बाबेलको पतन
47
“हे बाबेलकी कन्या छोरी, तल झर्, र धूलोमा बस्; हे कल्दीहरूकी छोरी, भुइँमा बस्; त्यहाँ सिंहासन छैन; किनकि अब तँ कोमल र सुकुमारी कहलाइनेछैनस्। 2 जाँताहरू लिएर पीठो पिँध्; तेरा केशका लर्कनहरू खुला देखा, आँचल माथि तान्, खुट्टा नाङ्गो पार्, नदीहरू तर्! 3 तेरो नाङ्गोपना उघारिनेछ; अँ, तेरो शर्म देखिनेछ; म बदला लिनेछु र कुनै मानिसलाई छोड़्‍नेछैनँ।
4 हाम्रा उद्धारकचाहिँ – उहाँको नाम सेनाहरूका परमप्रभु, इस्राएलको पवित्र जन हो।
5 हे कल्दीहरूकी छोरी, चुपचाप बस्, र अन्धकारभित्र पस्; किनकि तँ फेरि कहिल्यै ‘राज्य-राज्यकी मालिकनी’ भनिनेछैनस्। 6 म आफ्नो प्रजासँग क्रोधित भएँ, मैले आफ्नो अधिकारको भागलाई अशुद्ध तुल्याएँ र उनीहरूलाई तेरो हातमा दिएँ; तैंले उनीहरूलाई कृपा देखाइनस्; बूढ़ामाथि तैंले आफ्नो जुवा गह्रौं पारेर लादिदिइस्। 7 अनि तैंले ‘म सधैंभरि मालिकनी भइरहनेछु’ भनी भनिस्; यहाँसम्म कि तैंले यी कुराहरू मनमा राखिनस्, न ता यसको अन्त के हुने हो, सो सम्झिस्।
8 यसकारण अब यो सुन्, तँ मोजमज्जामा डुबेकी, तँ निस्फिक्री भई बस्छेस्, र आफ्नो हृदयमा भन्छेस्: ‘मै हुँ; अनि मबाहेक अरू कोही पनि छैन; म विधवा भएर बस्‍नेछैनँ, न ता छोराछोरी गुमाएको शोक नै जान्‍नेछु’; 9 तर यी दुवै कुरा तँमाथि एकै छिनमा, एकै दिनमा आइपर्नेछन्: तेरा छोराछोरी गुमाएको शोक र विधवापन; तेरा प्रशस्त टुनामुनाहरू र तेरा अति धेरै मोहनीहरूको कारणले ती कुराहरू तँमाथि पूरा-पूरा आइपर्नेछन्। 10 किनकि तैंले आफ्नो दुष्‍टतामाथि भरोसा राखेकी छस्; तैंले भनेकी छस्: ‘कसैले पनि मलाई देख्दैन।’ तेरो बुद्धि र तेरो ज्ञानले, अँ, त्यसैले तँलाई बहकाएको छ, र तैंले आफ्नो हृदयमा भनेकी छस्: ‘मै हुँ; अनि मबाहेक अरू कोही पनि छैन।’ 11 यसैकारण खराबी तँमाथि आइपर्नेछ; त्यो कहाँबाट उठ्छ, सो तैंले जान्‍नेछैनस्; अनि विपत्ति तँमाथि आइपर्नेछ; अनि तैंले त्यो रद्द गर्न सक्नेछैनस्; अनि अचानक विनाश तँमाथि आइपर्नेछ, जो तैंले जान्‍नेछैनस्। 12 तेरा मोहनीहरू र तेरा प्रशस्त टुनामुनाहरू लिएर तँ अब उठ, जसमा तैंले तेरो जवानीदेखि नै मेहनत गरेकी छेस्; कतै तैंले फाइदा उठाउन सक्छेस् कि! कतै तैंले थर्कमान पार्न सक्छेस् कि! 13 तँ आफ्ना प्रशस्त सल्‍लाहहरूको कारणले थाकेकी छेस्। ती ज्योतिषीहरू, तारा-दर्शीहरू, औंसी-औंसीमा साइत हेर्नेहरू अब खड़ा होऊन्, र तँमाथि आइपर्ने कुराहरूबाट तँलाई बचाऊन्! 14 हेर, तिनीहरू नलका ठुटाजस्ता हुनेछन्; आगोले तिनीहरूलाई जलाउनेछ; तिनीहरूले आफ्नो प्राणलाई ज्वालाको पकड़बाट छुटाउनेछैनन्; त्यहाँ आगो ताप्‍नलाई कुनै भुङ्ग्रो हुनेछैन, न ता त्यसको सामु बस्‍नलाई कुनै आगो नै हुनेछ। 15 जससँग तैंले मेहनत गरिस्, अर्थात् तेरो जवानीदेखिका तेरा व्यापारीहरू – तिनीहरू तेरा निम्ति यस्तै हुनेछन्; तिनीहरू हरेक आ-आफ्नो दिशातिर भड़्किहिँड़्‍नेछन्; तँलाई बचाउने कोही हुनेछैन।”