमीले भन्नेथियौ: ‘यी कुराहरू मेरो मूर्तिले गरेको हो; अँ, मेरो खोपिएको मूर्ति र मेरो ढालिएको मूर्तिले ती कुराहरू आज्ञा गरेका हुन्।’ 6 तिमीले सुनेका छौ; यो सबै कुरा हेर; अनि तिमीहरू, के तिमीहरू यो बताउँदैनौ? मैले अहिलेदेखि तिमीलाई नयाँ कुराहरू अँ, गुप्त कुराहरू सुनाएको छु, जुन कुराहरू तिमीले जानेनौ। 7 ती अहिले सृष्टि गरिएका हुन्, शुरुदेखि नै होइन; अनि आजभन्दा पहिले तिमीले तिनीहरूको विषयमा सुनेका पनि थिएनौ, नत्र तिमीले भन्नेथियौ: ‘हेर, ती कुराहरू मलाई थाहा थियो।’ 8 अँ, तिमीले सुनेनौ; अँ, तिमीले जानेनौ; अँ, त्यस समयदेखि नै तिम्रो कान खुलेको थिएन; किनकि मलाई थाहा थियो, तिमीले निश्चय विश्वासघात गर्छौ; अँ, गर्भदेखि नै तिमी अपराधी कहलिएका छौ। 9 तिमीलाई नाश नगरूँ भनेर म मेरो नामको खातिर आफ्नो रिस थामिरहनेछु र आफ्नो प्रशंसाका निम्ति तिम्रो विषयमा आफूलाई रोकिराख्नेछु। 10 हेर, मैले तिमीलाई खारेको छु, तर चाँदीलाई जस्तो होइन; मैले तिमीलाई कष्टको भट्टीमा चुनेको छु। 11 मेरो खातिर, अँ, मेरै खातिर म यो गर्नेछु; किनकि कसरी मेरो नाम अपवित्र ठहरियोस्? अनि म आफ्नो महिमा अरू कसैलाई दिनेछैनँ।12 हे याकूब, अनि हे मेरो बोलाइएको इस्राएल, मेरो कुरा ध्यानसित सुन! म उही हुँ; प्रथम म नै हुँ, अन्तिम पनि म नै हुँ। 13 अँ, मेरो हातले पृथ्वीको जग बसालेको हो, र मेरो दाहिने हातले आकाश फैलाएको हो; मैले तिनलाई बोलाउँदा ती एकसाथ खड़ा हुन्छन्। 14 तिमीहरू सबै भेला होओ, र सुन! तिनीहरूमध्ये कसले यी कुराहरू बताएको छ? परमप्रभुले उसलाई प्रेम गर्नुभएको छ; उसले बाबेलमाथि उहाँको शुभेच्छा पूरा गर्नेछ, र उसको पाखुराक कल्दीहरूमाथि पर्नेछ। 15 मैले अँ, मैले नै भनेको छु; अँ, मैले उसलाई बोलाएको छु; मैले उसलाई ल्याएको छु, अनि ऊ आफ्नो बाटोमा सफल हुनेछ। 16 तिमीहरू मेरो नजिक आओ! यो सुन! मैले शुरुदेखि नै गुप्तमा बोलेको छैनँ; यो हुन आएको समयदेखि नै म त्यहाँ छु; अनि अब प्रभु यहोवा र उहाँको आत्माले मलाई पठाउनुभएको छ। 17 परमप्रभु, तिम्रा उद्धारक, इस्राएलका पवित्र जन यसो भन्नुहुन्छ: परमप्रभु तिम्रा परमेश्वर म नै हुँ, जसले तिमीलाई लाभ हुने कुरा सिकाउनुहुन्छ, जसले तिमीलाई तिमीले हिँड़्नुपर्ने बाटोमा डोर्याउनुहुन्छ।
18 तिमीले मेरा आज्ञाहरू ध्यानसित सुनेको भए त! तब तिम्रो शान्ति नदीझैं, र तिम्रो धार्मिकताचाहिँ समुद्रका छालहरूझैं हुनेथियो; 19 अनि तिम्रो वंश बालुवासरह हुनेथियो, र तिम्रो देहबाट पैदा हुने सन्तान त्यसको बालुवाका कणसरह हुनेथियो; उसको नाम मेरो सामुबाट न काटिनेथियो, न मेटिनेथियो।
20 बाबेलबाट निस्केर जाओ! कल्दीहरूको बीचबाट भाग! गाउँदै गरेको सोरले बताइदेओ! यो कुरा सुनाओ! पृथ्वीको छेउसम्म यसको चर्चा गर! भन: ‘परमप्रभुले आफ्नो दास याकूबलाई दाम तिरेर छुटाउनुभएको छ।’ 21 अनि उहाँले उनीहरूलाई मरुभूमिहरूबाट भएर डोर्याएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्; उनीहरूका निम्ति उहाँले चट्टानबाट पानी बगाउनुभयो; उहाँले चट्टानलाई चिर्नुभयो, र पानी फुटेर निस्क्यो। 22 परमप्रभु भन्नुहुन्छ: दुष्टहरूलाई शान्ति हुँदैन।”